गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त

नयाँ सरकार

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त

मुख्यमन्त्री पाण्डे र दुई मन्त्रीले लिए शपथ

SP-niyukti-1

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न भनेको थियो । प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीका अनुसार अदालतकाे फैसला कार्यान्वयन गर्नू भन्ने पत्र प्रदेश प्रमुखको कार्यालयमा आज मध्यान्ह मात्र विद्युतीय माध्यममार्फत् आइपुगेको हो ।

पत्रकार प्राप्त भएपछि प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आदेशनानुसार पत्र प्राप्त भएको ४८ घण्टाभित्र प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने थियो । पाण्डेले अब संविधानको धारा १६८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

१६८ को ३ अनुसार बन्ने कांग्रेस सरकारलाई बहुमत पुग्न भने कठीन छ । कांग्रेसको २७, स्वतन्त्र सांसद मनाङेको १ र राप्रपाको २ गर्दा ३० मत हुन्छ । असार १६ भित्र ३१ सांसद आफ्नो पक्षमा पुर्‍याउन नसकेमा पाण्डे स्वतः पदमुक्त हुन्छन् । त्यसपछि संविधानको धारा १६८ (५) अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

मुख्यमन्त्री पाण्डे र दुई मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्।

उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार अपराह्न शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार नै दुई जना मन्त्री नियुक्त गरेका छन्।

कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् ।

गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

लमजुङबाट प्रदेश सभामा निर्वाचित गुरुङ कांग्रेस लमजुङका सभापति हुन् भने थापा कास्कीबाट निर्वाचित हुन्। यसअघि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका बेला पनि थापा प्रदेशको कानुन मन्त्री बनेका थिए।

कांग्रेस गण्डकी संसदीय दलका नेता पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार बुधबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।

संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।

सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै