चौथो टाइगर कप उपाधि हेल्प नेपाल र एपिएफलाई

टाइगर कप राष्ट्रिय भलिबल:

चौथो टाइगर कप उपाधि हेल्प नेपाल र एपिएफलाई

महिलातर्फ विभागीय टोली एपिएफ क्लबले ह्याट्रिक उपाधि जित्दा हेल्प नेपाल पहिलोपटक च्याम्पियन

help-nepal apf

हेल्प नेपाल स्पोर्टस् क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टाइगर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार पोखरा रंगशाला परिसरमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदशेलाई ३–१ को सेटमा हरायो ।

तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले खेलमा दबाब बनाएको थियो । टोलीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१८ ले जितेको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट घरेलु टोलीले २६–२४ ले जितेको हो । चौथो सेटमा हेल्प नेपालले २५–१७ को सहज जित निकाल्दै प्रतियोगिताको ट्रफी पहिलो पटक उचालेको छ ।

जित सगै हेल्प नेपालले समूह चरणमा गण्डकीसँग भोगेको हारको बदला समेत लिएको छ । यसअघि हेल्प नेपाल र गण्डकी एउटै समूहमा रहेका थिए । समूह चरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटले पराजित गरेको थियो । समूह चरणको खेलमा हेल्प नेपाल समूह विजेता र गण्डकी उपविजेता हुनै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेका थिए ।

सेमिफाइलनमा हेल्प नेपालले श्रीलंकाको आर्मी टीमलाई ३–१ र गण्डकीले एपिएफलाई सोझो सेटमा पराजित गरेका थिए । विजेता दुवै टोलीले समान पाँच लाख ५५ हजार तथा उपविजेताले दुई लाख ५५ हजार प्राप्त गरेका छन् ।

उपाधिमा एपिएफको ह्याट्रिक

महिलातर्फको उपाधि एपिएफले जितेको छ । चौथो संस्करणसँगै महिलातर्फ एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो । एपिएफले यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । फाइनल खेलमा एपिएफले चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । दुवै टोली राष्ट्रिय खेलाडीले भरिएका थिए । एपिएफले खेल २५–२०, २५–१८ र २५–२१ ले जितेको हो । सरस्वती चौधरी, निरुता थगुन्ना चम्किएपछि एपिएफले सहज जित पाएको थियो । प्रतिभा माली, सलिना श्रेष्ठजस्ता खेलाडी टोलीमा रहेपछि न्यु डायमन्डले कमजोर प्रदर्शन गरेको थियो ।

यसअघि एपिएफ समूह ‘ए’ र डायमन्ड समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा आफ्नो स्थान बनाएका थिए । सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेट र न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेका थिए ।

एपिएफ र आर्मी तेस्रो

पुरुषतर्फ एपिएफ र महिलातर्फ आर्मीले तेस्रो स्थान हासिल गरेका छन् । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा एपिएफले श्रीलंका टिमलाई सोझो सेटमा पराजित गर्‍यो । एपिएफ २५–२३, २५–२१ र २७–२५ ले विजयी भएको हो । महिलातर्फ तेस्रो स्थानका भिडन्तमा आर्मी ३–१ ले विजयी भयो । आर्मी २५–१७, १८–२५, २५–२० र २५– १९ ले विजयी भएको हो । तेस्रो हुने दुवै टोलीले समान एक लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।

ठगुन्ना र फकर सर्वोत्कृष्ट खेलाडी

पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना र हेल्प नेपालका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलातर्फ ठगुन्ना र पुरुषतर्फ फरक उत्कृष्ट घोषित भएका हुन् ।

दुवै टिमले टाइगर कप जितेका छन् । फकर पाकिस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीसहित जनही २५ हजार ५ सय ५५ नगद पाएका छन् ।

महिला तर्फको उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटर एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यु डायमन्डकी बाल्मिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का र उत्कृष्ट डिफेन्डरमा न्यु डायमन्डकी सलिना श्रेष्ठ घोषित भए ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा हेल्प नेपालका मजहर अली, उत्कृष्ट सटर मोहम्मद काशिफ, उत्कृष्ट सर्भर गण्डकीका हिमाल सुनारी, उत्कृष्ट ब्लकरमा गण्डकीकै रामास्वामी आङ्गामुथु, उत्कृष्ट डिफेन्डर गण्डकीकै दीपक थापा घोषित भए । पुरुषतर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका र महिलातर्फ एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

सबैलाई जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजक टाइगर क्लब पोखराले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै