फेरिँदै ‘रूपाको रूप’

RUPA LAKE

फेरिँदै ‘रूपाको रूप’

Rupa

लेखनाथ:    अबको तीन वर्षमा रूपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ ।  लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत् उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ ।

यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ ।

विभागमा महानिर्देशक  महानिर्देशक ई. मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रूपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए । उनले भने, “ पर्यावरणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत् उत्पादनका दृष्टिकोणले काम भइराखेको छ ।”

अहिले जारी काम सम्पन्न भएसँगै दिनमा पटकपटक रूप फेरिनै भएका कारण रूपाताल नामकरण गरिएको रूपातालको समग्र रूप नै फेरिने लागेको छ ।

सात तालको बगैँचा सिमसार सूचीमा सूचीकृत तालहरू मध्येको एक रूपातालको संरक्षण र विकासका लागि रूपाताल संरक्षण एकीकृत विकास परियोजनाको सफलतासँगै यसको समग्र रूप फेरिने अवस्थामा पुगेको हो । यसअघि रूपाताल संरक्षण एकीकृत विकास परियोजना नाममा रहेको यो परियोजना अहिले भने सिँचाइ तथा जलस्रोत व्यस्थापन आयोजना अन्तर्गत छ ।

रूपाकोट, हंसपुरको सिरान र माझठाना-९ साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेपछि गुरुयोजनासहित संरक्षणका कामहरू थालिएको हो ।

योजनाका लागि विस्तृत योजना प्रतिवेदन तयार गरी त्यस अनुरूप काम निरन्तर अघि बढिरहेको जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुुसार परियोजना सम्पन्न भएसँगै रूपा तालको स्वरूप नै परिवर्तन हुने छ । २०७५-०७६ देखि काम थालिएको थियो । चरणबद्ध अघि बढ्ने आयोजनाको  चार अर्ब ५२ करोड लागत रहेकामा हालसम्म दुई अर्ब ७० करोडको काम गरिएको छ । स्वीकृत गुरुयोजना अनुुसार यो आयोजना २०८५-०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कुल १२२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हालको निर्माणाधीन बाँध सम्पन्न भएसँगै क्षेत्रफल बढेर १८३ हेक्टर क्षेत्रफल हुने छ । परियोजना अन्तर्गत बाँध निर्माण ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ । बाँध निर्माणका लागि कुल २९ करोडको ठेक्का सम्झौता भएकोमा कालिका नयाँ बाटो जेभिले निर्माण गरिरहेको छ ।

बाँध निर्माण कार्य २०८३ भदौ २३ सम्म सक्ने समयावधि निर्धारण गरिएको छ । निर्माण सम्झौता अनुसार तालमा ५९० मिटर माटाको बाँध रहने छ भने ४५ मिटर कङ्क्रिट बाँध रहने छ । बाँध निर्माणको काम ७० प्रतिशत सकिएको आयोजना प्रमुले श्रेष्ठले जानकारी दिए । बाँध निर्माण कार्य सकिएसँगै हाल रहेको तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर हुने छ । यस आयोजना अन्तर्गत रूपातालको बायाँतर्फ ७।८ किलोमिटर पक्की सडक गत आर्थिक वर्षमा नै सम्पन्न भइसकेको छ ।

त्यस्तै परियोजना अन्तर्गत नै हालको लम्बाइ दुई किलोमिटर रहेको ताल फैलिएर ३।६ किलोमिटर हुने छ । तालमा रहेको आठ लाख घनमिटर माटो निकालेर त्यसलाई व्यवस्थित गर्नै काम भइरहेको छ । यसका लागि ४० करोड विनियोजन भई काम भइरहेको र सम्झौता अनुसार आगामी फागुन २० सम्म सक्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य उमा एन्ड कम्पनीमार्फत भइरहेको छ ।

आयोजना अन्तर्गत नै तालको बिचमा टापु बनाएर त्यहाँ मन्दिर बनाउने योजना छ । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइमा रहने उक्त टापुमा आकर्षक मन्दिर बनाउन लागिएको हो । त्यस्तै तालको दायाँ किनारामा पाँच किलोमिटर दूरीको इको ट्रेल निर्माण गरिने छ ।

बाँकी काम गर्नका लागि ३१७ रुख काट्नुपर्ने छ । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पनि भइसकेको छ । त्यस्तै भोगाधिकारका लागि एक हेक्टर जग्गा लिन बाँकी छ ।

वातावारणीय प्रभाव मूल्याङ्कन (इआइए) अनुुसार ३१७ रुख काट्न स्वीकृति भए पनि फिल्ड भेरिफिकेसन गर्दा १२८ वटा मात्रै रुख हटाउनुुपर्ने देखिएको जानकारी दिँदै श्रेष्ठले १० प्रतिशत तलमाथि भएमा पुनः पुरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकोले त्यसका लागि वनबाट स्वीकृति आउनुुपर्ने प्रावधान रहेको उहाँले जानकारी दिए।

आयोजनाकै लागि एक हजार २०० रोपनी अधिग्रहण गर्नुुपर्नेमा यसअघि ९११ रोपनी अधिग्रहण भइसकेको छ । त्यसका लागि एक अर्ब रुपियाँमा मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी थप १२६ रोपनी अधिग्रहण गर्नुपर्नेमा त्यसका लागि नयाँ दररेट कायम हुनुपर्ने भए पनि जिल्ला दररेट कायम भइनसकेको कारण उक्त कार्य पनि प्रभावित बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन गाहा 'सुशान्त'

अर्जुन गाहा 'सुशान्त'

गाहा नेपाल इस्यूका कार्यकारी सम्पादक हुन् ।