पाेखरा न्यूरोडको डिभाइडरमा बिरुवा रोपण

पाेखरा न्यूरोडको डिभाइडरमा बिरुवा रोपण

biruwa-ropan-1

पोखराको सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरेका हुन् ।

स्मार्ट सडक बत्ती सहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण लोकप्रिय इक्सोरा प्रजातिको बिरुवा लगाइएको नगरप्रमुख आचार्यले बताए । उहाँका अनुसार डिभाइडर भरि ८ सय बिरुवाहरू लगाइने छन् । बिरुवाहरूको संरक्षण स्थानीयहरू समेत बताउनुभएका आचार्यले महानगरपालिकाले विशेष निगरानी गर्ने उल्लेख गरे ।

“विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन, प्रमुख आचार्यले भने, बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ, अव कसैलाई छुट दिइने छैन, त्यस कारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सवैमा अनुरोध गर्दछु ।” यसलाई परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको र यो राम्रो हुँदै गए अन्य स्थानहरूमा लगाइने उनले बताए ।

पोखरादेखि कोत्रेसम्मको पृथ्वी राजमार्गमा भने पोखराको पहिचानको रूपमा रहेको लालुपाते फुल रोपिने उनले बताए । पोखरालाई फुलैफुलको सहरका रूपमा विकास गर्नका लागि हरियाली प्रवर्द्धन सहित पुष्प रोपणको कार्यक्रमलाई अभियानमा रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगिसकेकाले यो महिना भित्र सञ्चालनमा आउने प्रमुख आचार्य बताए । अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ ।

घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्प विज्ञ वसन्त नर्सरीका सञ्चालक वसन्त बानियाँले बताए । उनका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्ने उनले बताए । यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा पनि हो । यो बिरुवा १५/१५ इन्चको फरकमा लगाउनु पर्ने बानियाँले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै