कांग्रेस महाधिवेशन: कास्की–३ बाट महाधिवेशन प्रतिनिधिमा शुक्रराजको उम्मेदवारी

राजनीति

कांग्रेस महाधिवेशन: कास्की–३ बाट महाधिवेशन प्रतिनिधिमा शुक्रराजको उम्मेदवारी

ShukraRAj Photo

पोखरा ।   नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सांगठनिक सरगर्मी बढेको छ । यसै क्रममा कास्की क्षेत्र नं. ३ बाट युवा नेता शुक्रराज पौडेलले महाधिवेशन प्रतिनिधि (समानुपातिक खस–आर्यतर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

कास्की निर्वाचन क्षेत्र नं ३ ’ख’ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–४ सत्यान स्थायी ठेगाना भएका पौडेल लामो समयदेखि स्थानीय राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चेहरा हुन् ।

विद्यार्थी आन्दोलनदेखि पार्टीको क्षेत्रीय प्रतिनिधिसम्मको यात्रा

वि.सं. २०३४ सालमा जन्मिएका पौडेलको राजनीतिक यात्रा वि.सं. २०४६ सालको जनआन्दोलन ताका विद्यार्थी आन्दोलनको नेतृत्वबाट सुरु भएको थियो ।

वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा युवाहरूको कुशल परिचालन गरी चुनावी कमान्ड सम्हालेका उनले त्यसपछि निरन्तर विद्यार्थी संगठनहरूको निर्माण र सुदृढीकरणमा भूमिका खेलेका थिए ।

वि.सं. २०६८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका पौडेल यसअघि पार्टीको १४ औं महाधिवेशनमा पहिलो पटक क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए । पार्टीभित्र

तल्लो तहदेखि नै संघर्ष गर्दै आएका उनले यस पटक केन्द्रीय नीति निर्माण र पार्टीको सर्वोच्च निकायमा पहुँचका लागि महाधिवेशन प्रतिनिधिमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

सहकारी र लायन्स क्लबको सफल नेतृत्व

राजनीतिसँगै पौडेलले स्थानीय आर्थिक र सामाजिक विकासमा पनि आफ्नो बलियो पहिचान बनाएका छन् ।

उनी भुमेश्वर बचत तथा ऋण सहकारी संस्थाको सह–सचिव पदबाट यात्रा सुरु गरी निरन्तरको लगावका कारण हाल वर्तमान अध्यक्षका रूपमा कार्यरत छन् । यसका साथै उनी सत्यानी समिति कास्कीको निवर्तमान अध्यक्ष समेत हुन् ।

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबमा समेत आबद्ध पौडेलले सन् २०२२/२३ मा लायन्स क्लबको अध्यक्षका रूपमा सफल कार्यकाल पूरा गरिसकेका छन् भने हाल डिस्ट्रिक्टको जिम्मेवार पद सम्हालिरहेका छन् ।

पूर्वाधार र सामाजिक विकासका सारथि

आफ्नो गाउँठाउँको भौतिक तथा धार्मिक पूर्वाधार विकासमा पौडेलको भूमिका नेतृत्वदायी रहँदै आएको छ । गाउँमा खानेपानी आयोजना, मठमन्दिर संरक्षण, मोटरबाटो तथा सिँडीबाटो निर्माण एवं पोखरी संरक्षण लगायतका विभिन्न स्थानीय संस्थाहरूको उनले नेतृत्व गरिसकेका छन् ।

धार्मिक एवं पर्यटकीय महत्त्वको हनुमद् धाम निर्माण एवं व्यवस्थापन समितिको सचिव पदमा रहेर उनले स्थानीय सम्पदाको जगेर्नामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

लामो समयदेखि व्यक्तिगत संघर्षका साथसाथै सामाजिक र राजनीतिक क्षेत्रमा उत्तिकै योगदान दिँदै आएका पौडेलले पार्टीलाई थप सुदृढ, गतिशील र समावेशी बनाउनका लागि १५ औं महाधिवेशनमा आफूलाई बलियो उम्मेदवारका रूपमा अघि सारेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता