नेपाली पत्रकारिताको जग बसालेका जयपृथ्वी

नेपाली पत्रकारिताको जग बसालेका जयपृथ्वी

Jaya-Prithvi-Bahadur-Singh

नेपालमा पत्रकारिताको इतिहास हेर्दा वि.सं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गरेका थिए । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उनी नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गरे । वि.सं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो तर, त्यसलाई तत्कालीन सरकारले मान्यता भने दिएन ।

वि.सं १९५८ मा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षका थिए । त्यो समयमा सरकारलाई चेतना जगाउन जो कोहीले सक्दैनथे । आफ्ना नातेदार तथा भारद्वाजबाहेक राणाको नजरमा वीरलै मान्छेको मात्रै नजर पर्दथ्यो । जयपृथ्वीबहादुर सिंह त्यसबेलाका अध्येता तथा लेखक राजाको नामले चिनिन्थ्ये । नातेदार भएकै कारण प्रधानमन्त्री देवशमशेर राणाले सिंहलाई सल्लाहकारको रूपमा राखेका थिए ।

जयपृथ्वीले धेरै प्रयास गरेर प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाए र उनी पत्रिका प्रकाशन गर्न राजी भएपछि १९५८ वैशाख २४ गते सोमबारका दिन गोरखापत्र साप्ताहिकको रूपमा प्रकाशनमा आयो । प्रधानमन्त्री देवशमशेरले प्रकाशन समयमा गोरखापत्रको सम्पूर्ण जिम्मेवारी जयपृथ्वीलाई नै दिए तर, जयपृथ्वीले व्यवस्थापकीय जिम्मेवारी भने पण्डित नरदेव पाण्डेलाई दिन सुझाव दिए र पाण्डेले नै दुई वर्ष गोरखापत्र साप्ताहिकको सम्पादक र व्यवस्थापकीय जिम्मेवारी सम्हाले । वि.सं १९६० मा फेरि गोरखापत्रको दोस्रो व्यवस्थापकको रूपमा जयपृथ्वीबहादुरलाई नै जिम्मेवारी दिइयो । सिंहको पालामा गोरखापत्रको सम्पादकको रूपमा चिरञ्जीवी शर्मा पौड्याल थिए । बाह्र वर्षसम्म जयपृथ्वीले गोरखापत्र प्रकाशनलाई निरन्तरता दिए ।

गोरखापत्रमा रहँदा उनले राष्ट्रियता र जनजागरणका मुद्दा उठाइरहेपछि उनकै ससुराअर्थात् प्रधानमन्त्री चन्द्रशमशेरले हटात्रूपमा गोरखापत्र नै बन्द गराए । जयपृथ्वी भागेर भारत पुगे । पछि प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना नातागोतालाई पत्रिकाको जिम्मेवारी दिए र सरकार अनुकूल समाचारहरू प्रकाशन हुन थाले ।

नेपाली पत्रकारितामा गोरखापत्रकालअर्थात् प्रजातन्त्रभन्दा अगाडि दर्जनभन्दा बढी पत्रिकाहरू सञ्चालन भएका थिए । गोरखापत्रपूर्व, गोरखापत्रकाल, प्रजातन्त्रकाल, पञ्चायतकाल, बहुदलीय व्यवस्थापछिको गणतान्त्रिक व्यवस्थामा पुग्दा नेपाली पत्रकारितामा धेरै परिवर्तन भइसकेको छ । “नेपाली पत्रकारिताको जग जयपृथ्वीबहादुरले नै हाल्नुभएको हो”, इतिहासविद् तथा डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले रासससँग भने, “सिंहले राणाहरूलाई धेरै फकाएर गोरखापत्र सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै प्रेरणाले नेपाली पत्रकारिता आजको अवस्थामा पुगेको हो ।”

जनताको आवाज प्रकाशन हुन थालेपछि १९७२ मा गोरखापत्र नै बन्द भएको इतिहासविद् देउवा बताउँछन् । पत्रिका बन्द भएपछि जयपृथ्वी चन्द्रशमशेर डरले भारत गए । त्यहाँबाट पनि बेलायत पुगे । कसैका आँखामा नपर्नका लागि उनले ब्रमेली पोसाक लगाएर भागेको देउवा बताउँछन् ।

जयपृथ्वीले भारतको बेंग्लोर चेट्टीरोडस्थित जया भवनमा सन् १९२८ मा ‘ह्युमानिस्ट क्लब’ खोले। विश्वका विभिन्न ठाउँमा खुलेका यी क्लबले विश्वका सम्पूर्ण प्राणी र बोट–बिरुवालाई माया र संरक्षण प्रदान गर्न विभिन्न चेतनामूलक कार्य गरे। उनको क्लबले मुखपत्रका रूपमा ‘द ह्युमानिस्ट’ नामक पत्रिका प्रकाशित गरेको थियो, जसमा मानवतावादसम्बन्धी विविध विषय प्रकाशित हुन्थे। मानवतावादी क्लब खोलेर ‘ह्युमानिस्ट’ नामक अंग्रेजी पत्रिका नियमित प्रकाशन गरेका थिए।

यता चन्द्रशमशेरले जयपृथ्वी दाखिल गराउनेलाई रु. पाँच हजार इनामको सार्वजनिक घोषणा गरे तर, उनी राणाको सम्पर्कमा नआएपछि तलबभत्ता बन्द गराइयो । “राणाले जयपृथ्वीबाट आफ्नी छोरीलाई पनि छुटाउनुभयो”, देउवाले भने, “राजा भइसकेपछि पनि उहाँको लवाइखवाइ देखेर राणाहरूले खिसिटिउरी गर्थे । तर, उहाँ विद्वान् भएको हुँदा राणाको कुराले छुँदैनथ्यो । उहाँ मानव जातिकै वकालतमा लागिरहनुभयो ।”

जयपृथ्वीबाट आफ्नी छोरी छुटाएपछि चन्द्रशमशेरले कम्पनीको रु. आठ हजार छोरीलाई वार्षिक भत्ता तोके । त्यसपछि राणाले जयपृथ्वीको जात च्युत गरी पानीसमेत काँडे । जयपृथ्वी आफ्ना ससुरा चन्द्रशमशेरको निधनपछि मात्रै नेपाल आएका हुन् ।

जयपृथ्वीले भारतको बेंग्लोर चेट्टीरोडस्थित जया भवनमा सन् १९२८ (वि.सं १९८५) मा ‘ह्युमानिस्ट क्लब’ खोले । क्लबमार्फत सिंहले विश्वका सम्पूर्ण प्राणी र बोटबिरुवालाई माया र संरक्षण प्रदान गर्न विभिन्न चेतनामूलक कार्य गरे । क्लबको मुखपत्रका रूपमा ‘द ह्युमानिस्ट’ नामक पत्रिकासमेत प्रकाशित गरे । जसमा मानवतावादसम्बन्धी विविध विषय प्रकाशित हुन्थे । पछि सिंहले मानवतावादी क्लब खोलेर ‘ह्युमानिस्ट’ नामक अङ्ग्रेजी पत्रिका नियमित प्रकाशन गरेका थिए ।

बझाङ राज्य स्थापना भएयता बझाङमा २४ जनाले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा राजकाज चलाए । त्यसैमध्ये १८औँ नम्बरका राजा हुन् जयपृथ्वीबहादुर सिंह । शक्ति सिंहले १५०३ सालमा स्थापना गरेको बझाङ राज्य अघोषितरूपमा पाँच सय ६२ वर्षसम्म चल्यो र औपचारिकरूपमा १८४८ सालमा राजा समुद्र सिंहको पालामा सकियो । अघोषित रूपमा भने २०६५ जेठ १५ गतेसम्म नै चल्यो ।

बझाङ राज्यका १७ औँ राजा विक्रमबहादुर सिंहका १४ सन्तानमध्ये पहिलो सन्तान हुन् जयपृथ्वीबहादुर । विक्रमबहादुरकी चार रानीमध्ये जेठी रानी रुद्रकुमारीको जेठो सन्तानको रूपमा जयपृथ्वी थिए । उनलाई प्रधानमन्त्री वीरशमशेर राणाले १६ वर्षको उमेरमा वि.सं १९४४ मा बझाङको राजा घोषित गरेका थिए । सत्र वर्षको उमेरमा श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग उनको विवाह भयो ।

सिंहले जङ्गबहादुर राणाकै (छोरीबाट) नाति भएका कारण आठ वर्षको उमेरमै काठमाडौँको दरबार हाइस्कुलमा अध्ययन गर्ने मौका पाए । राजा भएको बेलामा जयपृथ्वीले आठ विद्यार्थी काठमाडौँमा पढ्न पठाए । काठमाडौँको नक्सालको आफ्नै घरमा सत्यवादी पाठशाला पनि खोले । पछि सत्यवादी प्राथमिक पाठशाला बझाङमा सारे र बझाङमा सर्वसाधारणले पनि पढ्ने मौका पाए ।

राजा जयपृथ्वीले विभिन्न पाठ्यपुस्तक पनि लेखे । उनले नै लेखेको नेपाली भाषाको ‘अक्षरांक शिक्षा’ पठनपाठन गरिन्थ्यो । उनले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, र ‘स्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत ब्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावादसम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता १८ वटा दार्शनिक पुस्तक लेखेका थिए । उनले कोलकत्ता गएर म्याट्रिक पास गरे । प्रयागमा गएर आइए पढे तर, पूरा गरेनन् ।

बझाङमा जयपृथ्वीले भूमि सुधारको व्यवस्थापन गरे । उनले नै नापीको व्यवस्था गरे । औषधालय उनले नै खोले । बझाङमा खग औषधालय र जयपृथ्वी धर्म औषधालय उनले नै स्थापना गरेको हो । उनले कोलकत्ताबाट समेत बझाङमा चिकित्सक ल्याएर सर्वसाधारणको उपचार गरेका थिए । चन्द्रशमशेरले २५ वर्षीय जयपृथ्वीलाई कोलकत्तामा वकिल बनाएरसमेत पठाएको इतिहासकार बताउँछन् । वि.सं १९६५ मा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत पनि गए । बेलायतमा उनलाई कर्नेलको दर्जा दिइयो । साथै उनी अमेरिका र रुस भ्रमण गर्ने पहिलो नेपालीको रूपमा चिनिए । विभिन्न पुस्तकमा उल्लेख भएअनुसार उनले नक्कली भिसा लिएर जापान पुग्दा उनी पक्राउसमेत परेका थिए ।

इतिहासविद् देउवाका अनुसार जयपृथ्वी विश्वमा जति मुलुक पुगे त्यो देशमा शान्ति, मानवता र भ्रातृत्वकै अभिवृद्धिको सन्देश मात्र दिए । जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए । उनको संरक्षकत्वमा एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुले । वि.सं १९९७ असोज १ गते भारतको बेंग्लोरमा जयपृथ्वी ६४ वर्षको उमेरमा स्व. भए । उनी स्व. भएपछि विदेशीले दोस्रो गौतमबुद्धको नामले सम्मान नै ग-यो । भारतबाट प्रकाशित हुने ‘अमृतबजार पत्र’ नामक पत्रिकाले ‘नेपालका दोस्रो गौतमबुद्धको निधन’ भनेर समाचार प्रकाशित गरेको देउवा बताउँछन् ।

नेपाली भाषा र शिक्षामा उनको योगदान

बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्ने कुरामा जयपृथ्वी दत्तचित्त भएर लागेका थिए। उनले १९५८ सालमा बालबालिका लागि उपयुक्त ‘अक्षराङ्क’ नामक पुस्तक लेखेका थिए। पाशुपत छापाखानामा एक हजारप्रति छापिएको यस पुस्तकले नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो। सीपमूलक र व्यावहारिक शिक्षाका पक्षमा उनले आवाज उठाएका थिए। यस पुस्तकमा नापतौल, ऋतु–महिना, ग्रह–नक्षत्र र ईस्लाम धर्मको चाडपर्वबारे सरल भाषामा वर्णन गरिएको छ।

जयपृथ्वीले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध–भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, र ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक लेखेका छन्। यी पुस्तकको अध्ययन गर्दा यिनको अध्ययन, मनन र लेखन अब्बल रहेको प्रस्ट हुन्छ। बझाङ र काठमाडौंको नक्साल नारायणचोकमा सत्यवादी पाठशाला खोलेर जयपृथ्वीबहादुर सिंहले आफू शिक्षाप्रेमी भएको प्रमाणित गरिदिए। बझाङ निवासी श्री परिमल सुवेदारबाट जयपृथ्वीबारे एउटा रोचक जानकारी प्राप्त भएको छ। उनका अनुसार, पाठशालामा छोराछोरीलाई पढ्न पठाउन अभिभावकको ठूलो भूमिका हुन्छ भन्ने जयपृथ्वीले बुझेका थिए। त्यसैले उनले अभिभावकलाई अभिप्रेरित गर्न हप्तामा एक दिन भेटघाट र राम्रो खानपानको व्यवस्था पाठशालाको हातामा मिलाएका थिए।

जयपृथ्वीको शिक्षाप्रतिको लगावका विषयमा इतिहासकार नयराज पन्तले चर्चा गरेका छन्। पन्तले बाबुराम आचार्य र जयपृथ्वीबीचको सम्बन्धलाई पद्यमा व्याख्या गरेका छन्। उक्त कवितामा शिक्षाका साधक जयपृथ्वीलाई यसरी चित्रण गरिएको छ।

बझाङका भूपतिसाथ संगम तिम्रो भयो, वृत्ति मिल्यो तिमीकन,
ती भूप विद्याव्यसनी निकै थिए, नयाँ ग्रन्थ रची छपाउनु भो।।

कविताका यी पंक्तिबाट जयपृथ्वीले बाबुराम आचार्यलाई आर्थिक सहयोग गरेको संकेत मिल्छ, (पूर्णिमा अंक २७ )। जयपृथ्वीको अध्ययन अनुसन्धानमा आबद्ध व्यक्तिहरूका अनुसार इतिहासकार बाबुराम आचार्यलाई पढ्नका लागि जयपृथ्वीले आवश्यक खर्चको व्यवस्था गरेका थिए। शिक्षाको सेवामा उनी मात्र होइन कि उनकी रानीको पनि विशेष महत्व छ। डिल्लीबजारस्थित पद्माकन्या क्याम्पसको स्थापना गर्नका लागि उनकी रानीले आर्थिक सहयोग गरेको परिचर्चा सरदार भीमबहादुर पाण्डेले गरेका छन्, (त्यसबखतको नेपाल, भाग –४, पृष्ठ ३३)। नेपाली भाषा–साहित्यका अध्येताले जयपृथ्वीबहादुर सिंहले नेपाली भाषा र साहित्यमा गरेको योगदानलाई मूल्यांकन गरेका छन्। तारानाथ शर्माले ‘नेपाली साहित्यको इतिहास–२०७०’ पुस्तकमा जयपृथ्वीबहादुर सिंहका भाषा र साहित्यका कृतिहरूको संक्षिप्त परिचर्चा गरेको पाइन्छ।

बालबालिकाको शिक्षामा विज्ञानका विविध विषय समावेश गर्दा प्राचीन मूल्य–मान्यता र संस्कृतिलाई बिर्सन नहुने तथ्य जयपृथ्वीले प्रष्टसँग उल्लेख गरेका छन्। साना केटाकेटीलाई भ्रम उत्पन्न हुने खालका विषयवस्तु नदिन उनले शिक्षकलाई बारम्बार अनुरोध गरेका छन्। यिनकै सरसल्लाह र प्रयत्नमा सन् १९०२ अप्रिलमा नौजना नेपाली युवक प्राविधिक शिक्षा प्राप्त गर्न एकजना पथप्रदर्शक र १७ जना सहयोगीसहित जापान गएका थिए।

राणाकालमा शिक्षालाई उदासीन भावले हेरिन्थ्यो, राणा परिवार तिनका भारदार र अन्य उच्च ओहोदाका परिवारका सन्तान लगायत अत्यन्त सीमित वर्गले मात्र शिक्षाआर्जन गर्न पाउँथे। जनता शिक्षित भए भने राणाशासन अवश्य ढल्नेछ भन्ने विश्वास राणाहरूमा थियो। यसकारण शिक्षा लगायत विकासका गतिविधि कहिल्यै राणाको प्राथमिकतामा परेनन्। तथापि परिवर्तित समयका कारण लोकलाई देखाउन भए पनि चन्द्र शमशेरले त्रि–चन्द्र कलेजको स्थापना गरेका थिए। शिक्षासेवी र समाजसेवी जयपृथ्वीसँग चन्द्रशमशेर त्रस्त थिए। जयपृथ्वीकै जोडबलमा चन्द्रशमशेरले वि.सं १९६० मा नौजना नेपालीलाई प्राविधिक शिक्षा पढ्न जापान पठाएका थिए, (सरदार भीमबहादुर पाण्डे, त्यसबखतको नेपाल, पहिलो भाग, पृष्ठ १४९)। त्यसो त चन्द्रशमशेरभन्दा पहिलेका वीरशमशेरकै पालामा वि.सं. १९५७ मा चारजना नेपालीलाई इन्जिनियर विषय पढ्न जापान पठाइएको थियो, ( मदनमणि दीक्षित, देशभक्त चन्द्रशमशेर, २०७४, पृष्ठः ३७)।

पथप्रदर्शक स्वामी पुरानन्द गिरीलाई मासिक भत्ता एक सय ८० रुपैयाँ प्रदान गरेर सबैको जिम्मा उनलाई दिएर पठाइएको थियो। जापान अध्ययन गर्न जानेमा क्या. जंग नरसिंह राणा, क्या. भक्तबहादुर बस्न्यात, देवनरसिंह राणा, हेमबहादुर राजभण्डारी, बालनरसिंह रायमाझी, दीपनरसिंह राणा, रुद्रलाल सिंह र विचारमान सिंह थिए।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै