कास्की भिंडाबारीबासीले भने : ‘एन्फा एकेडेमीलाई स्वागत छ तर हामीसँगपनि सल्लाह गरियोस्’

कास्की भिंडाबारीबासीले भने : ‘एन्फा एकेडेमीलाई स्वागत छ तर हामीसँगपनि सल्लाह गरियोस्’

Bhidabari-main

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ भिंडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माण गरेकोमा स्थानियबासीले खुशी प्रकट गरेका छन् । तर, आफैले भोगचलन गर्दै आएको जग्गामा निर्माण गरिन लागेको टेक्निकल सेन्टरबारे सोधखोज र सल्लाह, सुझाव नमागेकोप्रति भने असन्तुष्टी व्यक्त गरेका छन् ।

एन्फाको आयोजनामा शुक्रबार आयोजनास्थलमा भएको ‘एन्फा टेक्निकल सेन्टरको निर्माण तथा सञ्चालनका लागि गर्न लागिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागि स्थानियले आफूहरुसँग सल्लाह नगरी आयोजना गरेकोप्रति दुःख मनाउ गरेका हुन् ।

स्थानिय एकनारायण अधिकारीले आयोजना गाउँमा आउनु गौरवको विषय भएपनि आफूहरुलाई जानकारी नै नदिनू भने आपत्तिजनक भएको बताए । आफूहरुले भोगचलन गर्दै आएको तर दर्ता छुटेका कारण लालपूर्जा नपाएको जग्गामा आयोजना बन्दापनि थाहा नदिनू अन्याय हो, ‘उनले भने, ‘जग्गादातालाई मानमर्दन नहोस् ।’ उनले आयोजनामा आफूहरुको विरोध नभएको भएपनि आयोजनामा कर्मचारी भर्ना गर्दा स्थानियलाई प्राथमिकता दिन आग्रह गरे ।

स्थानिय ढाकाराम दाहालले आफूहरुको जग्गामै आयोजना बन्दापनि आयोजक र स्थानिय सरकाले भन्दा अन्यको मुखबाट सुन्नुपर्दा दुःख लागेको बताए । यद्वपी आयोजना आएकोप्रति खुशी व्यक्त गर्दै उनले भने,‘विकास आको छ गाउँमा, यो राम्रो छ, हामीले नै यसको फाईदा नलिएपनि छोरा नातीले त लेलान् नि ।’

स्थानिय गोविन्दप्रसाद अधिकारीले आफूले भोगचलन गरेको जग्गामा एन्फा आयो भन्दा खुशी लागेको तर एक वचनपनि नसोध्दा दुःख लागेको बताए । एन्फालाई हाम्रो गाउँ र जग्गामा स्वागत छ, उनले भने,‘हाम्रो जग्गा हडपिएर हामी मर्ने नहोस्, हामीलाई पनि आयोजकले सम्झियोस् ।’

स्थानिय कृष्ण अधिकारीले स्थानिय सरकार र एन्फाले अहिलेसम्म कानमा तेल हालेर बस्दा आफूहरुको आवाज नसुनिएको बताए । तैपनि हामी जग्गा दिन तयार छौं,‘उनले भने,‘पछि हाम्रा सन्ततीले हाम्रा बाउबाजेले गरेको त्यागले गाउँमा विकास आयो भन्नेचाहिं होस् ।’ त्यो स्मरण गर्ने बाटो एन्फाले बनाईदिनुपर्ने उनको भनाई छ ।

स्थानिय वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले स्थानियको असन्तुष्टी सम्बोधन गर्न एन्फालाई आग्रह गरे । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले बडो दुःखले आयोजना आउन लागेकाले विरोध भन्दापनि सहयोग गरेर सफल बनाउनुपर्ने बताए । उनले आयोजना आउन नदिन पर्दा पछाडिबाट षडयन्त्र र चलखेल भइरहेको भन्दै त्यसलाई विफल बनाएर आयोजना ल्याएरै छाड्ने उद्घोष गरे । उनले आयोजना सञ्चालनपछि त्यसबाट स्थानियबासी भने लाभान्वित हुनुपर्ने बताए ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनबारे अध्ययन गरिरहेको पपुलर ईन्भायरोमेन्टल सर्भिस प्रालिका केशव अधिकारीले आयोजनाबारे जानकारी गराए । उनले ८३ करोडको लागतमा बन्ने एन्फा टेक्निकल सेन्टर ४ चरणमा गरेर ४ वर्षमा सम्पन्न हुने बताए । पहिलो वर्षमा १७ करोडको पूर्वाधार निर्माण हुने उनको भनाई छ । उनले डिजाईन अनुसार टेक्निकल सेन्टर बनेमा यो एसियाकै उत्कृष्ट टेक्निकल सेन्टर बन्ने दाबी गरे ।

एन्फाका उपाध्यक्ष कृष्ण थापाले एन्फा टेक्निकल सेन्टर नेपालको फुटबल र स्थानिय जनताको भविष्यसँग जोडिएको बताए । उनले स्थानियको गुनासो जायज भएकाले सम्बोधनका लागि एन्फा लाग्ने आश्वासन दिए । उनले टेक्निकल सेन्टरका लागि आवश्यक कर्मचारी भर्ना गर्दा स्थानियलाई प्राथमिकता दिन सकिने तर प्राविधिक काम र खेलाडी छनौटमा भने प्राथमिकता दिन नसकिने बताए ।

एन्फाले २५२ रोपनी क्षेत्रफलमा ८३ करोडको लागतमा एन्फा टेक्निकल सेन्टर बनाउने तयारी गरेको छ । ईदी र मर्दी खोलाको दोभानको माथिल्लो तटीय क्षेत्रमा १९ वटा पूर्वाधार निर्माण गरेर टेक्निकल सेन्टर सञ्चालन गर्न लागेको एन्फाका प्रोजेक्ट म्यानेजर गोकुल थापाले जानकारी दिए । टेक्निकल सेन्टरर्लाइ सुरक्षित बनाउन खोला किनारमा चेकड्यामसमेत निर्माण गरिने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै