सेती खोँच जिन्दगी फाल्ने थलो !

सेती खोँच जिन्दगी फाल्ने थलो !

pharindra

बर्खाको समय । सेती नदिमा बहाव बढ्दो छ । पछिल्लो साता नदिमा वेवारिसे शव एकपछि अर्को देखा परिरहेका छन् । देखेभेटेसम्म प्रहरीले शव निकालेको छ । त्यसबाहेक प्रहरीले यसरी आत्महत्या गर्नेहरुको खोजीका लागि बढी समय खर्चनुपरेको छ । गत सातामात्रै तीन हप्ताको निरन्तर खोजीपछि पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलको शव तनहुँमा भेटिएको थियो ।

पोखरा सभागृह गेट नजिकै व्यवसाय गर्दै आएका फणिन्द्र ढुंगाना वेपत्ता भएका छन् । उनी वेपत्ता भएपछि प्रहरी फेरि सेती खोँचमै केन्द्रित भएको छ । इभा ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकीदेखि सम्पर्कविहीन भएका हुन् । कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ ।

स्कुटर लिएर निस्केका ढुंगाना त्यसपछि घर फर्केनन् । उनको आफन्तले रातभर खोजी कार्य गरेपनि अत्तोपत्तो लाग्न सकेन । पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि उनको को २३ प ५७६८ नम्बरको स्कुटर फेला परेको ढुंगानाको पसल नजिकैको स्थानीयले बताए । उनको स्कुटरमा एउटा चिठ्ठी समेत फेला परेको छ ।

यसैबीच, पोखराको चोर साँघुबाट हामफालेको आशंकामा नेपाल प्रहरी तथा सशस्त्र टोलीको रेस्क्यु टिमले खोजिकार्य शुरु गरेको छ । स्थानियका अनुसार चोर साँघु पुल नजिकै एक पुरुषले स्कुटर रोकेर पुलमा आएर चुरोट पिउँदै गरेको र पछि पुलबाट केही खसे जस्तो आवाज आएपछि त्यहाँ हेर्दा मान्छे देखिएन ।

कास्की प्रहरीले पनि घटनाको प्रारम्भिक अनुसन्धानलाई हेर्दा त्यहींबाट हाम्फालेको जस्तो देखिएको आशंका गरेको छ । पुल नजिकै स्कुटर भेटिनु, पुलमुनि रहेको घाँस मडारिनुका साथै भाँचिएको देखिनु र स्कुटर भित्र उनले लेखेको चिठ्ठी हेर्दा ढुंगाना नै हाम फालेको हुन सक्ने प्रहरीको आँकलन छ ।

बिहान १० बजेदेखि खोजीकार्यमा जुटेको प्रहरी र सशस्त्रको उद्धार टोलीले सो स्थानमा खोजी गर्दा फेला पार्न नसकेपछि ढुंगेसाँघु हुँदै दोबिल्लातर्फ अघि बढेको जनाएको छ । झन्डै डेढ सय मिटर गहिरो सेती खोंचमा जोखिमका बीच सशस्त्र टोलीका १ दर्जन रेस्क्यु टोलीले झन्डै साढे ३ घण्टासम्म प्रयास गर्दा केहि पत्तो लागेन ।

साहुहरुकै नाम किटेर सुसाइड नोट

ढुंगानाले मिटर ब्याजी साहुका कारण जिवन असहज भएको भन्दै साहुहरुकै नाम किटेर सुसाइड नोट छाडेका छन् । उनले पत्रमा सुरुमा श्रीमती अनिताका लागि, त्यसपछि ससुराली दाजुभाइका लागि र अन्तिममा आफूले यो कदम उठाउनुपरेको कारण खोतलेका छन् ।

उनले परिवारका लागि लेखेको सुसाइड नोटमा बाहिरी मानिसको व्यवसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन् । उनले मिटर ब्याजी साहुका कारण ज्यान फालेको स्पष्ट पनिपारेका छन् । आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरेको जिवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् ।

उनले लेखेका छन्ः ‘म आर्थिक समस्यामा परेको छु । माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता अझ धेरै साहुहरुसँग कारोबार गर्नाले । १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका थिए । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोहि कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई तीन गुण असुली गर्नेहरुले गर्दा नै समाजमा म जस्ता धेरैको जिवन असहज बन्दै गईरहेको छ ।’

मिटरब्याजीका कारण कोहि मालामाल भएको, कसैले धान्न नसकेर यसरी जीवन नै फाल्नुपर्ने जस्तो कदम उठाउन बाध्य भएको कुराहरु आइरहँदा यस घटनाले थप गम्भिर बनाएको छ । कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई हामीले सोध्यौंः ‘मिटर ब्याजी चलाउनेहरु विरुद्ध अब कसरी लाग्ने ?’ रानाले भने– ‘यो घटनाको अनुसन्धानसँगै हामी यस विषयलाई गम्भिरताका साथ लागिपर्दछौं ।’

श्रीमती, छोरी र एक महिने छोरो हेर्न ससुराली दाजुभाइलाई आग्रह

यसैबीच, पत्रको सुरुमै ढुंगानाले श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै दुई वाक्य लेखेका छन् । मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाकी जिवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेउ । मैले तिमीलाई कहिल्यै सुख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु । उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना, अलबिदा लेखेका छन् ।

साथै, दाइ सुदर्शन पोख्रेललाई हजुरलाई ठूलो जिम्मा लगाएको छु, बहिनी भाञ्जा भाञ्जीको आँखामा आँशु कहिल्यै पनि नखसाओस् भनेका छन् । सालो भाइहरु सागर र शुशिललाई दिदी र भाञ्जा भाञ्जीको कहिल्यै पनि साथ नछाडी, जस्तोसुकै परिस्थितिमा पनि दिदीको संरक्षण र हेरचाह गर्न भनेका छन् । हर व्यक्तिहरु कुटुम्ब एक हुँदैनन्, त्यसकारण सबै परिस्थितिमा साथ नछाड्नुहोला भनेका छन् ।

व्यवहार बिग्रेपछि देश छाड्न गरिएकाे नाटक ?

यद्यपी, ढुंगानासँग निकट केहीले भने एक महिनाकाे छाेराे छाडेर देहत्याग गर्नेमा शंका गरेका छन् । उनले स्कुटी डिलमा राखेर ढुंगा पल्टाएर त्यसपछि नेपाल छाडेर भारत पसेकाे हुनसक्ने पनि शंका गरिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै