काँग्रेस-माओवादी गठबन्धन टुट्यो, एमाले–माओवादी फेरि एक ठाउँमा

एमाले, माओवादी, रास्वपा र जसपाबीच तालमेल

काँग्रेस-माओवादी गठबन्धन टुट्यो, एमाले–माओवादी फेरि एक ठाउँमा

प्रचण्डले भने- आजैदेखि कम्युनिष्ट एकताका लागि पहल गरेका छौँ

Kp-oli-prachanda

कांग्रेस–माओवादीलगायत दल सम्मिलित सत्ता गठबन्धन पुनः भत्किएको छ । अब फेरि एमाले र माओवादी सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ट्विटरमा लेख्दै आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन्। एमाले, माओवादी, रास्वपा र जसपा मिलेर आज नै सानो आकारको चार दलको मन्त्रपरिषद् बनाइने भएको छ ।

हिजो राति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

माओवादीसँग निरन्तर संवादमा रहेका एक एमाले नेताले माओवादी कांग्रेससँग गठबन्धन तोडेर आफूहरूसँगै सहकार्य गरेर अघि बढ्न तयार भएको जानकारी दिए ।

‘प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सो दलका नेतासँग गएराति संवादमा बसेका थियौं । त्यसमा एमाले–माओवादी सरकारलगायतमा सहकार्य गरेर जाने सहमति भएको छ,’ ती नेताले भने ।

एमाले र माओवादीबीच गएराति भएको सहमतिअनुसार, अब प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा सहभागी हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन् । एमाले स्रोतका अनुसार एमालेसँको सहमतिअनुसार सत्ता गठबन्धनबाट अलग भएको जानकारी दिन प्रचण्डले देउवालाई भेट्न लागेका हुन् ।

सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमै प्रधानमन्त्री बनेका थिए । बीचमा यो गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गरेका उनी पुनः एमालेतिरै फर्किएका हुन् ।

प्रचण्डले भने- आजैदेखि कम्युनिष्ट एकताका लागि पहल गरेका छौँ

नेकपा एमालेसँगको नयाँ सत्ता गठबन्धनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजकै मितिदेखि कम्युनिष्ट एकताका लागि पहल गरेको प्रतिक्रिया दिएका छन् ।

तीव्र राजनीतिक घटनाक्रमका बीच प्रचण्डले सुखानी शहीद परिवारसँगको भेटमा भने, ‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’

यसअघि एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र सानो आकारको मन्त्रीमण्डलले शपथ लिने बताएका थिए ।

फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरूको स्मरणमा एक साता शहीद सप्ताह मनाइएको छ । त्यसै सन्दर्भमा प्रचण्डले सुखानी शहीदका परिवारसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती शहीद परिवारका सदस्यहरू विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै