कुशल र दीपेन्द्रको विश्व कीर्तिमान: सर्वाधिक छिटो शतक र अर्धशतक

विश्व कीर्तिमान

कुशल र दीपेन्द्रको विश्व कीर्तिमान: सर्वाधिक छिटो शतक र अर्धशतक

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी फराकिलो जित

kushal dipendra

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानी जित हासिल गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको हो ।  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो ।

टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । त्यो पनि विश्व कीर्तिमान थियो । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो ।

मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए ।मंगोलियाका एक ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन जोड्न सके ।

कुशल र दीपेन्द्रको विश्व कीर्तिमान : सर्वाधिक छिटो शतक र अर्धशतक

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका दुई ब्याट्सम्यानले गौरवपूर्ण इतिहास बनाएका छन् । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा शतक र अर्धशतक पुरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।

कुशलले ३४ बलमा शतक पुरा गरेका थिए । यसअघि ३५ बलसम्म टी-२० अन्तर्राष्ट्रिय शतक बनाएको इतिहास थियो । यस्तै दीपेन्द्रले ९ बलमै अर्धशतक पुरा गरे ।

दीपेन्द्रले आफूले सामना गरेका लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन्। भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन। उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै