पाँच लाख नजुट्दा ३२ लाखको अमेरिकी छात्रवृत्ति गुम्ने पिर

सहयोगको खाँचो

पाँच लाख नजुट्दा ३२ लाखको अमेरिकी छात्रवृत्ति गुम्ने पिर

प्रतिभावान् दृष्टिविहीन जय लामिछानेलाई आर्थिक सहयोगको खाँचो

jaya lamichhane (2)
Worldlink

रञ्जन अधिकारी, पोखरा, ५ कार्तिक । चार वर्ष अघि पोखरातर्फ हानिँदा चितवनका जयराम लामिछानेको एउटै उद्देश्य थियो – एसएसलीमा उत्कृष्ट अंक ल्याउने, राम्रो पढेर आँखा नदेख्ने छोरो भनेर पिरोलिने बुबाआमालाई राम्ररी पाल्ने । उनले खुबै मेहनत गरे । उस्तै मिठो उपलब्धि पनि हाँसिल भयो । तर उद्देश्य यत्तिमै सीमित रहेन । कडा मेहनतपछि प्राप्त उपलब्धिले अवसरहरुको ढोका मज्जैले खुले । जयरामको लक्ष्यको बाटो भरतपुर, पोखरा पछि काठमाण्डौं हुँदै अमेरिकातर्फ अघि बढेको छ । तर केहि आर्थिक जोहो गर्ने सामर्थ्य नहुँदा पाएको अवसर पनि गुम्ने हो कि भन्ने चिन्ताले पिरोलेको छ ।

भरतपुर–११ का २१ वर्षीय जयराम पूर्ण दृष्टिविहीन हुन् । शारीरिक दृष्टि नरहेपनि ज्ञानको दृष्टि तेज भएपछि जयरामले कक्षाका अन्य सबलाङ्ग प्रतिष्पर्धीलाई जहिल्यै पछाडि पारे । पहिलो नम्बर सधैं आफैं कब्जामा पारे । २०७० को एसएलसीमा अमरसिंह नमूना उच्च माविबाट ८१.८७ प्रतिशत अंकका साथ विशिष्ट श्रेणीमा उत्तीर्ण भए ।

जयराम परिवारमा एक्लो छोरो हुन्। एउटा आँखा धमिलो देख्ने उनको आठ वर्षकै उमेरमा लुकामारी खेल्दा त्यही पनि गुम्यो । एउटै छोरो पनि आँखा देख्दैन भनेर बुबाआमाप्रति तेर्सिएको शब्द वाणले घोच्यो । त्यसपछि मात्रै अक्षराम्भ गरेका उनी कक्षा आठसम्म भरतपुरमै पढेपछि ९ र १० कक्षा पढ्न पोखरा आएका हुन् । एसएलसीमा डिस्टिङ्कसन ल्याएपछि काठमाण्डौं पुगे । जयरामले गोल्डेनगेट ईन्टरनेशनल कलेजबाट ट्राभल एन्ड टुरिजम विषयमा प्रवेश परीक्षा दिए । पूर्ण छात्रवृत्तिमा त्यहाँ पढ्न कम्ता पापड बेल्नुपरेको थिएन ।  उनले सबलाङ्ग विद्यार्थीलाई समेत पछि पारेर एक नम्बरमा नाम निकाले र ७० प्रतिशतकासाथ १२ कक्षा उत्तीर्ण गरे । नेपालमा टुरिजम म्यानेजमेन्ट पढ्ने आफू पहिलो दृष्टिविहीन विद्यार्थी रहेको उनी हाक्काहाक्की सुनाउँछन् ।

उनले पुरानो आईफोन बोक्छन् । विदेशी नागरिकले सजिलो हुन्छ भन्दै उपहार छाडेको त्यही फोनले उनलाई अमेरिकाको छात्रवृत्तिका लागि योग्य बनाउनसम्म सहयोग पुर्‍यायो । ‘मैले कोलोराडो सेन्टर फर द ब्लाइन्डबाट स्कलरशीपको व्यवस्था हुन्छ भन्ने थाहा भएपछि यही मोबाइलबाटै अनलाईनमार्फत आवेदन दिएको थिएँ । अन्त्यमा म एक्लो छनौट हुन सकेँ । यही मोबाइलले जुटाएको अवसर हो यो ।’ हर्षित हुँदै  भने ।

अमेरिकी संस्था कोलोराडो सेन्टर फर द ब्लाइन्डले वर्षेनी एक जना दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ । जसले विश्वविद्यालयमा भर्ना योग्य बनाउन आवश्यक तालिम प्रदान गर्ने गर्छ । जसका लागि विश्वभरका दृष्टिविहीनले आवदेन दिन सक्नेछन् । जयरामले सन् २०१७ का लागि त्यो सुविधा हात पारे । यही अगष्ट १६ मा भिसाका लागि सहमतिको आधिकारिक पत्र आई ट्वेण्टी समेत आइसकेको उनले जानकारी दिए । छात्रवृत्तिअनुसार उनले त्यस संस्थामा आठ महिना इन्डिपेन्डेन्ट ट्रेनिङ लिनेछन् र त्यसपछि संस्थाले अध्ययनका लागि विश्वविद्यालयमा सिफारिस गर्नेछ । लामिछानेले सो संस्थाबाट ३१ हजार २०० अमेरिकी डलरको छात्रवृत्ति पाएका छन् । उनी पाँच मार्च २०१७ मा इन्स्टिच्युट पुगिसक्नु पर्नेछ भने २ डिसेम्बरभित्र दुई हजार चार सय डलर पर्सनल फण्ड र अमेरिका जान चाहिने टिकट खर्च जुटाउनुपर्ने बाध्यता छ ।

पहिलो दृष्टिविहीन सगरमाथा आरोही एरिक वाइनमेयर उनका आदर्श पात्र हुन् । ‘एरिकले सगरमाथा चढे, मैले पनि अहिलेसम्म जिन्दगीका खुड्किला सफलतापूर्वक चढिरहेको छु । अब टेको लगाउने लौरोको आवश्यकता भो ।’ उनले थपे– ‘पाँच लाख रुपैयाँको जुगाड गर्न नसक्दा ३१ हजार दुई सय अमेरिकी डलर बराबरको छात्रवृत्ति गुम्यो भने म आफै के गर्छु, कता हिँड्छु पत्तो छैन ।’

अस्पतालमा मजदुरी गर्ने बुबाको हातका चार औंला जेनेरेटरले चुडाइदियो । आमा दमकी बिरामी । एउटी दिदीको बिहेबारी भइसक्यो । घरमा बेचिखाने जायजेथा छैन । उनी कोलोराडो सेन्टर फर द ब्लाइन्डले पठाएको आइ–ट्वान्टी र अन्य  कागजात बोकर सरकारी तथा गैरसरकारी संघ–संस्थाको ढोका चाहार्दा चाहार्दै वाक्क भए । सिंहदरबारदेखि विभिन्न सञ्चारमाध्यम पुग्दा केहि भएन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगे । दृष्टिविहीनको कुरा सुनिएन । त्यसपछि नाम चलेका पत्रकार खोज्दै विभिन्न सञ्चारमाध्यम चाहारे । एउटा अनलाइन बाहेक अरुले ठाउँ नदिएपछि गृहस्थान चितवनका संघसंस्था गुहारे । जम्मा १३ सय हात परेपछि उनले पोखरा नै सम्झे र सहयोगका लागि पोखरेलीमाझ अपिल गर्न यहाँ आए । अर्की दृष्टिविहीन साथी अनुजा गौतमले पनि उनको लागि सक्दो सहयोगको पहल गरिरहेकी छन् । सौगात वाग्लेले जयलाई लिएर मिडियासम्म पुर्‍याउन सहयोग गरिरहेका छन् ।

उनलाई अमेरिका जाने बाध्यता किन पनि छ भने टुरिज्म एण्ड ट्राभल पढेका उनका लागि नेपालमा अब आगामी शिक्षाका लागि पुस्तक नै छैन । ‘पुस्तक नै नभएपछि पढाई के होला ? यहाँ दृष्टिविहीनहरु अरु सामान्य मान्छे जस्तै परीक्षा दिनुपर्ने अवस्था छ । हाम्रा लागि केहि छैन ।’ उनले भने– ‘अपागंता भएकालाई अवसर दिइयो भने, केही गर्न सक्छन् भन्ने कुराको पुष्टि गर्न म तयार छ । अध्ययनपछि नेपाल फर्केर तपाईंहरुकै अगाडि केही गरेर देखाउने प्रतिबद्धता जनाउँछु ।’

एउटा निम्न आय भएको घरका दृष्टिविहीनका लागि सहयोग मिल्नेमा ढुक्क हुँदै उनले कुरा टुंग्याए – ‘सहयोगका लागि ९८०२०५२०९९ वा नबिल बैंक चितवन भरतपुर शाखा खाता नम्बर २४१००१७५१०३६३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।