एनएमबी बैंककाे सहकार्यमा चिनियाँ डिजिटल वालेट ‘वीच्याट पे’ नेपाली बजारमा प्रवेश

एनएमबी बैंककाे सहकार्यमा चिनियाँ डिजिटल वालेट ‘वीच्याट पे’ नेपाली बजारमा प्रवेश

NMB wechat payt (1)

पाेखरा । छिमेकी राष्ट्र चीनमा सर्वाधिक लोकप्रिय डिजिटल वालेट वीच्याट पे (WeChat Pay) आधिकारिक रूपमा पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको छ । नेपालको एनएमबी बैंकसँग सहकार्य गरी वी च्याट पे नेपाल प्रवेश गरेको हो। उक्त सहकार्यले नेपालमा अब चिनियाँ नागरिकले क्युआर कोडमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन्।

वी च्याट पेको औपचारिक घोषणा बिहीवार पोखरामा एक कार्यक्रमका बीच गरिएको हो । घोषणा कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, एनएमबी बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत नेपाली र चिनियाँ अधिकारीहरूको उपस्थिति थियो ।

उक्त उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि चिनियाँ राजदूत चेन सोङले वी च्याट पे कोडमार्फत कारोबार गर्न सहजता पुग्ने विश्वास व्यक्त गरे । यसले नेपाल र चीनबीचको सम्बन्धमा समेत सकारात्मक प्रभाव पर्ने उनको दाबी थियो । साथै, उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याटमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रूपमा बैंकिङ प्रणालीमा आउने समेत बताए ।

पोखरा महानगरका मेयर धनराज आचार्यले वी च्याट पे सार्वजनिक भएपछि चिनियाँ पर्यटकले नेपालमा नोट सटहीको झन्झटबाट मुक्ति पाएको बताए। ‘चीनबाट आउनुभएका पर्यटकले नोट साटेर ल्याएको पैसा सकियो भन्नुपर्ने अवस्था अब छैन,’ उनले भने, ‘अनलाइनमार्फत भुक्तानी गर्न पाउने भएपछि सटहीको झन्झट पनि सकियो।’

एनएमबिले ‘वि च्याट पे’ सेवा विस्तार गरेसँगै नेपाल-चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । यस्तै, सेवा विस्तारसँगै तथ्यांक सुरक्षा चुनौती रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डको सिइओ धनञ्जय रेग्मी, एनएमबी बैंकका संचालक योगेन्द्रलाल प्रधान, बैंकका सिइओ सुनिल केसी लगायतले चिनियाँ नागरिकलाई मात्र नभएर चीनमा रहेका नेपालीलाई घर पैसा पठाउन पनि वी च्याट पेमार्फत सजिलो भएको बताएका थिए।

एनएमबी बैंकसँगको सहकार्यले नेपालमा कारोबार गर्न चिनियाँ नागरिकलाई अवसर प्रदान गरेको बैंकले जनाएको छ। एनएमबी बैंकमा खाता खोलेका ग्राहकलाई बैंकले वी च्याट पेको क्युआर कोड प्रदान गर्नेछ। जसले चिनियाँ नागरिकले सजिलै अनलाइनमार्फत सटही सुविधा पाउने बैंकले जनाएको छ।

बैंकको हाल देशभर २०१ वटा शाखा कार्यालय छन् भने १३५ वटा एटिएम र १२ वटा एक्टेन्सन काउण्टर संचालनमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै