विभिन्न खालको भेषभूषामा सजिएर मुकुन्डोले मुखाकृति छोपी हातमा डमरु, खड्ग बोकी विभिन्न भावभंगीमा नाचिने बाह्र भैरव नाच अद्भूतखालको हुन्छ । तान्त्रिकशैलीमा घन्टौंसम्म प्रदर्शन हुने नाचमा न नाच्नेहरु थाक्छन्, न हेर्नेहरु । नाच हेर्नका लागि टोलटोलमा मानिसको ठूलो संख्यामा भीड लाग्छ । भनिन्छ, यो नाच प्रदर्शनमा जुट्नेहरु हुन् वा हेर्नेहरु सबैमा भैरवले शक्ति प्रदान गर्छन् । यो नाच हरेक ६ वर्षमा निकालिन्छ । जति समय गुज्रिँदै गए पनि यसको महत्व घटेको छैन । पुस्तान्तरण हुँदै आएको यो नाचमा नाच्ने अधिकांश कलाकार युवापुस्ताकै हुन्छन् । नाचअघि समितिले उनीहरुलाई तालिम दिएर पारङ्गत बनाउँछ ।
यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले बताए ।
उनका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।
मृदङ्गा (खिं) झ्याली, ताः, धाः, सहनाई, (मुहाली) को बादनका माध्यमबाट सङ्गीत सिर्जना गरिने यस नृत्यमा सामान्यतः १२ नर्तक ३० गायक १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा कलाकार, १० स्वयंसेवक तथा अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरी १ सय ६ जनाको सहभागिता रहने अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । ठूलो सङ्ख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाको लागत लाग्ने गुरु कृष्णदेव प्रधानांगले जानकारी दिए ।
शास्त्रीय संगीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएकाले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ ।
पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको संस्कृतिविद् श्रेष्ठले बताए । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अंकित हुलाक टिकट प्रकाशन गरेको थियो ।
पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व. सर्वज्ञमान प्रधानांग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिकामा थिए भने स्व कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निर्वाह गरे । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानांग र उपगुरु मेघबहादुर ताम्राकार छन् ।
नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराईने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने समितिका कोषाध्यक्ष महेन्द्र बजिमयले उल्लेख गरे । नृत्य सुरु गर्नुपूर्व कलाकारलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको उनले बताए ।
मुखुण्डोमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज भाजू, विविध मंगल गुभाजु हुँदै यसअघिको २०७२ को नृत्यमा डा. सिद्धिवीर कमाचार्य रहेका थिए । यसवर्ष मुखुण्डो सिद्धीमा ललितपुरका श्री हीरारत्न गुभाजु संलग्न छन् ।
यो नृत्य प्रदर्शन गर्न करिब २ महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यसवर्ष प्रशिक्षणमा करिब ३ सय ५० भन्दाबढी कलाकार सहभागी भएका भएको र वाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएको अध्यक्ष प्रधानांगले जानकारी दिए ।
ईश्वरको दर्शन, भक्ति र आराधना गर्दै आफ्ना परिवारजनको सुन्दर भविष्यको कल्पना गरी देवताबाट आशीर्वाद लिनु, समाजलाई एकताको सूत्रमा बाँध्नु, अन्याय तथा अत्याचारको सीमा नाघे भयंकर रुप निकाली नाश गर्नुपर्छ भन्ने शिक्षा यो नाचको हो ।
पोखरामा कसरी भित्रियो ?
पोखरामा सर्वप्रथम विसं १७५२ तिर भक्तपुरका नेवारहरु आएका हुन् । त्यसबेला नेपाल अस्थिर राजनीतिक अवस्थाबाट गुज्रिरहँदा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भक्तपुरका नेवारहरु सुरक्षा खोज्दै यहाँ आएको पाइन्छ । यहाँ उनीहरुले व्यापार र खेतीपाती गरेर बसोबास सुरु गरे । आफ्ना पुर्खाले मान्दै आएका विभिन्न सांस्कृतिक गतिविधि निरन्तरता दिनेक्रममा बाह्र भैरव पनि सुरु भएको अनुमान छ ।
त्यसो त, लमजुङ राइनासटारका जीताराम भन्ने व्यक्ति भक्तपुरबाट पोखरामा सुब्बा भई खटिँदा उनले भैरव र भीमसेन मन्दिर एकै पटक स्थापना गरेको प्राप्त ताम्रपत्रमा उल्लेख छ । भीमसेन मन्दिरबाहिरको ठूलो घन्टामा समेत जीतारामले धर्मपत्नी अप्सरादेवीले चढाएको घन्टीमा संवत् १८७६ भनी अंकित छ । भीमसेन टोल (पुरानो नाम लामाचौतारा) आएर बसेका जीताराम भैरवको अनन्य भक्त थिए । त्यो बेला उनी आफैंले मुकुन्डो बनाए, पोसाक, वाद्यवादन सामग्री सबै तयार पारे । भैरव सांस्कृतिक संरक्षण समिति अध्यक्ष तीर्थमानका अनुसार आफ्ना बाबु सर्वज्ञमानलाई हजुरबुबा चतुरमानले जीतारामले नै मन्दिर स्थापना गरेको र नाचलाई व्यवस्थितरुपमा अघि बढाउने प्रयास गरेको सुनाउँथे ।
समितिका पूर्व सदस्य एवं बाह्र भैरवका जानकार अष्टमान प्रधानाङ्ग विसं १८४९ देखिको रेकर्ड आफूसँग रहेको दाबी गर्छन् । नेवार समुदायमा अलि हुनेखाने व्यक्ति विशेषले मात्र सुरुसुरुमा निकाल्ने यो नाच कहिले २, कहिले ३, कहिले ६, ८ वर्षमा हुन्थ्यो । तर १२ वर्ष अवधि भने कटाइँदैनथ्यो । विसं २०२९ सालमा पोखरामा भैरव सांस्कृतिक संरक्षण समिति स्थापना भयो । संस्थापक अध्यक्ष थिए देवीबहादुर भारी । सुरुमा भारी परिवार यसको सञ्चालक थिए । पछि बिजुक्छे हुँदै अहिले प्रधानाङ्ग परिवार सञ्चालक छन् । संस्था स्थापनापछि व्यवस्थित ढंगले हरेक ६ वर्षमा निरन्तर यो नाच निकालिने गरिएको छ । २०३५ सालमा सर्वज्ञमान प्रधानाङ्गको नेतृत्वले झनै व्यवस्थित र मलजल गर्ने काम ग¥यो । बाह्र भैरव नेवार समुदायमा मात्र सीमित छैन, यसमा सम्पूर्ण जातजाति र सिंगो पोखरेलको अगाध स्नेह, आस्था, श्रद्धा छ ।
बाह्र भैरवको महत्व
बाह्र भैरवको नृत्य र मुकुट प्रदर्शन गर्ने कार्य जहिले पायो त्यतिखेर हुँदैन । यसको आफ्नै महत्व छ । बाह्र भैरव हरेक ६ वर्ष अन्तरालमा हुन्छ भने मुकुट प्रदर्शन गाईजात्राको दिनमात्र हुन्छ । प्रत्येक वर्ष नाट्येश्वर महादेव उत्पत्ति भएको दिन घन्टाकर्ण चतुर्दशीको मध्यरातमा भीमसेन मन्दिरको नाट्येश्वरको पूजा आराधना गर्ने परम्परा छ । यो दिनदेखि बाजागाजा तथा नाच फुक्छ र कुमार षष्ठीसम्म चल्छ । घन्टाकर्णको ठिक १५ दिनपछि मात्र गाईजात्रा आउँछ । घन्टाकर्णमा भैरव मन्दिरमा रातभर पूजा हुन्छ ।
बाह्र भैरवको नाच निकालिने दिनमा भने गाईजात्राको दिनमै सार्वजनिक पूजाको लागि जब मुकुट निकालिन्छ, बिहानैदेखि ठूलो संख्यामा भक्तजन पूजाआजामा जुट्छन् । देवतालाई सधैं देवताघर (भैरव मन्दिरभित्र) मा लैजाने गरिएकोमा ५ वर्ष पूरा भएर ६ वर्ष पुगेको अवसरमा बाहिरै राखिन्छ । पूजा अनुष्ठान विधिबाट देवत्व भरिन्छ । गुरुद्वारा मध्यरातमा तान्त्रिक पद्धतिबाट अनुष्ठान गरी विभिन्न भैरवहरुलाई जाज्वल्यमान शक्तिसम्पन्न गर्दै प्राण भर्ने गर्दछन् । नाच्ने कलाकारहरु एकाबिहानै नुहाइधुवाई गरेर शुद्ध हुन्छन् । तान्त्रिक गुरुबाट नाच्ने मुख्य मुख्य कलाकारलाई भैरवको मुकुट हस्तान्तरण गर्छन् ।
त्यसपछि भने एकापसमा बोल्नु हुँदैन । यो क्रियापछि वरपरका भक्तजनहरु मुकुटको सिधै आमनेसामने पर्नु पनि हुँदैन भन्ने परम्परा छ । त्यसदिन भीमसेन मन्दिरमा नाच देखाउने कार्य सुरु हुन्छ । क्रमशः गणेश, विन्ध्यवासिनी, सरस्वती मन्दिर हुँदै पछि गुरुको घरमा नाच सम्पन्न गरिन्छ । अनिमात्र सर्वसाधारणको अनुरोधमा ठाउँठाउँमा नाचका लागि खुला हुन्छ । सर्वसाधारणकहाँ नाच सकिएपछि सम्पूर्ण प्रकृति र मानिसको शान्तिको कामना गर्दै शान्ति नृत्य गरिन्छ । शान्ति नृत्य भैरव मन्दिरमा बिहानदेखि सुरु भई साँझ र भोलिपल्ट बिहानसम्म निरन्तर चल्छ । योसहित बाह्र भैरव नृत्य ६ वर्षसम्मको लागि समापन हुन्छ । यो नाचमा नाच्ने कलाकार १२ जना, सहायक १२ जना, रागी (गीत) गाउने २५/३० जना, मृदङ्ग र अन्य बाजा बजाउने १०/१२, पूजारी सहयोगी ५ जना र अन्य सहयोगी १५ जना गरेर ८० सदस्यसहितको जम्बोटोली हुन्छ । यो नाच करिब ६ घन्टासम्म लगातार नाचिन्छ ।
गण नृत्य हुँदै बाह्र भैरव
बाह्र भैरव खासमा गण नृत्य हो । जनबोलीमा भैरव नाच अर्थात् बाह्र भैरव भनिन्छ । यहाँ ४ भैरवमध्ये कालभैरव, महाकाली, इन्द्रायणी, वराह छन् । ४ देवीमा कुमारी, वैष्णवी, ब्रम्हायणी, महेश्वरी पर्दछन् । गणेश, दागिनी (पार्वती), २ गण (भुच्चा र कवाड) गरी १२ जनाको परिवारसमेतलाई बाह्र भैरव भनिएको बाह्र भैरवका रागी कलाकारसमेत रहेका अष्टमान प्रधानाङ्ग बताउँछन् । नृत्यको नेतृत्व भैरवबाट हुने भएकोले तथा १२ पात्र भएकोले यो बाह्र भैरवले लोकप्रिय बनेको हो ।
कालभैरवको रुप कालो हुने भएकोले भेषभूषा सबै कालो हुन्छ भने कालभैरव, महाकाली, इन्द्रायणी, वराह रातो रंगको भएकोले सबै भेषभूषा रातो हुन्छ । ४ भैरवले हातमा खड्ग र अत्याचारी असुरको मुर्कट्टा लिएका हुन्छन् । ४ देवीको पनि आआफ्नै भेषभूषाको रंग हुन्छन् । उनीहरु एक हातले डमरु समाउँछन् भने अर्को हात ध्यान मुद्रामा हुन्छ । गणेशको सेतो भेषभूषा हुन्छ भने एक हातमा बन्चरो अर्को ध्यान मुद्रामा हुन्छ । भूरवका भूतप्रेतको प्रतीक भुच्चा र कवाङ हुन् । उनीहरुको रातो वर्णको हुने भएकोले भेषभूषा रातै हुन्छन् । दागिनी रातो साडीमा सजिन्छिन् । उनको बायाँ हातमा बल्दै गरेको मशाल र दायाँमा फूलअक्षता र बत्ती हुन्छ । यो नृत्य मृदङ्ग र रागका गीतहरुबाट प्रारम्भ भई रागबाट नै अन्त्य हुन्छ ।
यो नृत्यमा नेवारी भाषाका शास्त्रीय भजन र आरतीको प्रयोग गरिएको छ । वाद्यवादनमा मृदङ्ग, ता, झ्याली, ढोलकी र मुुहालीको प्रयोग गरेर संगीत सिर्जना गरी यो नृत्य प्रस्तुुत गरिने गरिन्छ । नृत्य सुुरु हुुनुुभन्दा पहिले नर्तकहरु नुुहाएर चोखो वस्त्र लगाउँछन् र नासो द्यो र भैरवलाई धुूप बालेर आस्थापूर्वक भैरव मन्दिरबाट ख्वाःपा (मुकुन्डो) लगाएर नृत्यको लागि तयारी अवस्थामा रहन्छन् । शास्त्रीय भजनमा आधारित भएकोले यो नृत्यमा राग पनि विभिन्न प्रकारका हुन्छन् । नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य प्रस्तुत गर्दा जोकोही पनि आह्लादित हुन्छन् ।
ईश्वरको दर्शन, भक्ति र आराधना गर्दै आफ्ना परिवारजनको सुन्दर भविष्यको कल्पना गरी देवताबाट आशीर्वाद लिनु, समाजलाई एकताको सूत्रमा बाँध्नु, अन्याय तथा अत्याचारको सीमा नाघे भयंकर रुप निकाली नाश गर्नुपर्छ भन्ने शिक्षा यो नाचको हो ।
सम्बन्धित खबर
नेपाली पत्रकारिताको जग बसालेका जयपृथ्वी
बाह्र भैरव नचाउँछ पोखरा
अधिनायकवादको नतिजा : राणाले राम्रो कामको पनि जस पाएनन्
इतिहासको कसीमा ‘निरंकुश’ शासक चन्द्रशमशेरको सोच र सामर्थ्य
भीमसेन थापाको जन्म र मृत्युको अपव्याख्या कहिलेसम्म ?
कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]