पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा २१ औं संस्करणको ‘फेवा नव वर्ष महोत्सव २०८३’ आइतबारदेखि सुरु भएको छ ।
सांस्कृतिक झाँकी र बाजागाजाका साथ सुरु भएको यस महोत्सवको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अम्बोटमा आयोजित विशेष समारोहमा उद्घाटन गरिन् ।
सहिदचोक र खहरे बीचको सडकमा वैशाख १ गते रातिसम्म चल्ने यो महोत्सव होटल संघ पोखरा नेपालको आयोजनामा भएको हो । उद्घाटन हुनुअघि खहरेबाट विभिन्न जातजातिका झाँकी र पञ्चैबाजासहितको र्याली निस्किएको थियो । महोत्सव अवधिभर सडकमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सहभागी होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । यस्तै, इ–सेवामार्फत होटल बुक गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने अफर समेत ल्याइएको छ ।

महोत्सव उद्घाटनका क्रममा सातै प्रदेशका सांस्कृतिक नृत्य र तरेली सांस्कृतिक परिवारको स्वागत नाच प्रस्तुत गरियो । महोत्सवका संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सोमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । १५ वटा समूह सहभागी हुने यस प्रतियोगिताका साथै गौरीघाट, सेन्टर प्वाइन्ट र अम्बोटका चौतारामा सांस्कृतिक कार्यक्रम हुने छन् । खहरेमा रत्यौली र पर्यटक दौड जस्ता रोचक कार्यक्रम पनि महोत्सवको आकर्षणका रूपमा रहने उनले बताए ।
महोत्सवको उद्घाटन गर्दै प्रजिअ शर्माले फेवा महोत्सवको निरन्तरता नै यसको सफलता भएको बताइन् । पोखरालाई पर्यटनको राजधानीका रूपमा चिनिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले भनिन्, ‘महोत्सवमा प्रस्तुत कलात्मक झाँकीले नेपालीहरू बीचको एकता झल्काएको छ ।’ उनले पोखरालाई सुरक्षित र सुन्दर सहरका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले पोखराले अब आन्तरिकसँगै भारतीय र चिनियाँ पर्यटक प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । संघकी सचिव पार्वता पाण्डेले सञ्चालन गरेको कार्यक्रममा पर्यटन, संस्कृति र खानालाई मुख्य प्राथमिकता दिइएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक सहप्रायोजकका रूपमा छन् । प्रायोजकहरूमा अन्नपूर्ण केवलकार लि, इ–सेवा र युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्स्योरेन्स पार्टनरका रूपमा सलिको इन्स्योरेन्सले सहकार्य गरेको छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशले प्रवद्र्धन गरेका छन् ।


सम्बन्धित खबर
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
अध्ययन निष्कर्ष: कृषि लगानीमा लघुवित्त प्रभावकारी
‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
बन्दीपुरमा ‘गाउँ पर्यटन मेला’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा