अधिनायकवादको नतिजा : राणाले राम्रो कामको पनि जस पाएनन्

अधिनायकवादको नतिजा : राणाले राम्रो कामको पनि जस पाएनन्

kamarakamari mukta
  • भैरव रिसाल

राणा शासन नेपालमा १०४ वर्ष चल्यो। जंगबहादुर कुँवरले रक्तपातपूर्ण कोतपर्व र भण्डारखाल पर्व मच्चाएर राजसत्ता कब्जा गरे। शाह शासनमा राज्यको उत्तराधिकारी राजाको जेठो छोरो हुन्थ्यो। राणा शासनमा भने श्री ३ को उत्तराधिकार छोरामा होइन जेठो भाइमा सर्ने थिति बसालियो।

शाह शासनमा जेठो छोरामा उत्तराधिकार सर्दा आफ्नो छोरालाई राजा बनाउन दरबारभित्र भयंकर षड्यन्त्र हुने, राजाकी मन परेकी रानी शक्तिशाली हुने, शक्तिशाली रानीले च्यापेको भारदार पनि शक्तिशाली हुने परिपाटी थियो। यी विकृति देखेर हो वा राज्यसत्ता कब्जा गर्दा हत्याकाण्ड मच्चाउन भाइहरूले सघाएकाले हो, जेठो भाइ नयाँ श्री ३ हुने परिपाटी बसाले।

यो १०४ वर्षमा दुई वटा विश्वयुद्ध भए। संसारमा धेरै अध्ययन, अनुसन्धान र आविष्कार भए। भारतमा इष्ट इण्डिया कम्पनीको नाममा सात समुद्रपारिको अंगे्रजले राज्य गर्‍यो। त्यो शासनसत्ता विरुद्ध भएको विद्रोह दबाउन इष्ट इण्डिया कम्पनी सरकारले नेपालसँग सहयोग माग्यो। जंगबहादुरले ६ हजार सेना पठाए। फेरि थप सेना माग्दा १४ हजार सेना लिएर जंगबहादुर आफैँ गए। विद्रोह दमन भयो।

जंगबहादुरले सहयोग गरेबापत इष्ट इण्डिया सरकारले सन् १८१६ मा सुगौली सन्धिको नाममा लिएका पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दियो। तत्कालीन नेपाल सरकार कति सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र स्वतन्त्र थियो, त्यसबारे छलफल हुनुपर्छ। एउटा स्वतन्त्र राष्ट्रका प्रधानमन्त्री आफैं त्यत्रो पल्टन लिएर अर्को मुलुकको विद्रोह दमन गर्न जानुको औचित्य के हो? इतिहासको विवेचना हुनुपर्छ।

कति धेरै स्वास्नी !

विज्ञान र प्रविधिको युग थिएन। राष्ट्रमा दैवीप्रकोप परेको समयमा मात्र प्रयोग गर्न जंगबहादुरले त्यति वेलै रु.११ करोड कौशी नामको ढुकुटीमा राखेका थिए। समाज सुधारतर्फ साल्मी, भोटे, कोचे, मोचेहरूको पानी चलाए। तोपखाना, बारुदखाना, जंगी मेगजिन, काठमाल अड्डा खडा गरे। आयुर्वेद औषधि निर्माण गराए।

त्यसअघि नेपालमा कानूनहरू थिएनन्। जंगबहादुरले १९१० सालमा मुलुकी ऐन बनाए। यद्यपि त्यो ऐनमा एउटै खालको अपराधमा पनि जातका आधारमा मृत्युदण्ड र फरक कैद सजायको व्यवस्था थियो। उनले पहिलो पटक बोक्सी, धामीझाँक्री जस्ता रूढीवादी प्रथा दण्डित हुने व्यवस्था गराए।

जंगबहादुरले राज्यको नापी गराए। जनसंख्या थाहा पाउन १९१७ सालमा जनगणना गराए। नेपालको नक्सा बनाउन लगाए। सिमानामा ‘माइल स्टोन’, दुर्गम क्षेत्रमा हुलाक, दरबारमा स्कूल र पुस्तकालय खडा गराए। पहाड र तराईका मौजामा धर्म भकारी बनाउन लगाए। भोटतर्पm जाने बाटो मर्मत गराए। मठ मन्दिर, गुम्बाहरूको मर्मत गराए।

जंगबहादुर राणा

जंगबहादुरको बेलायत र फ्रान्सको भ्रमणपछि ‘नेपाल एउटा स्वतन्त्र, सार्वभौम मुलुक हो’ भन्ने स्थापित गर्न मद्दत पुग्यो। बेलायतबाट फर्कंदा विभिन्न जातका घोडा, वनस्पति र फूलका बिउ ल्याए। छापाखाना ल्याए।

जंगबहादुरका ४२ श्रीमती थिए। उनीहरूको बडामहारानी, महारानी, रानी, मुख्यानी, नानी जस्ता दर्जा थियो। उनका १४ छोरा र १६ छोरी गरी ३० जना सन्तान थिए। उनले ३० वर्ष शासन गरे। १३ फागुन १९३३ मा चक्रघट्टीमा निधन हुँदा उनको उमेर ५९ वर्ष ८ महीना थियो।

राणाकालमा विकास निर्माण तथा सामाजिक सुधार

जंगबहादुरको मृत्युपछि १५ फागुन १९३३ मा रणोद्दीप सिंह श्री ३ भए। उनले आठ वर्ष आठ महीना शासन गरे। उनको राज्यकालमा कुनै उल्लेख्य काम भएनन्। भतिजाहरूले नै उनको निर्मम हत्या गरे। धीरशमशेरका छोराहरू डम्बरशमशेर, खड्गशमशेर र भीमशमशेरले गोली हानी १ मंसीर १९४२ मा उनको हत्या गरेका थिए।

रणोद्दीपपछि वीरशमशेर २ मंसीर १९४२ मा श्री ३ भए। उनले १५ वर्ष आठ महीना राज्य गरे। वीरशमशेरको पालामा विकास र निर्माणका धेरै काम भए। जति गरे, धेरैमा आफ्नै नाम राखे। १९४८ सालमा खानेपानीका लागि वीरधारा बनाए। १९४७ मा वीर अस्पताल, १९५१ मा घण्टाघर बनाए।

सडक, ढल, कुलेखानीमा झोलुङ्गे पुल र आठ वटा विशाल दरबार बनाए। ती नारायणहिटी, भाटभटेनी, जाउलाखेल, हात्तीसार, चारबुर्जा, सेतो दरबार, लाल दरबार, फोहोरा दरबार हुन्। सेतो दरबारअगाडि विशाल मस्जिद बनाउने अनुमति दिए।

वीरशमशेर कलकत्तामा सरकारी काममा नियुक्त भएकाले अंग्रेजी भाषामा राम्रो पहुँच थियो। ३८ वर्षमा श्री ३ भएका वीरले १५ वर्ष राज्य गर्दा धेरै सुधारका काम पनि गरे। त्यसपछि १ फागुन १९५७ मा देवशमशेर श्री ३ भए। तर, ११४ दिनमा नै अपदस्थ भएर उनी रातको अँध्यारोमै धनकुटातर्फ लखेटिए।

देवशमशेरले छोटो शासनकालमा गोरखापत्र र धेरैवटा पाठशाला खोले। सर्वसाधारणलाई समयको सूचना होस् भनेर मध्याह्न १२ बजे तोप पड्काउने चलन बसाए। श्री ५ महाराजाधिराज समेतको संलग्नतामा पब्लिक स्कूल (दरबार हाइस्कूल) मा पुरस्कार वितरण गराए। देवशमशेरको पतनको मुख्य कारण गेहेन्द्रशमशेरकी नानी (ल्याइते श्रीमती) जलाफमाथि आँखा गाड्नु नै भयो।

१९५८ असारमा चन्द्रशमशेर श्री ३ महाराज भए। यिनले २८ वर्ष राजपाठ चलाए। यिनको पालामा विकासका थुप्रै आधारभूत काम भए। उनले रक्सौल–अमलेखगन्ज १९ माइल रेल र चुरेमा सुरुङ बनाए। १९५९ सालमा सिंहदरबार, १९६८ मा ५०० किलोवाटको फर्पिङ जलविद्युत्, १९७६ मा त्रिचन्द्र कलेज, १९८२ मा १४ माइल लामो घुर्सिड.–मातातीर्थ रोपवे, १९८४ सालमा अमलेखगन्ज–भीमफेदी सडक बनाए। १९७७ सालमा सतीप्रथा र १९८१ मा दासप्रथा उन्मूलनलाई उनले गरेको महत्त्वपूर्ण सुधार मानिन्छ। उनले आफ्ना नौजना छोरालाई नौ वटा दरबार पनि बनाइदिए।

त्यसपछि भीमशमशेर १२ मंसीर १९८६ मा श्री ३ भए। उनले दुई वर्ष नौ महीना शासन चलाए। उनको पालामा पनि केही कलधारा स्थापित भए जसलाइ भीमधारा भनियो। भैरहवामा भीम अस्पताल पनि बन्यो। १९८६ मा सरकारको अनुमति नलिई वाचनालय खोलेको आरोपमा लक्ष्मीप्रसाद देवकोटा, जोगवीर सिंह, हरिकृष्ण श्रेष्ठ, कृष्णप्रसाद खतिवडा, धर्मराज थपलिया, चित्तधर आदि ४६ जनालाई पक्राउ गरी थुने। यो मुद्दालाई पनि गाथगादी ताक्ने योजनाको रूप दिइयो। तर, पछि जनही रु.१३५ जरिवाना गरी सबैलाई छाडियो। भीमशमशेर श्री ३ नहुँदा सोझासीधा जस्ता थिए, तर श्री ३ भएपछि उज्जन्ड भएर निस्के रे।

भीमशमशेरको मृत्युपछि १७ भाद्र १९८९ मा जुद्धशमशेर श्री ३ भए। उनले सत्ता सम्हालेको अर्को वर्ष १९९० सालमा ठूलो भूकम्प गयो। यो घटनापछि उनले काठमाडौंमा फराकिलो सडक बनाए। यसलाई जुद्धसडक भनिन्थ्यो। पछि, नयाँ सडक हुँदै न्यूरोड भन्न थालिएको छ। सो भूकम्पको स्मारकका रूपमा नयाँ सडकमै भूगोल पार्क पनि बताए। उनैका पालामा दोस्रो विश्वयुद्ध भयो। यो युद्धमा पनि नेपालले अंग्रेजलाई सहयोग गर्न सेना पठाएको थियो।

उनले विराटनगरमा उद्योगहरू पनि खोलेका थिए। तर, जुद्धशमशेरले १९९७ सालमा चार जना देशभक्त सपूतहरूको नृशंस हत्या गरेपछि उनका केही राम्रा काम पनि ओझेलमा परे। यो घटनालाई प्रजातान्त्रिक इतिहासकै नराम्रो दिनका रूपमा लिइन्छ। उनी २००२ सालमा राज्य त्याग गरी पहिला गुल्मीको रिडी र पछि देहरादूनमा बस्न गए।

जुद्धशमशेरले २ मंसीर २००२ मा आफ्नै हातले पद्मशमशेरलाई श्री ३ को श्रीपेच लगाइदिएका थिए। पद्मशमशेरको सबैभन्दा ठूलो सुधार २००४ सालमा ‘नेपाल सरकारको वैधानिक कानून’ ल्याउनु नै हो। यो नेपालको पहिलो संविधान मानिन्छ। उनले शासनपद्धतिमा सुधार गर्न खोजेका थिए। तर, उनी साह्रै कमजोर थिए। उनी सानातिना कुरामा पनि रोइहाल्थे।

चन्द्रशमशेरका छोराहरू मोहनशमशेर, केशरशमशेरलगायतको डरले उनले २००५ सालमा राज्य त्याग गरे। त्यसपछि मोहनशमशेर श्री ३ महाराज भए। उनको पालामा ‘मोहन आकाशवाणी’ बाहेक केही ठूला काम भएनन्। बरु १९०३ सालदेखिको जहानियाँ राणाशासन २००७ सालमा समाप्त भयो।

राणा शासकले आपूmलाई राजा घोषित गरे। आफू महाराज र श्री ५ लाई महाराजधिराज भन्न लगाए। राणा शासनका १०४ वर्षमा केही आधारभूत आवश्यकताका पूर्वाधार अवश्य निर्माण भए। तर, त्यो समयमा बाहिरी विश्वले विकास, सामाजिक सुधार र अनुसन्धानको क्षेत्रमा ठूलो फड्को मारिसकेको थियो। नेपाल भने मूच्र्छित अवस्थामा रह्यो। अझ २००७ सालको आसपासमा त शासनसत्ताको उपल्लो तहमा पुगेका राणा खलकले सम्पूर्ण सुन, चाँदी र बहुमूल्य सम्पत्ति समेत कुम्ल्याएर भारततिर पसे।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै