दशैँ: के खाने, के नखाने ?

दशैँ: के खाने, के नखाने ?

Meat items

दसैंलाई ‘मासु खाने’ पर्वका रूपमा लिइन्छ। दसैं र मासु परिपूरकजस्तै भइसकेका छन् । घाँटी हेरी हाड निल्नुपर्छ भनेझैं दसैंका नाममा अत्यधिक खर्च गर्नु राम्रो हुँदैन । आफूसँग जे छ, त्यसैमा सन्तुष्ट भएर दसैं मनाउनुपर्छ । अहिले त देश–विदेशबाट आफन्तसमेत घर फर्किएका छन् ।

चिकित्सकले जिब्रोलाई नियन्त्रण गर्ने गरी खानेकुरा खान सुझाव दिएका छन् । आआफ्नो परम्पराअनुसार भुटन, मासु, झोललगायतका परिकार बनाएर खाने चलन छ । दसैंमा पाहुनालाई मासु नै पकाएर स्वागत सत्कार गर्ने चलन नै बनिसकेको छ । दसैंमा एक व्यक्तिले दैनिक आवश्यक क्यालोरीभन्दा बढी खाइरहेको हुन्छ ।

चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका लागि हानिकारक हुन्छ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । शरीरलाई पच्ने गरी खाना खानुपर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । पोषणविद् डा. उप्रेती भन्छिन्,
‘खाना खानुअघि स्न्याक्स खाने चलन छ । यसले शरीरलाई असर गर्छ । बरु अलिक बढी खाएको जस्तो लाग्यो भने एक छाक नखाँदा पनि हुन्छ । बालबालिकालाई पनि खुवाउँदा विशेष ख्याल गर्नुपर्छ ।’

घरमै बनाएका परिकार खाँदा शरीरलाई फाइदा पुग्ने भएकाले जतिसक्दो कम मसलायुक्त खाना खानुपर्ने उनले बताइन् । डा. उप्रेतीका अनुसार चिल्लो हालेको खाने कुरा कमभन्दा कम खानुपर्छ । धेरै मसला हालेको खानेकुरा खाँदा विशेषतः मुटुरोगी, युरिक एसिड भएका बिरामीलाई दीर्घकालीन असर पर्ने चिकित्सकहरू बताउँछन् ।

धेरै मसला हालेको खानेकुराहरू खानुहुँदैन । घरमै बनाएको खानेकुरा खाँदा शरीरलाई फाइदा पुग्छ । हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ । बजारबाट किनेको मासु हो भने ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पु¥याउनुपर्छ । ताजा मासु रातो देखिन्छ । बासी मासु रङ उडेको र छाम्दा गिलो हुन्छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो मानिँदैन ।

मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उपयुक्त मानिन्छ । चिकित्सकका अनुसार चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्रामसम्म खाँदा असर गर्दैन । शारीरिक श्रम गर्नेले भने ९० ग्रामसम्म खान सक्छन् । दाल, गेडागुडी, पनिर, दूध, कुरिलो, भटमासजस्ता खानेकुराबाट पनि मासुमा पाइने प्रोटिन प्राप्त गर्न सकिन्छ । क्वाँटीको झोल, पनिर, मिक्स भेज सुप, दही, केरा, चिउरा, सलाद र अन्य फलफूल खानासँगै खान सकिन्छ ।

मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानुहुँदैन । यस्तै, ड्राइफुड, फलफूल, जंकफुड पनि नखाँदा राम्रो हुन्छ । चाडपर्वमा अस्वस्थकर खसी, बोका, राँगा र भैंसीको मासुले टेनिया सोडियम, बंगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछा खाँदा एच नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा ससाना टेपवर्म जाने र त्यसले मानिसको मृत्युसमेत गराउन सक्ने चिकित्सकको भनाइ छ ।

दसैंमा मादक पदार्थ से वन सकेसम्म नगर्न डा. उप्रेतीको सुझाव छ । ‘दसैं स्वभावैले खानपानसँग जोडिएको पर्व हो,’ उनी भन्छिन् , ‘तर, दीर्घरोगीले यो पर्वमा अलि बढी ध्यान दिन जरुरी छ र स्वस्थ मानिसले पनि स्वास्थ्यको ख्याल गर्दै मसलेदार, चिल्लो तथा पिरो खानेकुरा खाँदा ध्यान पु¥याउनुपर्छ ।’

दीर्घरोगले खानपिनमा ध्यान नदिँदा चाडपर्वको बेलामा अस्पतालमा भर्ना भएर बस्नुपरेका उदाहरण थुप्रै छन् । त्यसकारण, चिकित्सकहरूले दसैंमा सबैलाई खानपिनमा विशेष ध्यान दिन आग्रह गरिरहेका हुन्छन् ।चिकित्सकका अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्या भएका बिरामीको संख्या ह्वात्तै बढ्छ । रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग त बढाइरहेकै हुन्छ भने प्रत्यक्ष सम्बन्धित जनावरमा रहेको रोगसमेत सर्ने सम्भावना उत्तिकै रहेको चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार दसैंको समयमा बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गौलामा समस्या देखिने, क्ओसटियल इन्फेक्सन, फुड पोइजनिङलगायतका समस्या देखिन्छ । मासुले स्वास्थ्यलाई फाइदा पु¥याउँछ । तर, मासु खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउँछ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ ।

मुटुरोगका चिकित्सकका अनुसार नेपालीको भान्छामा पाक्ने खाने कुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन । अझ दसैंको समयमा मुटुरोगी तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कम चिल्लो मिसिएको खाना खाँदा शरीरलाई फाइदा गर्छ । डा. पुनले भने, ‘दसैंमा चिल्लो बढी खाने चलन छ । अलिक कम चिल्लो हालेको ताजा खानेकुरा खाँदा शरीर
स्वस्थ हुन्छ ।’

मसला कम प्रयोग गर्ने

दसैंमा बनाइने परिकारमा मसलाको प्रयोग अत्याधिक हुन्छ । घरमै तयार गरिएको मसला प्रयोग गर्नु राम्रो मानिन्छ । अझ दसैंका बेला दीर्घरोगीले विशेष ध्यान दिन जरुरी छ । दसैंमा मनलाग्दी खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीमा बढी समस्या देखिन्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप र धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा यसले शरीरमा मन्द विषको काम गर्न सक्छन् ।

गुलियो र चिल्लो पदार्थको कम प्रयोग

दसैंको बेलामा अत्यधिक चिल्लो पदार्थ खाने र बढी मिठाई खाने चलन नै छ । मधुमेहका बिरामीले गुलियो र चिल्लो पदार्थ खानुहुँदैन । मुटुरोगीका लागि बढी चिल्लो पदार्थ खान निषेध नै छ । दसैं र तिहारमा सेवन गरिने परिकारमा गुलियो र चिल्लोको मात्रा धेरै हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । सेलरोटी, मिठाई, चकलेटलगायतको प्रयोग सकेसम्म सबैले कम गर्दा फाइदा हुन्छ ।

धूमपान र मद्यपान सेवन नगर्ने

दसैंको बहानामा धेरै धूमपान र मद्यपान नगर्दा नै बेस हुन्छ । धूमपानले मुटु र फोक्सोलाई हानि गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त धूमपानबाट टाढै बस्दा राम्रो हुन्छ । दसैं हो भनेर जथाभावी मद्यपान गर्दा सुगर र प्रेसरको समस्या बढ्न सक्छ । मुटुरोगीलाई पनि यसले फाइदा गर्दैन । चिकित्सकका अनुसार रक्सी सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ । जसले मुटुरोग, हृदयाघात र पक्षाघात गराउनमा विशेषभूमिका खेल्छ ।

रक्सी भनेको कार्बोहाइट्रेड हो त्यसैले शरीरको वजन बढाउन तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ । वाइन, बियर, जिन, लोकल, छ्याङ आदि रक्सीका प्रकारअन्तर्गत पर्छन् । अल्कोहोलको मात्रा मात्रै फरक–फरक हुन्छन् । दसैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ ।

चिकित्सकका टिप्स

  • धेरै मसलादार, चिल्लो र चिनीको मात्रा धेरै भएको खानेकुरा खानुहँुदैन ।
  • शरीरले पचाउने गरी खानुपर्छ । धेरै खाएको अनुभूति भएमा एक छाक छोड्दा शरीरलाई फाइदा हुन्छ ।
  • बजारिया खाने र मिठाईमा विभिन्न तेल हालेर बनाइने भएकाले होममेड खानालाई प्राथमिकता दिनुपर्छ ।
  • धमासुजन्य खाना कम गर्नुपर्छ र दुग्धजन्य परिकारको सेवनमा जोड दिनुपर्छ ।
  • खाना खाएको केही समयपछि तातोपानी सेवन गर्नुपर्छ ।
  • रातो मासु धेरैको रोजाइमा पर्छ । तर, सेतो मासुमा बढी जोड दिनुपर्छ । रातो मासुले मधुमेह, पेट तथा आन्द्रामा क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ ।
  • बिहान व्यायाम गर्नुपर्छ ।
  • घरमै बसिरहनुहुँदैन ।
  • मासुका पारखीले सकेसम्म कुखुरा र माछा खाँदा उपयुक्त हुन्छ । हरियो सागपात र फलफूललगायतका खानेकुरामा बढी ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै