नथाकेकी आमा ! छोराको हत्यारालाई सजाय दिलाउन चार वर्षको प्रयास सफल, ४ प्रहरी प्रमुख फेरिँदा बल्ल अनुसन्धान

नथाकेकी आमा ! छोराको हत्यारालाई सजाय दिलाउन चार वर्षको प्रयास सफल, ४ प्रहरी प्रमुख फेरिँदा बल्ल अनुसन्धान

Bishnu-1

रञ्जन अधिकारी, पोखरा

‘बाबा रुन्छन् लौ वर्ष दिन, आमा जुगै भरी लौ हजुर’
ख्यातीप्राप्त लोकगायक झलकमान गन्धर्वको आवाजमा रेकर्ड भएको कालजयी ‘आमाले सोध्लिन् नि …’ गीतको बिट मारेको हरफ हुन् यी । कास्की बाटुलेचौरका स्वर्गीय गन्धर्वले झण्डै आधा शताब्दी पहिले गाएको यो गीत जिल्लाकै सिल्दुजुरेका पाण्डे आमाछोरासँग जोड्नु सान्दर्भिक हुन्छ । हाम्रो आँखै अगाडिको उदाहरण हो यो परिवार । आफूले जन्माएको सन्तान आँखै अघि गुमाएपछि एउटी आमा कति भावविह्वल हुन्छिन् ? गीतमा उल्लेखित झैं आफै नमरुन्जेल एउटी आमा मरेको सन्तान सम्झेर रोइरहिन्छन् । कालगतिले मर्दा त आमाको मन बुझ्दैन, झन् एउटी आमाको अन्तरआत्माले भनिरहेको छ– ‘तेरो छोरो मारेकै हो ।’ अनि कसरी बुझ्छ मन ? २५ वर्षको तन्नेरी छोरो गुमाएपछि ६६ वर्षकी बृद्धा आमा न्यायको भिख माग्न कहिलेसम्म भौंतारिएला ? यी आमा हेरे पुग्छ ।

पोखरा नयाँबजारमा मोटरसाइकल वर्कशपमा मिस्त्री काम गर्दै आइरहेका कास्कीको सिल्दुजुरेका सूर्य पाण्डे सेतीनदिको तुलसीघाटमा २०७१ फागुन ६ गते अचानक मृत भेटिए । शव हेर्दा आमा विष्णुकुमारी पाण्डेलाई पोष्टमार्टम रिपोर्टदेखि प्रहरीको भनाई पत्यार नै लागेन । प्रहरी ‘गाँजा र रक्सी खाएर भिरबाट लडेर मरेको’ भन्थे तर विष्णु भन्छिन् ‘मेरो छोरालाई हत्या नै गरेर फालेको हो’ । विष्णुको आँखा त्यसदिनदेखि ओभाएकै छैन । मजुवादेखि पोखरा सयौं पटक आईन्, जिल्ला प्रहरी कार्यालय देखि मानवअधिकार आयोग, इन्सेक, पत्रकारहरुसँग सयौं पटक भेटिन् । तर अहँ, केस अघि बढेन । तर हार मानिनन्, जो भेटेपनि छोराको लाशको फोटो देखाउँदै भन्थिन् ‘ल हेर्नुस् त मेरो छोरो आफै मरेको हो ? मारेको हो । यो लुगा मेरो छोरोकै हैन । पुलिसले लुगा लगाइदिएको हो ।’

जन्माएको छोरो मार्नेलाई सजाय दिलाएर मात्र आफू मर्ने र परलोक पुगेका छोरोको आत्मा शान्ति गराउने दृढ अठोट लिएकी विष्णुकुमारी अरुको नजरमा त उहिल्यै मरेतुल्य भईन् । धेरै पहिल्यै भेट्दैमा उनको गुनासो थियो- ‘म त बहुलाइसकेँ रे । म सधैं यहाँ आउँछु, रुन्छु, कराउँछु, मुर्छा पर्छु । तर, अहँ मलाई कसैले वास्ता गर्दैन । सबैले दिमाग खुस्किसक्यो भन्छन् । म मेरो छोरो मार्नेलाई सजाय नभएसम्म, मेरो खुट्टा चल्ने बेलासम्म पोखरा आइरहन्छु ।’

सूर्य हुँदासम्म पोखरा नै बस्ने विष्णुकुमारीको परिवार त्यसपछि सिल्दुजुरेबाट मजुवामा बसाईं स¥यो । विष्णु मजुवादेखि नै पोखरा झरिरहन्थिन् तर प्रहरीको व्यवहारले झन् आहात हुन्थिन् ।

कहिलेकाहिँ जेठो छोरो महेन्द्र (सूर्यको दाइ) ले आमालाई साथ दिन्थे । श्रीमान् बुढै भए, उनी सँगै आउन्नन् । गाउँले छिमेकीको साथ पनि छैन । तर विष्णु थाकिनन् । पुलिसदेखि पत्रकारसम्मको नाम, नम्बर याद छ विष्णुलाई । कापी भरिएको छ । औपचारिक कक्षा नपढेपनि नम्बर टिप्न र मोबाइलमा फोन गर्न अरुको सहायता चाहिन्न । छोराको बारेमा पत्रपत्रिकामा छापिएका पेपर कटिङ पनि झोलामै बोकेर हिँडेकी छन् । जो भेट्यो देखाइहाल्छिन् ।

प्रहरी प्रमुख देखि जवानसम्मका नाम कण्ठै छ । पुलिस कार्यालय आउँदा आफूलाई घिच्याएर फाल्नेहरुको नाम समेत उनी सरासर बताउँछिन् । कुन पुलिसले के भन्यो, प्रहरी वरिष्ठ अधिकारीकै सामु उनी हाक्काहाक्की सुनाउन थाल्छिन् ।

‘तुल्सीघाटकै गौतम हल्दारले छोरो त चिन्छिस् ? भन्छ । सबै बिगार्ने देवीलाल पौडेल हो । प्रहरीहरुले नै हत्यारा लुकाएको हो ।’ दर्जनौं प्रहरीको नाम लिँदै उनले आफूमाथि दुव्र्यवहार गर्नेको पोल खोल्छिन् ।

‘एसपी हरी पाल, घनश्याम अर्याल, अशोक सिंह, ओम राना सबैले हुन्छ हुन्छ मात्र भन्नुभयो । कसैले केही गर्नुभएन । अहिले ओम रानाले पक्रिनुभाको छ रे । तर सँगै बसेर रक्सी खाएको, हिन्दा हिन्दै भिरबाट लडेको भनेका छन् रे । मेरो छोरालाई उनीहरुले नै मारेको हो । त्यस्तो भन्न मिल्छ ?’ विष्णु झल्झली सम्झन्छिन्, छोराको शवमा त चोटै चोट थियो ।

‘प्रहरीहरुले सुई घोचेर मरेको तेरो छोरो भन्छ । आफै हाम्फालेको रे । कोही मान्छे आफै हामफाल्छ ? घटना भएको राति मेरो छोरालाई कुटेको देख्ने मान्छेहरु पनि छन् । उनीहरु त्यो बेलामा पनि बोलेका थिए र अहिले पनि बोल्न तयार छन् । हुँदाहुँदै अहिले त जिल्ला प्रहरीको गेटबाटै फर्काइदिन्थे मलाई ।’ विष्णुकुमारी थप्छिन् ‘यो बुढी कति किचकिच गर्न आउँछे भन्दै हेप्छन् । मेरो छोरा फर्किदैन भनेर मलाई थाहा छ तर हत्यारालाई जेल हाल्न पाए म आरामले मर्न सक्छु ।’

पछिल्लो समय त उनलाई देख्नेहरुले भन्ने गर्थे, ‘छोरो म¥यो, मारेको भन्दै यसरी रुँदै हिडेको यत्रो वर्ष भयो, न अब पत्ता लाग्छ, केही न केही’ । उनको सधैंको यही दैनिकीले अरुलाई पनि सामान्य लाग्दै गयो ।

४ वर्षमा ४ प्रमुख, बल्ल जाहेरी दर्ता

४ वर्ष बीचमा ४ प्रहरी प्रमुख फेरिए । हरिबहादुर पाल, घनश्याम अर्याल, अशोक सिंह र ओम राना । केहीलाई नियन्त्रणमा लिएर छाड्ने बाहेक केही काम भएन । एसपी ओम रानाले कास्कीको कार्यकाल पूरा गर्दैगर्दा जाहेरी परेका तीन जनालाई पक्राउ गरेका छन् । यद्यपी, उनी आएदेखि नै यस केस अघि बढाउन कार्यालयमै दर्जनौं पटक पुगेर विष्णुले अनुनय विनय नगरेकी होइनन्, मानवअधिकार आयोगको टोली पनि पटक पटक पुगेकै हो । अघिल्ला तीन एसपीले अघि बढाउन जाँगर चलाएनन् ।  जाहेरी परेका दुई जना संलग्न नभेटिएको भन्दै फाइल अघि बढाउन नै खोजेनन् । अहिले एसपी रानाले अघि बढाएर अभियोग लागेकालाई पक्राउ गरेका छन् ।

राना कास्की आउने बित्तिकै (२३ साउन, २०७५) गण्डकन्यूजको टीम सहित विष्णुकुमारी जिल्ला प्रहरी कार्यालय पुगिन् । एसपी रानाले मुद्धाफाँटलाई तुरुन्त फाइल अघि बढाउन निर्देशन दिए । त्यसपछि मानवअधिकार आयोगको टोली पनि पटक पटक पुग्यो । बीचमा यो अनुसन्धान अघि बढेन । अहिले वैशाखमा भने फाइल अघि बढ्यो, जाहेरी लियो र अभियोग लागेकाहरुलाई पक्राउ गरेपछि केस अघि बढेको छ ।

प्रहरी यसअघि जाहेरीमा नाम मुछिएकाहरुलाई पक्रेर संलग्न नभएको देखिएपछि छाडेको बताउँछ । तर, आमा विष्णुकुमारी हत्यारा यिनीहरु नै हुन् भनेर लाखौं पटक भन्दै हिँडेको ४ वर्ष बितिसक्यो । प्रहरीलाई नै दिक्क पार्ने गरी दिनदिनै आफूकहाँ आउँदा लिखित किटानी जाहेरी दर्ताका लागि प्रहरीले किन सघाएन ? शान्ति सुरक्षा, अमन चयनका लागि जागिर खाएका उनीहरुले उल्टै दुर्वचन र दुव्र्यवहार किन गरे ? यसको जवाफ ति दुव्र्यवहार गर्ने प्रहरीसँग नै सायद छैन ।

अब त हत्याराले उन्मुक्ति नपाउला नि ?

सूर्य पाण्डेको हत्या सम्बन्धमा चार वर्षपछि मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु ग¥यो । यही वैशाख १३ गते शुक्रबार मात्रै किटानी जाहेरी दर्ता भयो । मुद्धा फाँटका इन्स्पेक्टर गणेश सुवेदीका अनुसार ४ वर्षअघि पोखरा ९ नयाँबजार तुलसीघाटमा मृत अवस्थामा फेला परेका पाण्डेको हत्याको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्ध श्रेष्ठ, उनका साथी सोहि ठाउँ बस्ने ध्रुब मानन्धर र ध्रुबका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको हो । उनीहरु आइतबार बेलुका पक्राउ परेका हुन् । तीनै जनालाई सोमबार म्याद थप गरेर कास्की प्रहरीको हिरासत कक्षमा राखेर अनुसन्धान अगाडि बढाइएको छ । प्रहरी निरीक्षक सुवेदीले अनुसन्धान चलिरहेकाले यस विषयमा थप भन्न नमिल्ने तर अब दुई तीन दिनमै यसको टुंगो लाग्ने बताए ।

श्रोतका अनुसार रामचन्द्र मानन्धरले केरकारको क्रममा घुमाउरो पारामा हत्या स्विकारेका छन् । तर, नियोजित नभई झगडा भएको र हिँड्दा भिरबाट लडेको भनेका छन् । (यसबारे समाचार केहिबेरमा प्रकाशित हुँदैछ) उनको यही बयानबाट प्रहरी हत्या भएको निष्कर्शमा पुगेको र यसमा एक जनामात्र संलग्न नभएकाले अझै गहिरोमा अनुसन्धान भइरहेको बताउँछ ।

आमा विष्णुकुमारीले किटानी जाहेरी दिएका अभियुक्तहरु नै हत्यामा संलग्न हुन् ? कास्की प्रहरी प्रमुख ओम राना यसबारे खुलेनन् । तर नकारेनन् पनि । एसपी रानाले भने – ‘दुई तीन दिनमा हामी सार्वजनिक गर्छौं । अनुसन्धान नै टुंगिएको छैन ।’

घटना विवरण

कास्की साविक सिल्दुजुरे ५ का सूर्य पाण्डे आमा विष्णुकुमारी पाण्डे सहित पोखरा नयाँबजार बस्थे । २५ वर्षीय पाण्डे मोटरसाइकल मर्मत गर्ने वर्कशपमा काम गर्थे । २०७१ फागुन ५ गते शिवरात्रीको दिन । त्यसदिन आमा विष्णुकुमारी पोखरा थिईनन् । गाउँको घर गएकी थिईन् ।

शिवरात्रीको दिन बिदा भएकाले सूर्य साथीहरुसँग शिवरात्री मनाउन भन्दै कोठाबाट निस्के । तर, सूर्य त्यसपछि कोठा फर्किएनन् । भोलिपल्ट फागुन ६ गते ‘एक जनाको लास सेती नदी किनारमा भेटिएको छ’ भन्ने खबर फैलियो । नयाँ बजार राम मन्दिर पछाडि सेती नदी पुलमुनि तुलसीघाटमा भेटिएको शव सूर्यको थियो । अनुहारमा जताततै चोटैचोट थियो ।

सूर्यको परिवारले जिल्ला प्रहरी कार्यालय, कास्कीमा किटानी जाहेरी दियो । माइला भनिने बुद्ध श्रेष्ठ र उनकै साथी ध्रुब मानन्धरलाई सोधपुद्धका लागि बोलाइयो । विष्णुकुमारीले बुद्धसँग त्यसदिन झगडा परेकाले बुद्ध र ध्रुबले नै मारेको हो भनेर किटानी जाहेरी दिएकी थिईन् । तर जिल्ला प्रहरीमात्र होइन, पछि क्षेत्रीय प्रहरीको अनुसन्धानमा समेत दुई जना घटनामा संलग्न नरहेको भनियो । त्यसो भए संलग्न को त ? यसतर्फ गहिरो अनुसन्धान नै गरिएन । हालका डिआईजी, तत्कालिन एसपी हरिबहादुर पाल घटनाको एक हप्ता अघि मात्रै जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न आएका थिए । आफू बसुन्जेल १ वर्षसम्म गहिरो अनुसन्धान नै हुन सकेन । त्यसपछि घनश्याम अर्याल झण्डै २ वर्ष बस्दा समेत फाइल पल्टाएनन् । अशोक सिंहले पनि आफू अघिको फाइल पल्टाएनन् । ओम राना भने अन्तिम घडीमा राम्रो काम गरेको जस समेत मिल्ने, जुनियर अधिकृतहरुको राम्रो साथ मिलेकाले जाँगर चलाए ।

शव फेला परेको ठाँउबाट नजिकै अस्थायी प्रहरी बिट हुँदा पनि प्रहरी अनविज्ञ भएपछि अझै शंका उब्जेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका तत्कालिन प्रवक्ता तथा डिएसपी केदार रजौरेको सक्रियता राम्रो थियो । तर, उनी पनि गहिरो रुपमा जान सकेनन् । त्यो बेला पोष्टमार्टम रिपोर्टमा (कज् अफ डेथ) मृत्यु हुनुको कारण बजारिएर भएको लेखिएको छ । भिरबाट खसेको भएकाले स्वभाविक पनि छ । परिवारले भने भिरबाट धकेलिदिएको बताउँदै आए ।

राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका निमित्त निर्देशक नितु गर्तौला, इन्सेक पोखरा कार्यालय संयोजक शिव खकुरेल, इन्सेक पोखरा कार्यालयका प्रलेख अधिकृत सुमित्रा भट्टराई लगायत यस केसलाई अघि बढाउन सक्रिय हुँदै आए ।

एउटी बृद्धा आमाले चार चार वर्षदेखि भोकभोकै बलिन्द्र आँशुको धारा चुहाउँदै हिँडिरहेकी छिन् । उनले चार वर्षदेखि लिएका नामहरु नै अहिले हत्यामा संलग्न भएको स्विकार गरेर प्रहरीले सार्वजनिक गर्ने दिन आएमा कास्की प्रहरीले चार वर्षसम्म किन यस्तो ग¥यो ? तत्कालिन प्रमुखहरु हालका डिआईजी हरिबहादुर पाल, घनश्याम अर्याल, अशोक सिंहहरुलाई केले रोक्यो ? अन्तिम अवस्थामा केस अघि बढाउन सक्ने ओम राना सुरुमा नै यस घटनामा जिम्मेवार तबरले लाग्ने छनक दिए पनि बीचमा किन सुस्ताए ? यसको जवाफ उनै प्रहरीसँग होला । नागरिकले प्रश्न उठाउन मज्जैले सक्छन् । तर एसपी रानाले अघि बढाएको यो अनुसन्धान कहाँसम्म पुग्छ ? अब आउने प्रमुखले के गर्छन्, त्यो भने आगामी दिनले नै बताउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै