अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत

Ojag 2079

पोखरा। अनलाइन पत्रकार संघ गण्डकी (ओजाग) को अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । बराल पाेखरा न्यूज डटकमका सम्पादक हुन् ।

संघको उपाध्यक्षमा सन्तोष बस्याल (संवाददाता, परिचय), सचिवमा प्रल्हादचन्द्र घिमिरे (सञ्चालक, समाचारपाटी), कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता (सञ्चालक, सबैथरी) चयन भए । संघको सदस्यहरुमा निरज बसौला (नीति प्रेस), ऋषिराम दाहाल (कास्की खबर), सञ्जय आचार्य (भरपाेखरी मिडिया), सुरेशराज अधिकारी (गण्डकी प्रेस), सरिता गुरुङ (प्रमुख खबर), प्रविण मगर (मयुर टाइम्स न्यूज), दीपकराज गिरी (सफल न्यूज), शेखर कोइराला (स्मार्ट अखबार), शिव न्यौपाने (हेरालाे खबर) र रोहित बस्नेत (टुरिजम् पाेखरा न्यूज) छन् ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई व्यवस्थित बनाउन अनलाइन सम्बन्धी साक्षरता कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय अनलाइनको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल नगरिएको बताउँदै कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकारात्मक प्रभाव पारेको उल्लेख गरे । अनलाइन मिडियाहरुलाई पनि नियमन गर्नुपर्ने आवश्यकतामाथि उनकाे जाेड छ ।

‘पत्रकार निश्पक्ष हुन आवश्यक छ । विज्ञापन उठाउन पत्रकार जाने होइन । पत्रकारिता क्षेत्रमा नै गुणस्तरियता भएन भने अन्य क्षेत्र स्वतः समस्यामा पर्छ ।’, उनले भने । पत्रकार हित बमोजिम नै आमसंचार विधेयक ल्याउन गण्डकी सरकार प्रतिबद्ध रहेको उनकाे भनाइ छ । अधिकारीले पछिल्लो समय सत्ताका लागि मात्र राजनीति गर्दा नागरिक समस्यामा परेको उल्लेख गरे । ‘सत्ताका लागि मात्र राजनीति केन्द्रित हुन थाल्यो । मेरा लागि सत्ता प्रमुख होइन । जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने तवरले हामी अगाडि बढ्न सके नै देशको विकास हुन्छ ।’ उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकाल लगायतका वक्ताहरुले प्रदेश सरकारले ल्याउन लागेको आमसंचार विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राखेका थिए । अन्य पत्रकारसँग सम्बद्ध संस्था जस्तै अनलाइन मिडियासँग सम्बद्ध संस्थालाई पनि राज्यकाे सहयोगको आवश्यकता रहेको उनीहरुको भनाइ थियो ।

अनलाइन पत्रकार संघको अधिवेशन सफल पार्न सल्लाहकार केशव पाठकको संयोजनमा सदस्यहरु माधव बराल र सागरराज तिमिल्सिना गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कमल सुबेदीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै