गण्डकी संसदको नयाँ लोगो

गण्डकी संसदको नयाँ लोगो

Gandaki Logo

पोखरा । गण्डकी प्रदेश सभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन हुने भएको छ । प्रदेश सभा नियमावली मस्यौदा समितिले पुरानो लोगोमा व्यापक परिवर्तन प्रस्ताव गरेको हो । हाल सांसदले लगाइरहेको लोगोमा हरियो रङको प्रयोग धेरै गरिएको छ । प्रस्तावित नयाँ लोगोमा पहेंलो रङ प्रयोग भएको छ ।

गैंडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज देखाउन खोजिएको छ । नयाँ लोगोमा यसअघि भएका जनवार र चरा हटाइएको छ । लोगोको रङ परिवर्तन गरिएको छ भने डाँफे, गैंडा, मृग, लालीगुराँस, नदी हटाएर लोगोलाई सरल बनाइएको छ ।

प्रदेश सभा नियमावली २०७४ मा भएका त्रुटिहरु सच्याएर नयाँ र समसामयिक विषयवस्तु समेटी नयाँ नियमावलीको प्रस्ताव तयार गर्न गत फागुन १० गण्डकी प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरिएको थियो । पटकपटक म्याद थप गरिएको समितिको सभापति बिन्दुकुमार थापा छन् । नयाँ लोगो प्रस्तावका लागि नियमावली मस्यौदा समिति सदस्य सुधीरकुमार पौडेलको संयोजकत्वमा उपसमिति बनाइएको थियो ।

उक्त मस्यौदा असार १८ गते सदनमा प्रस्तुत भएर १९ सामान्य छलफल भएको छ । सामान्य छलफलपछि संशोधनको सूचनाका लागि ७२ घन्टे समय तोकिएको छ । नियमावली मस्यौदा समितिले प्रदेश सभाका ४ संसदीय समितिमध्ये विधायन समिति खारेज प्रस्ताव गरेको छ । उक्त समिति खारेज, अरु नाममा ४ समिति गठन र लोगो परिवर्तनसहितको मस्यौदा समितिका संयोजक सांसद बिन्दुकुमार थापाले मंगलबार प्रदेश सभामा पेस गरेका थिए ।

प्रदेश सभामा रहेका ४ समितिको संख्या कायम राख्दै समितिको नाम र जिम्मेवारी हेरफेर गरिएको नियमावली मस्यौदा तयार भएको हो । प्रदेश सभामा पेस विधेयकमाथि सबै सदस्यले छलफल गर्ने र सुझाव पेस गर्ने विधायन समिति हट्ने भएको छ ।

अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास तथा कृषि समिति प्रस्ताव गरिएको छ । सरोकारवालाहरुसँगको बृहत छलफलपछि मस्यौदा बनाएको सभापति थापाले जानकारी दिए ।

गण्डकी प्रदेश सभा नियमावली २०८० को मस्यौदा प्रदेश सभामा पेस भएर मंगलबार सामान्य छलफलसमेत भएको छ । नियमावलीमा मुख्यमन्त्रीसँग प्रत्येक महिनामा एकपटक सांसदहरुले प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ । २०७४ मा ल्याइएको नियमावलीको परिच्छेद ९ मा प्रश्न र ध्यानाकर्षणको प्रबन्ध गरिए पनि प्रयोगमा आउन सकेको थिएन । सभामुख, उपसभामुख र संसदीय समितिका सभापतिको पद रिक्त भए १५ भित्रै निर्वाचन गर्नुपर्ने विषय नियमावलीमा उल्लेख गरिएको छ । नयाँ नियमावली २२ गतेको प्रदेश सभा बैठकबाट पारित गर्ने योजना छ ।

आज असार २२ गते संसदबाट नियमावली पारित भएपछि लोगो बनाउने प्रक्रिया सुुरु हुने छ । अहिले प्रदेश सभा सदस्यले लगाएको लोगोलाई ६ हजार ७ सय ५० रुपैयाँ पर्छ । पहेंलो रंग प्रस्ताव गरिएको नयाँ लोगोमा सुन प्रयोग गरिएमा अहिलेको भन्दा महंगो पर्छ । अहिलेको लोगो चीनमा बनाएर ल्याइएको प्रदेश सभाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै