गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

सत्ता समीकरण परिवर्तन प्रभाव

गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

बहुमत गुमेसँगै सरकार कामचलाउ

surendra-raj-pandey

नेकपा (माओवादी केन्द्र) ले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रदेश सभा सचिवालयमा सरकारलाई गरेको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।

‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं, अब सरकार कामचलाउ भयो,’ उनले भने।

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्।

माओवादी समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले संघीय सरकारमा गठबन्धन परिवर्तन भएसँगै मंगलबार माओवादीका दुई मन्त्री रेशम जुग्जाली र सुशीला सिंखडालाई पदबाट हटाएका थिए।

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी गण्डकीको संसदीय दलको बैठक बुधबार बसेको थियो। बैठकबाट निर्णय गरेर समर्थन फिर्ता लिएको चुमानले बताए।

६० सदस्यीय प्रदेश सभामा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ।

गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८ सिट, राप्रपाको २ र एकीकृत समाजवादीको १ सिट छ।

माओवादीले समर्थन फिर्ता लिएसँग मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। एमाले–माओवादी गठबन्धनबाट नयाँ सरकार बनाउन राप्रपाको २ सिट चाहिन्छ। सरकारलाई समर्थन गर्नेबारे राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै