पोखरा सिनेप्लेक्सका पूर्व म्यानेजर गोविन्द रौनियार अनलाइन ठगीमा संलग्न,

पोखरा सिनेप्लेक्सका पूर्व म्यानेजर गोविन्द रौनियार अनलाइन ठगीमा संलग्न,

Govinda-Baiju-Rauniyar

पोखरा ट्रेड मल सञ्चालनसँगै त्यहाँ स्थित पोखरा सिने प्लेक्स हलको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका गोविन्द बैजु रौनियार काठमाण्डौमा प्रहरी फन्दामा परेका छन् । डेढ वर्ष अघि अनलाइनमार्फत ठगी गरेका पीडितसँग काठमाण्डौ स्थित विशाल बजारमा आइतबार जम्काभेट भएपछि तत्काल प्रहरीको नियन्त्रणमा परे ।

पोखरामा लामो समय काम गरेर छाडेका गोविन्द विरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा ठाडो उजुरी परेको थियो । रौनियार कास्की छिर्ने बित्तिकै पक्राउ पर्ने थिए । तर, पीडितले नै स्वयं ठग नियन्त्रणमा लिएपछि काठमाण्डौं प्रहरी परिसरका एसपी अशोक सिंहको सक्रियतामा तुरुन्त काठमाण्डौ प्रहरीले पक्रियो । त्यतिबेलासम्म पीडित युवा सहितको समूहले रौनियारलाई उम्कन दिएको थिएन । काठमाण्डौ प्रहरी परिसर पुगेर ठगी गरेको १ लाख १२ हजार ४ सय रुपैंया फिर्ता गर्न सहमत भए ।

रकम फिर्तासँगै पीडितले नै सहमति पत्रमा हस्ताक्षर गरिदिएपछि थप कारबाही प्रक्रिया अघि बढाउन नसकिएको एसपी सिंहले बताए । ‘अनलाइन मार्फत ठगी कार्यमा संलग्न भएको देखियो । उजुरी परेको जम्मा एक जना, उनैले सहमति गर्छौं भनेपछि छाड्यौं ।’ एसपी सिंहले भने– ‘अनलाइनमार्फत ठगी गरेका छन् । अरुका नाममा बैंकमा, भारतसम्म पैसा हाल्न लगाएको पुष्टि भयो । अन्य पीडित पनि छन् भने हामीकहाँ आउनुस्, तत्काल कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

डेढ वर्ष अघि ठगीः

घटना डेढ वर्ष अघिको हो । पोखरा नयाँबजारका समिर पौडेल भर्खरै बजारमा आएको नयाँ मोडलको आइफोन किन्ने सोचमा थिए । यसका लागि आफूले पैसा समेत जम्मा पारिसकेका थिए । अनि, २०७४ साउनमा उनले अलिबाबा डटकम भिजिट गर्न थाले । १२ सय डलरमा आइफोन अर्डर गरे । ह्वाट्सएपमा कुरा हुन थाल्यो । नम्बर पनि अमेरिकाकै भएर समिरले ठगिँदैछु भन्ने सुईंको समेत पाएनन् । सुरुमै आधा पेमेन्ट गर्न भनियो । नेपाली एजेन्टमार्फत काम हुने भनिएकाले भनिएबमोजिम नै पैसा हालिदिए । साउन ८ गते कृष्ण मोक्तानको नाममा मेगा बैंकमा ४१ हजार २ सय रुपैंया डिपोजिट गरिदिए ।

ह्वाट्सएपमा कुरा भईरहेको थियो । त्यसपछि, साउन १८ गते मेगा बैंकमै मोक्तानको खाता नंं. ०२६००५००१७००१ मा पुनः १५ हजार ४ सय जम्मा गरिदिए । साउन २४ गते मोक्तानकै नाममा १५ हजार ३ सय फेरि डिपोजिट गरे ।

तीन पटकमा कृष्ण मोक्तानको नाममा ७१ हजार ९ सय पठाईसकेका थिए । भदौ १९ गते गोविन्द बैजु रौनियारको नाममा सानिमा बैंकको खाता नं. ००६०००००००३०ए मा २० हजार ५ सय जम्मा गरिदिए ।

अन्तिम पटक इण्डिया एयरपोर्टमा सामान अड्कियो भनेर मोबाइल एप्बाट २० हजार पुनः पठाए । तर, सामान आएन । समिरले बल्ल ठगिएको थाहा पाए ।

उनले पटकपटक पैसा फिर्ता गरिदिन आग्रह गरे । तर, न पैसा आयो न त आइफोन नै । समिर आफू ठगिएको परिवारलाई समेत भन्न सकेनन् । भाइबर र म्यासेजमा रौनियारले प्रयोग गरिरहेको ९८४३२२२६६८ नम्बर सम्पर्कमै थियो ।

कास्कीमा पनि अशोक सिंह, काठमाण्डौमा पनि

भदौदेखि ४ महिना पर्खाईमै बित्यो । २०७४ पुस २ गते गण्डकन्यूजको सम्पर्कमा आए । पोखराको सिने प्लेक्सका म्यानेजर भएर काम गरिसकेका गोविन्दले आफ्नै नाममा पैसा हाल्न लगाउनु नै उनी प्रहरी फन्दामा पर्नुको मुख्य कारण बन्यो । मिडियाले समेत उनलाई चिन्थ्यो । त्यसैले तत्काल, कानुनी उपचारका लागि गण्डकन्यूजले सघायो ।

सोहि दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिएपछि प्रहरीले मेगा बैंक र सानिमा बैंकमा पत्राचार गरेर नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर र ३ महिनाको स्टेटमेन्ट उपलब्ध गराउन भन्यो । कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीले यसमा सहयोग गरे । बैंकले भोलिपल्ट सबै विवरण उपलब्ध गरायो । ३४ वर्षीय गोविन्द बैजु रौनियारको घर पर्सा जिल्ला, बीरगञ्ज १३ हो । उनी काठमाण्डौ र बीरगञ्ज बस्दै आएका छन् । कृष्ण मोक्तानको घर भने धनुषा जिल्ला लवटोली २ हो । (बैंकबाट प्राप्त विवरण समाचारको अन्तिममा हेर्नुहोस्)

एसपी अशोक सिंह सो समयमा कास्की प्रहरी प्रमुखका रुपमा कास्कीमै कार्यरत थिए । उनले तत्काल गोविन्दलाई फोन गर्दा आफ्नो खातामा २० हजार ५ सय आउँदा आफू आश्चर्यचकित भएको सुनाउँदै यसबारे थाहा नभएको बताए । ‘मलाई के थाहा ? मेरो खातामा कसले पैसा हालिदियो ? मलाई थाहा छैन ।’ यति सुनेपपछि एसपी सिंहको प्रेसर बढ्यो । उनले फोनमै नियन्त्रणमा लिएरै छाड्छु भनेर चेतावनी दिए ।

संयोग, अहिले वर्ष दिनपछि उनै एसपी सिंहले रौनियारलाई नियन्त्रणमा लिने मौका मिल्यो ।

बैंकबाट अर्को खुलासा

कास्की प्रहरीले बैंकसँग गोविन्द बैजु रौनियार र कृष्ण मोक्तानको विवरण उपलब्ध गराउनु भनेर पत्राचार गरेपछि सानिमा बैंकबाट अर्को खुलासा भयो । पहिल्यै क्षेत्रीय प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान समूहबाट समेत अनुसन्धान गर्नुपर्ने देखिएकाले विवरण माग भइसकेको रहेछ । बैंक तर्सियो । २०७३ भदौ १५ गते तत्कालिन क्षेत्रीय प्रहरी कार्यालयबाट तत्कालिन प्रहरी निरीक्षक कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेको पत्रको प्रतिलिपी समेत प्राप्त भयो । क्षेत्रीय प्रहरी कार्यालयले के अनुसन्धानका लागि भन्नेबारे चाहिँ खुलेको छैन ।

यसरी परे पक्राउ

रौनियारले पुसदेखि चैतसम्म अर्को हप्ता, १० दिनपछि दिन्छु भन्दै टार्दै गए । तर, उनले आफ्नो नाममा पठाएको २० हजार ५ सय मात्र दिन्छु भन्ने अडान छाडेनन् । उनले दिन्नँ पनि भनेनन्, पैसा अहिले छैन दिन्छु मात्र भन्दै टारिरहे । यद्यपी, उनले आफू ठग नभएको, अरुले नै आफ्नो खातामा पैसा हालिदिएर ठग्न खोजेको जिकिर गरिरहे । कास्की प्रहरीमा प्रमुख पनि फेरिए । ठाडो उजुरी भएकाले जिल्ला बाहिर भन्ने अवस्था पनि थिएन भन्ने कास्की प्रहरीबाट जवाफ आयो ।

गत आइतबार पीडित समिर सहितका साथीहरु काठमाण्डौ विशाल बजार छिरे । संयोगवश रौनियार पनि त्यहाँ भेटिए । त्यसपछि तत्काल तीन जनाको घेरामा परिहाले । समिरले ठगिएको पैसा माग्दा पनि उनले दिएनन् । आफूले पनि बैंकमा अरुबाटै रकम आएकाले प्रहरीमा उजुरी दिएको भन्न भ्याए । नजिकै प्रहरी बिटमा पु¥याइयो । त्यसपछि एसपी अशोक सिंहले काठमाण्डौ प्रहरी परिसर ताने ।

त्यसपछि मात्रै रौनियारको बिलौना सुरु भयो । उनले आफूले रकम फिर्ता गर्न तयार रहेको तर प्रहरीमा मुद्धा नचलाउन आग्रह गरे । परिवारको डरमा रहेका समिरले काठमाण्डौमा मुद्धा चलाउनुभन्दा रौनियारबाट पाउनुपर्ने १ लाख १२ हजार ४ सय लिएर छाडिदिन उचित ठाने । रौनियारकै आग्रहलाई स्विकार गर्दै सहमति गरे । प्रहरी पनि उजुरीकर्ताबाटै मुद्धा चलाउन तयार नभएपछि अगाडि बढेन । उनको नाममा ठगीको अरु मुद्धा नपरेको तर उजुरी परेमा कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै