पोखराका दुई पत्रकारको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

पोखराका दुई पत्रकारको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

PCR Test 1

अहिले कोरोना कोभिड–१९ को महामारी छ । विशेष गरी फ्रण्टलाइनमा ३ स अर्थात् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी छन् । सबैभन्दा बढी जोखिम यही वर्गलाई छ । लकडाउन यी पक्षलाई लागू हुँदैन । झनै बढी काम र मेहनत यो बेला गर्नुपरेको छ ।

पर्सामा ४ पत्रकारलाई कोरोना पोजिटिभ देखिएको हल्ला चल्यो । दुई जनाको पुष्टि भयो । उदयपुरमा समेत पत्रकार संक्रमित भएको समाचार आयो । त्यही कारण पत्रकार देखेर पनि समाज डराउने अवस्था आयो । देशभरका पत्रकारको पीसीआर टेस्टका माग गरिएका छन् ।

कास्कीका २ जना पत्रकारको शनिबार को ‘स्याम्पल टेष्ट’ गरिएको छ । दुवैको रिपोर्ट नेगेटिभ आएको छ । लकडाउनमा फिल्ड रिपोर्टिङमा खटिएका पोखरेली पत्रकारमध्ये प्रतिनिधिमूलक ढंगले शनिबार पत्रकार राम गुरुङ र रञ्जन अधिकारीको स्वाब संकलन गरी पीसीआर टेष्ट गरिएको हो।

मुटु रोगी राम गुरुङ फोटो पत्रकार हुन् भने पत्रकार अधिकारी कोरोना देखिएको गृह जिल्ला धादिङबाट १७ दिनअघि पोखरा फर्केका थिए । प्रतिनिधिमूलक हुने गरी टेष्ट गराउन पहल गरिएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ ।

महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी दुवै जना पत्रकारको रिपोर्ट नेगेटिभ आएकोले कास्की अहिलेसम्म सुरक्षित छ अर्थात् संक्रमण छैन भन्ने कुरा व्यवहारमै पुष्टि गरेको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो शुभारम्भमात्र हो । यसले वातावरण निर्माण गरिदिएको र यथाशीघ्र फिल्डमा सक्रिय सबै साथीहरुको पिसिआर टेस्ट गराउन महासंघ प्रतिबद्धता ब्यक्त गर्दछ ।’

महासंघ कास्कीको दबाबबीच पनि सीमित श्रोतसाधन, पूर्वाधार र प्रोटोकलका कारण एकैपटक सबैको परीक्षण गर्ने–गराउने अवस्था नरहेको परिस्थिति बुझेर धैर्य रहने अपेक्षा गर्दछौं भनिएको छ । राष्ट्रिय फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष समेत रहेका पत्रकार गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कोषाध्यक्ष हुन् । उनी पोखरा सिटी डटकमका संचालक हुन् ।

बिग एफएमका स्टेशन म्यानेजर अधिकारी पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी उपाध्यक्ष हुन् ।

पत्रकार महासंघ कास्कीमा ३ सय बढी पत्रकार आबद्ध छन् । गण्डकी प्रदेशमा हालसम्म ३ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केकोमा नवलपुरका १ पुरुषको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । नेपालमा २८१ जनामा संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै