पोखरामा बालिका बन्धक/करणी प्रकरणः राकेशकी श्रीमती- ‘लभ थियो, केटीले चिठी लेखेर भागेकी छ, बलात्कार हैन’

पोखरामा बालिका बन्धक/करणी प्रकरणः राकेशकी श्रीमती- ‘लभ थियो, केटीले चिठी लेखेर भागेकी छ, बलात्कार हैन’

arrest

पोखरामा आठ दिनसम्म एक होटलमा बालिका बन्धक बनाई करणी गर्दै आएको आरोपमा एक युवा बुधबार पक्राउ परे । तर, आरोपी राकेशकुमार कनोडियाकी श्रीमती सुनिता कनोडिया ले भने बालिकालाई अपहरण गरी पोखरा नलगिएको भन्दै प्रेम सम्बन्धमा रहेकाले राजीखुशीमा भागेको बताएकी छिन् । उनले भागेर जाने युवतीसँगै बस्दा कसरी जबर्जस्ती करणी भयो भन्दै मिडिया र प्रहरीसँग आक्रोश पनि व्यक्त गरिन् ।

यद्यपी, नेपालको कानुनअनुसार बालिका १४ वर्षकी भएकीले सहमतिमै भएपनि बलात्कार ठहर्छ । पोखरा–६ लेकसाइड स्थित डिहिकोपाटनको द कन्ट्री यार्ड होटलको एक कोठामा एक हप्तादेखि उनीहरु बस्दै आएका थिए । २८ वर्षीय कनोडियालाई कास्की प्रहरीले मंगलवार पक्राउ गरी बालिकालाई उनको आफन्तको जिम्मा लगाएका थिए । स्थानीय मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कुलका शिक्षक समेत रहेका कनोडियाले बालिकालाई अपहरणको शैलीमा उदयपुरदेखि पोखरा ल्याएर होटलमा राखी यौन शोषण गरेको आरोप लागेको थियो । बालिका कक्षा ९ मा अध्ययनरत छिन् । ती बालिकाले प्रयोग गर्ने मोबाइल पनि नियन्त्रणमा लिई अभिभावकलाई समेत सम्पर्क गर्न नदिई राखेको बयान बालिकाले प्रहरीसामु दिएको प्रहरीको भनाई छ ।

पोखरा आउनुअघि के भएको थियो ?

आरोपी शिक्षक राकेश कुमार कनोडिया उदयपुर चौदण्डी ७ नजिकै बेलटारी स्थित मेरीगोल्ड स्कुलमा वैशाखदेखि पढाउन थालेका हुन् । सोहि विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा (बि.के.) (पूरा नाम गोप्य राखिएको) सँग डेढ महिनादेखि प्रेम सम्बन्ध रहेको राकेशकी श्रीमती सुनिता कनोडियाको जिकिर छ ।

राकेश बेलटारीमा पढाउने भएकाले उतै बस्दै आएका थिए भने श्रीमती सुनिता रामपुर ठोकसिलामा छोराछोरीसँग बस्दै आएकी थिईन् । राकेश लामो बिदामा घर आउँथे नत्र उतै बस्थे । त्यसैले आफूलाई प्रेम सम्बन्धबारे पहिले पत्तो नभएको सुनिता बताउँछिन् । राकेशको स्त्री आशक्ति बाहेक अरु कुनै बानी पनि खराब नरहेको सुनिताको बुझाई छ । ९ वर्ष अघि प्रेम विवाह गरेका सुनिता र राकेशका ७ वर्षकी छोरी र ६ वर्षका छोरा पनि छन् । राजीखुशी भागेका दुई जना तर अपहरण गरी लगेर कोठामा थुनेर बलात्कार गरेको न्यूजहरु आउँदा भोलि छोराछोरीको भविष्यमा असर पुग्ने भन्दै सुनिताले मिडिया र प्रहरीसँग रोष प्रकट गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले कनोडियाले बालिका बन्धक बनाई होटलमा आठ दिनसम्म जबरजस्ती करणी गर्ने कार्यमा समेत संलग्न हुँदै आएको भन्दै पोखराका मिडियाहरुलाई सूचना प्रवाह गरेको थियो ।

‘राजीखुशीमा भागेका उनीहरु, अहिले बन्धक र बलात्कार भनिरहेका छन्’: सुनिता

सुनिताका अनुसार असार २७ गते शुक्रबार नै स्कुलममा रिजल्ट प्रकाशन हुने दिन भएकाले त्यसपछि विद्यालय छुट्टी थियो । तर पानी परेको भन्दै उनी फर्केनन् । सोमबार मध्यान्हतिर विद्यालयकै संस्थापक एवं प्रिन्सिपल सुनिल प्रधानले आधा बाटोसम्म घर जान भन्दै राकेशलाई छाडिदिएको सुनिता बताउँछिन् । तर, राकेश घर आएनन् । जब मंगलबार केटीका मामा र सुनिल प्रधान आफै राकेशसँग किशोरी हराएको भनेर घर आए, सुनिता छाँगाबाट खसेझैं भईन् । त्यसपछि, केटीका आफन्त मंगलबारसम्मै सुनिताको सम्पर्कमा थिए । राकेश पक्राउ परेपछि अहिले सुनिताको फोन समेत नउठाएको उनको गुनासो छ ।

”मलाई त केटीकै मामाले हिन्ट दिए पहिले, पछि पुलिसकै फोन आयो । जबकि, केटीले चिठी लेखेर छाडेर गएको मलाई थाहा हुन आएको छ । तर, मलाई चिठी देखाएनन् ।’ – सुनिताले भनिन् – ‘राजीखुशीमा भागेका उनीहरु, अहिले बन्धक र बलात्कार भनिरहेका छन् । मलाई अचम्म लागेको छ । मेरो बच्चाहरुमा के असर पर्छ ? होटलवालासँग पनि सोध्नुछ, ८ दिन त्यहाँ बस्दा किन सोधिएन ?’

सुनिताले आफू लामो समयदेखि बिरामी रहेकाले श्रीमानलाई बलात्कारको केस नलगाई पठाईदिन आग्रह गरेकी छिन् । उनले भनिन्- ‘म डिप्रेशनमा छु, मेरो माया गरेर बिहे गरेको श्रीमान् हो, उनीहरु भागेका हुन्, आउन दिनुस्, म बरु बाहिरै बस्छु, उनीहरु सँगै बसुन्, म केहि भन्दिन, म मेरो राकेश जेल परेको हेर्न सक्दिनँ । केटी आफै भाग्ने अनि बलात्कार भन्ने ? केटा एक्लै चाहेर केही हुन्छ ?’

राकेशलाई बीच बाटोमा छाड्ने र भोलिपल्ट घरमा जाने प्रिन्सिपल प्रधानलाई सम्पर्क गर्न खोज्दा दुई पटकसम्म फोन उठेन ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै