पाेखराका चार पत्रकारलाई प्रेस युनियन कास्कीकाे पुरस्कार

पाेखराका चार पत्रकारलाई प्रेस युनियन कास्कीकाे पुरस्कार

Union honored

पोखरा। नेपाल प्रेस युनियन कास्कीले पोखराका चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । संस्थाको १० औं जिल्ला अधिवेशन अवसरमा आइतबार आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार विमला भण्डारी, रमेश पौडेल, रवीन्द्र बास्तोला र नवीन सिग्देललाई सम्मान गरे ।

सर्वाधिक ५१ हजार राशिको सुप्रेम शारदा पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलाई पुरस्कृत गरिएकाे छ । संविधानसभा सदस्य पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले २०७६ सालमा आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा युनियनले संचालन गर्ने गरी पुरस्कारको लागि ६ लाखको अक्षयकोष स्थापना गरेका थिए । युनियनले वितरण गर्ने पुरस्कारमध्ये सबैभन्दा ठूलो धनराशिको सो पुरस्कार प्राप्त गर्ने भण्डारी पहिलो हुन् ।

पुरस्कार छनोट समिति संयोजक पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष रवीन्द्र बास्तोला थिए । २ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न संचारमाध्यममा काम गरेकी छन् । विभिन्न संघसंस्थाबाट पुरस्कृत एवं सम्मानित उनी हालैमात्र जनसेवाश्री विभूषणबाट विभूषित भएकी थिइन् ।

नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत भए । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार वर्ष २०७७ का लागि पौडेल र वर्ष २०७९ का लागि बास्तोलालाई जनही ३३ हजार ३३३ रुपैयाँ सहित सम्मान गरिएको हो । गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पगेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य थिए ।

युनियनले १२ लाख अक्षयकोष स्थापना गरेर २०७२ सालदेखि हरेक २ वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ । प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष रहेका रमेश पौडेल हाल रेडियो बाराहीमा कार्यकारी निर्देशक, गोरखापत्र राष्ट्रिय दैनिक र नेपाल टेलिभिजनमा आबद्ध छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका रवीन्द्र बास्तोला पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् ।

यसैबीच, प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार नवीन सिग्देल पुरस्कृत भए । पूर्णप्रसाद बराल तथा माया देवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्र छ । तीन लाख रुपैयाँ अक्षयकोषबाट प्रत्येक दुई वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील युनियनमा आबद्ध पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । युनियन कास्कीका निवर्तमान अध्यक्ष सिग्देल गत महिनामात्रै नेपाल पत्रकार महासंघ कास्कीबाट पोखरा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै