अब देश नै केपी ओली नेतृत्वको नेकपाको ‘लाल किल्ला’ बन्छः राजिव पहारी

अब देश नै केपी ओली नेतृत्वको नेकपाको ‘लाल किल्ला’ बन्छः राजिव पहारी

rajib pahari

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले आगामी बैशाखमा हुने मध्यावधी निर्वाचनमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको पार्टी प्रमुख पार्टी बन्दै मलुक नै लाल किल्ला बन्ने जिकिर गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालले ललितपुरमा आयोजना गरेको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका पहारीले निर्वाचनमा जनताले अपार मतका साथ ओली नेतृत्वका नेतालाई विजयी गराउने बताए ।

माधव–प्रचण्ड टुक्रिएर गएसँगै पार्टी पूर्ण रुपमा चलायमान भएको बताए । माधव–प्रचण्ड नेकपाबाट हटेसँगै देशभरका कार्यकर्ता परिचालित भइरहेको उल्लेख गर्दै मुलुकभर प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको जनलहर चलिरहेको उनको भनाई छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकताका क्रममा प्रधानमन्त्री ओलीले करिव ४५ प्रतिशत माओवादीलाई ठूलो हृदयका साथ दिएको स्मरण गर्दै सांसद पहारीले उदार भावनालाई लत्याउँदै पुष्पकल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले केही नेता लगि पार्टीबाट टुक्रिएर गएको बताए ।

माधव–प्रचण्डमा नेता रहेको तर कार्यकर्ता नरहेकाले आगामी निर्वाचनमा जाने आँटसम्म गर्न नसकेको उल्लेख गर्दै सांसद पहारीले निर्वाचनमा सहभागीभएमा प्रचण्ड–माधवको अस्तित्व समाप्त हुने दावी गरे । त्यस्तै, प्रधानमन्त्री ओलीको पक्षमा ९० प्रतिशतभन्दा बढी जनताको साथ रहेको उल्लेख गर्दै उनले जनताको अपार माया र सद्भावले नै आगामी निर्वाचन पछि पनि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले मुलुकको विकास र समृद्धिको यात्रालाई अगाडी बढाउने बताए ।

युवा संघ आश लाग्दो, भरलाग्दो तथा डर लाग्दो संगठनको रुपमा रहेको विगतको इतिहास स्मरण गर्दै पहारीले अबका दिनमा युवा संघका नेता तथा कार्यकर्ताले विकास र सिद्धान्तलाई अक्षरस पालना गरी पार्टी र सरकारको काममा अगाडी बढ्नुपर्नेमा जोड दिए ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै