हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ ।
सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ ।
गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ ।
कच्ची सडक पार गर्दै जिपमार्फत गाउँ पुग्दा बाटोभरि देखिने हरिया पहाड, खोल्साखोल्सी र ग्रामीण जीवनशैलीले जो–कोही यात्रुलाई मोहित गराउँछ ।
गाउँ छिर्नासाथ ढुङ्गाले छाएका घर, आँगनकै छेवैमा सुकाइएका मकैका झुत्ता, फूलबारी र परम्परागत पहिरनमा देखिने स्थानीयले आगन्तुकलाई स्वागत गरिरहेका भेटिन्छन् ।
क्व्होलासोथार गाउँपालिका उपप्रमुख यमिमाया गुरुङका अनुसार भुजुङमा हाल ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् ।
गुरुङका अनुसार घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरबास ९होमस्टे०बाट प्रत्यक्ष लाभ लिने घरधुरी मात्रै होइन, छिमेकीसमेत कृषि उत्पादन, स्थानीय परिकार, हस्तकला तथा अन्य सेवामार्फत लाभान्वित भइरहेका छन् ।
गाउँमा अधिकांश खाद्यान्न अर्गानिक उत्पादन हुने गरेको छ । खेतबारी घर नजिकै रहेकाले होमस्टेमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पस्किने गरिएको छ ।
स्थानीयको मुख्य पेसा कृषि र वैदेशिक रोजगारी भए पनि पछिल्ला वर्षमा पर्यटन व्यवसाय आयआर्जनको महत्वपूर्ण आधार बन्दै गएको उपप्रमुख गुरुङले बताउनुभयो । गाउँपालिकाले भुजुङको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, जनचेतना तथा स्थानीयको क्षमता अभिवृद्धिमा सहकार्य गरिरहेको उनकाे भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि भुजुङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्दै आएको स्थानीय बताउँछन् । सरसफाइ अभियान, पर्यावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत गाउँलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीका अनुसार आयोजनाले यस क्षेत्रको जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारका लागि काम गर्दै आएको छ ।
स्थानीयवासी गाउँ छाडेर बाहिर बसाइँ सर्नेक्रम अन्यत्रभन्दा कम रहेको पनि यहाँको विशेषता हो । गाउँमै कृषि, पर्यटन र अन्य साना व्यवसायबाट आयआर्जनको अवसर बढ्दै गएपछि अधिकांश स्थानीय आफ्नै ठाउँमा सक्रिय देखिन्छन । भुजुङका होमस्टे सञ्चालक हुमकुमारी गुरुङले पाहुनालाई गाउँकै उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरिएको बताइन् ।
गाउँमा कृषिकर्म पनि चलिरहेको छ । गाउँमा प्रायः सबै मानिस व्यस्त रहेन गरेका छन् ।
कोही खेतबारीमा गोडमेल गर्दै गरेका त कोही हस्तकलाका सामग्री बुन्ने काममा समेत व्यस्त देखिन्छन् । बाँस, निगालो र ऊनबाट बनाइने सामग्रीले गाउँको मौलिकता झल्काउँछ । गाउँमा पर्यटन प्रवर्धनसँगै सडक, सञ्चार र खानेपानीजस्ता पूर्वाधार विस्तार हुँदै गए पनि स्थानीयले मौलिकता जोगाउन प्रयास भने गरेका छन् ।
प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिको जीवन्त अभ्यास, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण भुजुङ अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । सहरको कोलाहलबाट केही समय टाढा रहेर गाउँको मौलिक जीवन अनुभव गर्न चाहनेका लागि भुजुङ आकर्षक रोजाइ बनेको छ ।
सम्बन्धित खबर
लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
बन्दीपुरमा ‘गाउँ पर्यटन मेला’
पर्यटक भित्राउने लक्ष्यसहित २१ औं फेवा नव वर्ष महोत्सव सुरु
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
गण्डकी प्रदेश प्रमुख भट्ट सूर्योदय हेर्न सबेरै सराङकोटमा
पञ्चासेमा प्रदेश प्रमुख [फोटो फिचर]
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा