पोखराको छोरेपाटनमा जमिन भासियो, दुई घर जोखिममा

पोखराको छोरेपाटनमा जमिन भासियो, दुई घर जोखिममा

Chhorepatan-vasiyo

पोखरा १७ छोरेपाटन स्थित शितलचौतारी नजिकै जमिन भासिदा दुई घर जोखिममा परेका छन् । विहीबार राति साढे १० बजेको समयमा स्थानिय बिमला बोगटी र डिलमाया गुरुङको घर अगाडि नै भासिएको हो ।

सिद्धार्थ राजमार्ग सडकदेखि १५ मिटर पर १२ वर्गमिटर जति जमिन भाँसिदा दुई घर उच्च जोखिममा परेका हुन् । सोलार पोलसहितको जमिन एक मिटर बढी भासिएको छ भने घरको पेटी समेत भत्किएको छ ।

विहीबार राति नजिकै रहेको अस्थायी प्रहरी पोष्टमा ड्युटी खटिएका प्रहरीले जमिन भासिएको देखेपछि सम्बन्धित घरधनीलाई खबर गरेको छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरिक्षक महेन्द्र पौडेलले जानकारी दिए ।

व्यवसायिक प्रयोजनमा प्रयोग भएको उक्त घरहरुमा दुई वटा किराना पसल र दुई वटा भाडा पसल छन् । शुक्रबार पसलहरु बन्द गरिएका छन् । आकाशको पानीले थप क्षति नपुगोस् भन्ने हेतुले त्रिपालसमेत टाँगिएको वडाअध्यक्ष तीर्थराज अधिकारीले जनाए ।

घरधनी डिलमाया गुरुङले आफूहरु ठूलो पीडामा रहेको दुःखेसो पोख्दै घरलाई भत्कनबाट जोगाउन दीगो उपायका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छन् । उनले भनिन् ‘जे भन्नु यही घर हो । घर अगाडि नै भ्वाङ परिहाल्यो । थप क्षति हुन नदिन तत्काल संरक्षणको उपाय अपनाई यो ठाउ जोगाउन आग्रह गर्दछु ।’

काँग्रेसका वडा सभापति देवराज आचार्यले उक्त क्षेत्र निकै जोखिममा रहेकोबारे आफूहरु जानकार रहेको र यसको संरक्षणका लागि स्थानिय सरकारलाई पहिल्यैदेखि ध्यानाकर्षण गराइरहेको बताए ।

बाटोको उत्तरतर्फ दामोदर कुनामा वर्षाको समयमा पानी जम्मा भएर ताल बन्ने र उक्त पानीको निकास नहुँदा भित्रभित्रै सोसेर जमिन कमजोर बनाएको छ । यसै वर्ष पनि वर्षामा २ पटकसम्म पानी जमेर ताल बनेको थियो । पानी नसुकुन्जेल दुई परिवार विस्थापित नै हुनुपर्ने बाध्यता छ ।
वर्षौंदेखिको यो समस्या समाधान भएको छैन । वडा अध्यक्ष अधिकारीले भने स्थानिय जनप्रतिनिधि आएसँगै पहिलो वर्ष २०७४ मै दामोदरकुनाबाट पानीलाई फुस्रेखोलामा पुग्ने गरी निकास लगिएको जिकिर गर्छन् ।

घर अगाडि नै खानेपानीको पाईप विछ्याउँदा पनि हेलचक्र्याईं भएको घरधनी बाला गुरुङको भनाई छ । उत्तरतर्फको पानीले निकास नपाएर घरमुनीको जमिन कमजोर भइरहेका बेला खानेपानीको पाइपले पनि समस्या थपेको उनको गुनासो छ । खानेपानीको ठूलो पाईपमा पानी आइरहने र त्यो जमिनभित्रै सोस्ने गरेकाले धरातल कमजोर बनेको उनको ठम्याई छ ।

घरका सदस्यहरुले जनप्रतिनिधि गम्भीर नभएको आरोपसमेत लगाए । विहीबार राति परेको खाल्डो पुर्ने कामका लागि वडाले गम्भिर ढंगले चासो नलिएको गुनासो उनीहरुको छ ।

यद्यपी, वडा अध्यक्ष अधिकारीले आफू विहान र अपरान्ह गरी दुई पटकसम्म भासिएको स्थानमा पुगी अवलोकन गरी आवश्यक काम गरेको बताए । उनले भने – ‘म आफै दुई पटक पुगेँ । पानी परिरहेको अवस्थामा भ्वाङ परेको खाल्डोबाट पानी नछिरोस् भनेर त्रिपाल टाँगेका छौँ । आज विश्वकर्मा पूजाको दिन भएर पनि जनशक्ति भएनन् । मेशिनरी चीजहरु पूजाआजामा भएको भनेर पाएनौँ । नत्र, खाल्डो परेको ठाउँको भूगोलको स्थिति हेरेर पुर्ने कि के गर्ने भन्ने योजना थियो । ढिला नगरी गर्नुपर्ने काम हामी गरिहाल्छौँ ।’

तीन साता अघि पोखरा महेन्द्रपुलमा पनि यसैगरी घरको पेटीमा नै असर पर्ने गरी भ्वाङ परेको थियो । त्यसपछि नदीपुर, लेकसाइड, लामाचौर, मालेपाटन लगायतका क्षेत्र पनि भासिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै