याे सरकार देशकाे लागि पनि टिक्नु हुँदैनः एमाले सचिव गाेकर्ण बिष्ट

याे सरकार देशकाे लागि पनि टिक्नु हुँदैनः एमाले सचिव गाेकर्ण बिष्ट

gokarna bista pkr

नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार लामो समय नटिक्ने र टिक्न पनि नहुने बताएका छन् । पार्टीकाे गण्डकी प्रदेश इन्चार्जकाे जिम्मेवारी सम्हालेपछि पहिलाे पटक पाेखरा आएका बिष्टले यहाँ प्रेस चौतारी नेपाल, गण्डकीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विचार नै नमिल्ने गठबन्धन टिकिरहे देशको प्रगति रोकिने टिप्पणी पनि गरे ।

पूर्वमन्त्रीसमेत रहेका विष्टले गठबन्धन सरकारलाई संगती नभएको दल मिलेर बनेकाे सरकारको संज्ञा दिए । उनले सरकारबाट जनताले धेरै अपेक्षा राख्नुलाई गोरु ब्याउँने र बेगाैती खाने प्रतिक्षासँग तुलना गरे ।

‘मक्किएको काठको वैशाखीमा टेकेर सरकार चलेको छ । नीति तथा कार्यक्रम, बजेट, कार्यशैली र जनताका बीचमा दिइरहेका सेवा हेर्न हो भने यो सरकार लामो समय चल्दैन’, उनले भने । वर्तमान सरकार जति लामो समय चल्छ त्यति नै देशको प्रगति रोकिने उनकाे जिकिर छ ।

७० वर्षे उमेरहद केहि समयका लागि निलम्बन

पार्टीमा पद र जिम्मेवारीका लागि ७० वर्षे उमेरहद पार्टीमा फर्किएका नेताहरूलाई लक्षित गरेर अस्थायी रूपमा हटाइएकाे उनले दाबी गरे । ‘मुकुन्द न्यौपानेलाई एकतामा समायोजन गर्ने प्रयोजनको लागि ७० वर्षको हद म्यादको व्यवस्था तत्कालको लागि निलम्बन गरेका छौं’, उनले भने ।

तर, याे आउँदो महाधिवेशनलाई नभएर अस्थायी प्रयोजनका लागि भएकाे उनकाे दाबी छ । विष्टले वामदेव गौतमजस्ता ‘पाका नेता’ पार्टीमा फर्किए त्यो राम्रो हुने बताए ।

०८४ मा बहुमत ल्याउने गरी पार्टी बनाउँछाैँ 

विष्टले एमालेलाई सुधारेर २०८४ सालको निर्वाचनमा संघ र प्रदेशमा बुहमत ल्याउनेसमेत दाबी गरे । जनताको आशालाई निराशामा बद्लिन नदिने उनको जिकिर छ ।

पार्टीभित्र भएका र अन्य समस्या समाधान गरेर आगामी निर्वाचनमा जाने विष्टले बताए ।

एमालेले पार्टी बनाउँछ, माेर्चाबारे साेचेकाे छैन

विष्टले नेकपा एमालेले मोर्चा बनाउनेबारे नसोचेको बताए । उनले भने, ‘जनमोर्चा, के मोर्चा, के मोर्चाजस्तो हुन सक्ला भनेर प्रश्न गर्नुभयो । त्यसमा मेरो कुनै प्रतिक्रिया छैन, तर आउँदो २०८४ को चुनावमा हेर्नुहोला कमजोरी सच्याएर जनताको बीचमा जान्छौं, जनताबाट हामी पाठ सिक्छौं अनि फेरि जनतामा जान्छौं ।’

पार्टीभित्र उन्नत प्रकारको लोकतान्त्रिक अभ्यास गर्दै राजनीतिलाई मर्यादित र सम्मानित बनाउने पक्षमा एमाले रहेको उनले बताए । नेपाली जनताको जीवनस्तर उकास्ने पार्टीको मुख्य उद्देश्य रहेको बताउँदै उनले युवावर्गलाई राजनीतिप्रति आकर्षण गर्ने लक्ष्य पार्टीको रहेको जनाए ।

नेपाली युवालाई नेपालमा नै अडिन सक्ने वातावरण सृजना गर्न एमाललेले युवा लक्षित विभिन्न कार्यक्रम ल्याउने नेता विष्टले बताए । आर्थिक अवस्था कमजोर भएका नागरिकको समृद्धिका लागि एमाले सधैँ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले युवाको हितका लागि नयाँ ढङ्गबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानविन गरेर कारबाहीको दायरमा ल्याउनुपर्नेमा उनको जोड छ ।  नेकपा एमालेको हालै सम्पन केन्द्रीय कमिटी र जिल्ला अध्यक्षको बैठकले नागरिकप्रति जिम्मेवार हुँदै नागरिकका मुद्दा सूक्ष्म रुपमा उठाएर हरेक क्षेत्रमा हुने भ्रष्टाचारको भण्डाफोर गर्ने नीति तय गरेको नेता विष्टको भनाइ थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले आफूहरूले गलत काममा संलग्नलाई कारबाही गरेको बताए ।  नेता विष्टले भने, “पार्टी अनुशासन विपरीत कोही आपराधिक क्रियाकलापमा लाग्छ भने त्यस्ता नेतालाई पार्टीले संरक्षण नगरी तुरुन्त निलम्बन गर्छ ।”

काठमाडौं र धरानका मेयरको नाम नलिई सचिव विष्टले राम्रो काम गर्दा राम्रै गरेकाे भन्नुपर्ने बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले यसका लागि सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै