खाजा घर चलाएर आफ्नै घर यौनक्रीडास्थल बनाएपछि…

खाजा घर चलाएर आफ्नै घर यौनक्रीडास्थल बनाएपछि…

During X

पोखरामा खाजा पसल चलाएर आफ्नै घरमा यौनधन्दा गर्ने दम्पतीलाई प्रहरीले पक्राउ ग¥यो । तर प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा उनीहरु हिरासत बस्नु नपर्ने गरी हाजिर जमानतमै रिहा भएका छन् । वडा प्रहरी कार्यालय बगरमा एक साता हिरासतमा रहेका प्रदीप कानुङ मगर र नानुमाया मगर सहित दुई युवती र एक युवक छुटेका हुन् ।

सार्वजनिक अपराध मुद्दामा प्रक्रिया अघि बढ्दै गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले म्याद थप नगरेका हुन् । एक जनाको मात्र बयान लिने काम सकिएको थियो । प्रजिअ अधिकारीले भने सात दिनभन्दा राख्न नमिल्ने जिकिर गरे । मुद्दा किनारा नलागेसम्म म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।

कात्तिक ८ गते दिउँसो पक्राउ परेका उनीहरुलाई वडा प्रहरी कार्यालय बगरले कात्तिक १५ गते घर फर्काएको छ । यो केस मिलाउन प्रहरी अधिकारीसमक्ष पाँच लाख रुपैयाँसम्मको ‘अफर’ गरिएको उच्च स्रोतले बतायो । ती प्रहरी अधिकारी असहमत भएपछि पक्राउ परेका पक्षबाट पैसा खुवाएर छुटाउने योजना विफल भएको स्रोतको दाबी छ । कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले आफू मातहतका प्रहरी अधिकृतलाई कसैको कुरा नसुनी कानुनासार अघि बढ्न गरेको निर्देशन र प्रहरी अधिकारी समेत पैसा लिन नमानेपछि पक्राउ परेका सबै पाँच जना बुधबार साँझसम्म हिरासतमै थिए ।

पक्राउ परेको सात दिन पुगेकाले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय पुग्दा मिसिलमा प्रजिअ अधिकारीले ‘हाजिर जमानीमा छाड्नु’ भन्ने तोक लगाए । सोही आदेशानुसार सरकारी वकिल कार्यालयसम्म पुगेर अनुसन्धान प्रक्रिया चलिरहेको यो मुद्दामा पक्राउ परेकाहरु हिरासत बस्नुपरेन ।

घटना विवरणः

प्रदीप र नानुमायाको खाजा पसल पोखराको नालाको मुख भन्ने ठाउँमा छ । यसअघि फ्रेस हाउस सञ्चालन गर्ने उनीहरुले यो खाजाघर चलाउन थालेको तीन वर्ष मात्र पुग्यो । उनीहरुले आफ्नो सम्पर्कमा केही यौन व्यवसायी युवतीहरु राखेका थिए । ट्याक्सी चालक, होटलका कामदार लगायतसँग सम्पर्कमा रहेर कम्तीमा दुई जना सहित आवश्यक परे जति पनि युवती उपलब्ध गराउने गरी उनीहरुले यौन धन्दा गरेको खुलेको प्रहरी बताउँछ ।

नवलपरासी रुचाङ ३ घर भएका २६ वर्षीय प्रदीप र ३५ वर्षीया नानुमायाको पोखरा २ कसाइटोलमा घर छ । आरती शाहीको घर किन्न बैना तिरिसकेका छन् । घरको तल्लो तलामा पार्लर पसल छ । तेस्रो तल्लाका कोठाहरुलाई उनीहरुले यौनक्रीडास्थल बनाएका छन्। नयाँ नयाँ युवक युवती आउने भएपछि छिमेकीहरु समेत आजित भएको नाम नबताउने शर्तमा एक छिमेकी बताउँछन् । ‘भारतीयहरु समेत आएर यहाँ टोलका साना भाइहरुलाई अड्डा भएको घर कुन हो ? भनेर समेत सोधेको हामी सुन्थ्यौं । यहाँ बस्नै नसकिने भएको थियो’–एक छिमेकीले भने ।

खाजा पसलमा ग्राहकसँग मोलमोलाई गरेपछि घरसम्म पुग्ने वातावरण प्रदीपले तयार पार्थे । नानुमाया खाजा पसलमा बस्थिन् । नानुमायाका १२ वर्ष र १० वर्षका छोरी र छोरा पनि छन् । अरुले होटलमा व्यवसाय सञ्चालन गर्ने गर्दा उनीहरुले भने आफ्नै घरलाई यौन व्यवसायको थलो बनाए ।

कास्की प्रहरीको वेश्यावृत्ति रोक्ने अभियान र छिमेकीहरुको सूचनापछि वडा प्रहरी कार्यालय बगरले सो क्षेत्रमा निगरानी राखेको थियो । कात्तिक ८ गते दिउँसो ३ बजे दुई महिला र एक पुरुषलाई रंगेहात पक्राउ ग¥यो । कामी र गुरुङ थरकी युवती र प्रकाश तेली शाह पक्राउ परे । एक पुरुष भागे । कोठाबाट प्रयोग भएको कण्डम सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको सिभिल सहितको टोलीले पक्रेर वडा कार्यालय बगर पु¥याइयो ।

कानुनी प्रावधानः

पाँच जना पक्राउ परेपछि सार्वजनिक अपराध मुद्दा अघि बढ्यो । युवती आफै यौन व्यवसायमा संलग्न भएकाले यस प्रकृतिका घटनामा शरीर बन्धक, बलात्कार, वेश्यावृत्ति तथा मानव बेचविखन शीर्षक आकर्षित हुन्न । कसैले जाहेरी नगरेको अवस्थामा प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा अघि बढाउने गर्दछ । सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरी समाज हितविपरीत कार्य गरेको भनी सार्वजनिक मुद्दा अघि बढ्छ ।

सार्वजनिक मुद्दा कसरी अघि बढ्छ त ? सरकारी वकिल गंगाप्रसाद पौडेल भन्छन्–‘प्रहरीमा मुद्दा दर्ता हुन्छ । मान्छे पक्राउ परेको खण्डमा सिडिओ कार्यालयबाट म्याद थप हुन्छ । बयान हुन्छ । अनुसन्धान प्रक्रिया प्रहरीले सबै पूरा गर्छ । सबै अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुन्छ । अनुसन्धान बाँकी रहेको खण्डमा पुनः म्याद थप्दै प्रहरीले अनुसन्धान जारी राख्छ । सबै ठीक रहेको खण्डमा अभियोगपत्र तयार गर्छौं । अभियोगपत्र सिडिओ अफिसमा जान्छ । सिडिओबाट पटक पटक गरी २५ दिनसम्म म्याद थप्न सक्छ । यसबीचमा अभियोगपत्र तयार भईसक्नुपर्छ । प्रक्रिया यो हो । अन्य विषयमा अरु म बोल्न चाहन्नँ ।’

यस सार्वजनिक अपराधअन्तर्गत बढीमा २५ हजारसम्म जरिवाना अथवा एक वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सात दिनभन्दा म्याद थप्नै मिल्दैनः सिडिओ

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले यस प्रकृतिको घटनामा आफूले सात दिनभन्दा बढी म्याद थप्ने अधिकार नै नरहेको प्रतिक्रिया दिए । पहिलो पटक सम्पर्क गर्दा कानुनी प्रक्रियाबारे वकिललाई बुझ्न आग्रह गरेका अधिकारी फेरि आफै सम्पर्कमा आएका थिए ।

‘वेश्यावृत्तिलाई सार्वजनिक केस लगाउने गरिन्छ । सार्वजनिक ठाउँमा अश्लीलता फैलाएको भन्ने बुझिन्छ । यस केसमा सात दिनभन्दा बढी थुनामा राख्न पाइँदैन । उनीहरु आठ दिन थुनामा बसिसकेछन्’–उनले भने–‘मदिरा खाएर हिँड्ने तर झगडा नगर्ने कसैलाई केही बिगार्दैन भने सात दिनभन्दा बढी थुनामा राख्न मिल्दैन । त्यसपछि धरौटी र तारेखमा रहन्छन् । प्रहरीले सय जना समात्यो भने २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष लान्छ । सबैलाई म्याद थप हुँदैन ।’

‘सात दिनभन्दा बढी थुनामा राख्न नपाउने हो भने किन २५ दिन ?’ भन्ने प्रश्नमा उनले भने–‘त्यसका लागि मैले नै जिल्ला अदालतबाट अनुमति लिनुपर्छ । कोही होहल्ला गरेको पुष्टि गर्न सात दिन लाग्छ ? कुटपिट, घाउ हो भने डाक्टरी रिपोर्ट आउन बढी दिन लाग्ला । हातहतियार हो भने चार पाँच महिना पनि लाग्ला । सार्वजनिक केस सात दिनसम्म अनुसन्धान टुंगिन्न त ? त्यत्रो समय लाग्छ ?’

‘प्रहरीले सात दिनभित्र अनुसन्धान नगरेका कारण विषयको गाम्भीर्यता नबुझी छाडिदिनुभएको ?’ भन्ने प्रश्नमा उनी झोक्किए–‘यदि बढी राख्न परे जिल्ला अदालतमा सादग जाहेर गरी अनुमति लिनुपर्छ । हाजिर जमानीमा छाडेको हुँ ।’

सानो विषयमा म्याद थप गरिदिने सिडिओले छिमेकीलाई नै असर पर्ने गरी घरमै यौन व्यवसाय चलाएकालाई पक्राउ गर्दा किन छुटायो ? भन्नेमा सबै अचम्मित परेको श्रोतको भनाइ छ । अनुसन्धान प्रक्रियामै रहेको र कामी थरकी युवतीको मात्र वयान सकिएको थियो ।

बोल्न चाहँदैन प्रहरी

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह र वडा प्रहरी कार्यालय बगरका प्रमुख ईन्स्पेक्टर किशोर लम्साल भने यस विषयमा खुलेर बोलेनन् । एसपी सिंहले आफ्नो अधिकारको क्षेत्रमा मात्र आफूले काम गर्न सक्ने बताए ।

उनले भने–‘मैले मेरो कार्यकालमा रहने योजना बुँदागत रुपमा नै सार्वजनिक गरिसकेको छु । योजना अनुसार प्राथमिकताका साथ वेश्यावृत्ति अन्त्य गर्न लागिपरेको छु । हामीले हाम्रो काम गरेका छौं । मातहतका प्रहरी अधिकारीलाई पनि सोही अनुसार अघि बढ्न भनेको छु । कानुन पालना गर्ने गराउने भएकाले आदेश पालना गर्नैपर्छ ।’ यसअघि, बगर प्रहरी प्रमुख लम्सालले कास्की प्रहरी प्रमुखसँग नै बुझ्न अनुरोध गरे ।

केही वर्ष अघिसम्म पोखरा बागलुङ बसपार्क भन्नेबित्तिकै अघोषित ‘रेडलाईट एरिया’ का रुपमा चिनिन्थ्यो । पोखरा घुम्न आउने युवा आफ्ना पोखरेली साथीलाई ‘बाग्लुङ बसपार्क कता हो ?’ भनेर जिस्क्याउथेँ । तत्कालीन जिल्ला प्रहरी प्रमुख वसन्तकुमार लामाले कास्कीमा रहँदा यौन व्यवसाय गर्नेलाई तितरबितर पारे । तर अझै पनि लेकसाइडका होटलमा जोडीले केही घण्टा कोठा लिएर अथवा हाइप्रोफाईल यौन व्यवसायी र ग्राहकबीचको यौनक्रीडामा भने प्रहरी डिस्टर्व हुँदैन ।

पोखराका विभिन्न स्थानमा फरक शैलीमा यौनधन्दा सञ्चालन हुन्छन् । यसैको उदाहरण हो, नालाकोमुखमा खाजा पसल चलाएर घरलाई नै यौनक्रीडाको अखडा बनाएको यो घटना पनि । पेसेवर युवतीहरू पोखराका अन्य ठाउँमा गएर कारोबार गरिरहेका छन् । अहिले डेरा र फ्ल्याट लिएर यौन व्यवसाय चलिरहेको पाइन्छ । यसतर्फ पनि केन्द्रित रहेको कास्की प्रहरी बताउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै