पोखराको जिरो किमिस्थित पामे चापाकोट सुनचाँदी दुकानमा गत शुक्रबार (पुस १६ गते) सिक्री चोरी गरी फरार महिला अझै पक्राउ पर्न सकेकी छैनन् । सिसीटिभी फुटेजमा स्पष्ट देखिएकी महिला चार दिन बित्दा समेत प्रहरीले पक्राउ गर्न नसकेको हो ।
१ लाख जति पर्ने एउटा सिक्री किन्ने बहानामा महिलाले गोजीमा हालेर फरार भएकी थिइन् । यसबारेमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीलाई सोध्दा घटनाबारे आफूलाई थाहा नभएको बताए । कन्ट्रोलमा समेत बुझ्दै डिएसपी तिवारीले भने– ‘यस सम्बन्धमा हामीलाई कुनै पनि खबर छैन । कन्ट्रोलमा पनि खबर रहेनछ । सम्बन्धितले यदि खबर नगर्नुभएको हो भने गर्नुहोला ।’
तर, दुकानका सञ्चालक केशव घतानेले भने आफूले प्रहरीलाई तत्काल जानकारी गराएको बताए । यस विषयमा उक्त क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदाममा बुझ्दा कार्यालय प्रमुख डिएसपी चिनिमाया तामाङले वडामा निवेदन आएको बताइन् । ‘हजुर, चोरी भएको निवेदन परेको छ । हामीले सिसिटिभी फुटेजको आधारमा महिलाले प्रयोग गरेको ट्याक्सी चालकसँग समेत बुझ्यौँ । ट्याक्सीले झारेको ठाउँमा पनि २ जनासँग बुझ्यौँ । खोजी कार्य जारी छ । अनुसन्धान हुँदैछ ।’
घटना भएको ४ दिनसम्म भएको प्रगति विवरण भने यति नै हो । अहिलेसम्म ति महिला को हुन् ? चोरेर कहाँ फरार भईन् ? केही पत्तो लागेको छैन । सिसीटिभी फुटेज भिडियो नै सार्वजनिक गरी सञ्चालक आफै खोजीकार्यमा जुटेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
घटना विवरणः
पुस १६ गते, शुक्रबार दिउँसो ४ः३४ बजे पहेँलो टिसर्ट, कालो ज्याकेट, खैरो सुरुवाल र साइडबाट लेडिज ब्याग भिरेकी, मास्की लगाएकी मोटीघाटी शरीरकी युवती पोखराको जिरो किमिस्थित पामे चापाकोट सुनचाँदी दुकानमा पसिन् ।
पसलमा संचालक केशव घताने र उनका बुबा थिए । महिलाले सिक्रीहरु हेरिन्, आफ्नो डिजाईन अनुसार नभएको भनेपछि महिलाले भने बमोजिमको सिक्री लिन केशव पृथ्वीचोकस्थित मामाको पसल हिँडे । पसलमा केशवका बुवा मात्रै रहे । त्यसपछि महिलाले बुवासँग फेरि सिक्रीको बाकस मागेर हेर्न थालिन् । बक्समा ५ वटा सिक्री भएकोमा छानेर ठूलो सिक्री गोजीमा हालिन् । त्यसपछि ‘सिक्री ल्याउन ढिला हुने होला, हतार भयो’ भनेर १ मिनेटभित्रैमा पसलबाट निस्किन् । दौडँदै ट्याक्सीमा पुगिन् ।
महिलाले अर्डर गरे बमोजिमको सिक्री लिन गएका केशव फर्कँदा महिला थिइनन् । सिक्री राखिएको बाकसमा ठूलो सिक्री पनि गायब थियो । बुवालाई सोध्दा आफूले नबेचेको र थाहा नभएको बताए । त्यसपछि महिलाले नै सिक्री लगेको शंका लागेपछि सिसीटिभी फुटेज हेर्दा चोरेको पुष्टि भयो ।
केशवले प्रहरीलाई खबर गरे । सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्दा महिला ग१ज १४६० नम्बरको ट्याक्सीमा चढेर गएको पत्तो लाग्यो । ट्याक्सी चालकलाई सम्पर्क गरी बुझ्दा आफूले भाटभटेनीबाट लेकसाईड जाने भनेर लगेको, जिरो किमिमा आइपुग्दा रोकेर सुन किनेर आउँछु भनेर वेटिङमा राखेको, १५ मिनेटपछि फर्किएको र लेकसाईडमा लगेर छाडेको भन्ने बयान दिए ।
महिला झरेको ठाउँमा २ घरका मानिसहरुसँग बुझ्दा नचिनेको बताएको प्रहरीलाई उदृत गर्दै सञ्चालक केशवले बताए । ‘ति महिला पहिले आ’को जस्तो त लागेन । म नहुँदा वृद्ध बुवा देखेपछि उहाँलाई झुक्काउन सक्ने लागेर फेरि सिक्री मागेको जस्तो लाग्छ । बुवा पछाडि जानुभएको बेला चोरी गर्न पनि सहज भयो ।’ केशवले भने – ‘त्यो दिन मौखिक जानकारी भयो, भोलिपल्ट शनिबार वडा प्रहरी कार्यालय पुगेर निवेदन पनि दिएको छु । प्रहरीले पनि सर्च गरिरहेको भन्नुहुन्छ । सिसीटिभी फुटेजमा सबै स्पष्ट देखिएको छ । अझै पत्ता लगाउन सक्नुभएको छैन ।’
पोखरा २३ पामेका केशवले १० वर्ष अघि देखि जिरो किमिमा सुनचाँदी दुकान सञ्चालन गर्दै आएका छन् ।
सम्बन्धित खबर
अध्ययन निष्कर्ष: कृषि लगानीमा लघुवित्त प्रभावकारी
‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
पोखरामा ‘बखतबहादुर स्मृति ३५ प्लस फुटसल’ सुरु, उद्घाटन खेलमा गण्डकी स्पोर्टस् विजयी
सञ्चार क्षेत्रलाई मर्यादित र व्यवसायीक बनाउन सरकार प्रतिबद्ध: मुख्यमन्त्री पाण्डे
पोखरामा लागुऔषधसहित २९ वर्षीय घिसिङ पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा