पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेशमै पहिलोपल्ट केयूको इन्जिनियरिङ संकायअन्तर्गत बीआईटी कार्यक्रम पोखरा भित्र्याउँदै कलेजले विद्यार्थीका लागि अध्ययनसँगै रोजगारीलाई जोड्ने ‘सिक्दै कमाउँदै’ मोडल सार्वजनिक गरेको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालक तथा केयूका प्रतिनिधिले कार्यक्रमबारे विस्तृत जानकारी गराएका हुन् ।
पहिलो शैक्षिक सत्रका लागि केयूले निर्धारण गरेको ३० जनाको सीमित कोटाका लागि शनिबार र आइतबार सञ्चालित प्रवेश परीक्षामा करिब ३ सयजना विद्यार्थी सहभागी भएका छन् । भर्ना प्रक्रिया १८ साउनदेखि खुला भई आगामी ९ भदौदेखि नियमित कक्षाहरू सञ्चालन हुने जनाइएको छ । चार वर्षे यस पाठ्यक्रमको कुल शिक्षण शुल्क ९ लाख ६० हजार रुपैयाँ तोकिएको छ । भर्नाका लागि प्लस टू तहमा विज्ञान विषय पढेको र न्यूनतम जीपीए दुई ल्याएको विद्यार्थी योग्य हुनेछन् ।
अशोका कलेजका अध्यक्ष श्रीराम पाण्डेले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी उद्योग र व्यवहारसँग जोड्न आफ्नै व्यावसायिक घरानाको सञ्जाल प्रयोग गरिने बताए । कलेज सञ्चालक समूहको हाइड्रोपावर, खाद्यान्न, इन्जिनियरिङ तथा सूचना प्रविधिसम्बन्धी उद्योगहरू रहेकाले दोस्रो तथा तेस्रो वर्षदेखि नै विद्यार्थीलाई व्यावसायिक सफ्टवेयर निर्माण तथा परियोजनामा संलग्न गराइने उनले बताए । जसअन्तर्गत विद्यार्थीले अध्ययनकै क्रममा साझेदार उद्योगमा पारिश्रमिकसहित काम गर्न पाउनेछन् ।
यसैगरी नयाँ सफ्टवेयर तथा टेक–स्टार्टअपका लागि छुट्टै इन्क्युबेसन तथा स्टार्टअप सेल र मेन्टरसिपको व्यवस्था पनि गरिएको छ । ‘इन्जिनियरिङ अध्ययनपछि मैले पढाइ र व्यावहारिक कामबीच ठूलो खाडल अनुभव गरेँ । अशोका कलेजमा बिआईटी पढ्ने विद्यार्थीले अध्ययनकै क्रममा हाम्रा साझेदार प्रविधि कम्पनीहरूमा काम गरी अनुभव हासिल गर्नेछन्,’ उनले भने, ‘स्नातक भएर निस्कँदा उनीहरूसँग प्रतिष्ठित डिग्रीका साथै बजारमा बिक्ने व्यावहारिक कार्यअनुभव हुनेछ ।’
उनका अनुसार अशोका कलेजको स्थापना करिब दस वर्षअघि भएको हो । सुरुमा सिर्जना चोकमै आफ्नै भवनबाट कार्यक्रम सञ्चालन गर्ने योजना रहे पनि विश्वविद्यालयहरूमा आवेदन दिँदा सम्बन्धन प्राप्त नभएको उनले बताए । पछि केयूले बीआईटी कार्यक्रमका लागि अभिरुचिपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) माग गरेपछि कलेजले आवेदन दिई सम्बन्धन प्राप्त गरेको हो ।
‘पहिलो शैक्षिक सत्रमा तीस जना विद्यार्थी भर्ना हुनेछन्,’ उनले भने, ‘हामीले पोखरा महानगरपालिकाको कार्यालयपछाडि संगम मार्गमा भवन भाडामा लिएर हाल कार्यक्रम सञ्चालन गरेका छौं, तर दीर्घकालीन योजनाअनुसार सिर्जना चोकमै आफ्नै भवनमा विस्तृत रूपमा कार्यक्रम सञ्चालन गर्नेछौं ।’
पाण्डेका अनुसार सिर्जना चोकमा रहेको पुरानो पोखरा फुड्स बिस्कुट कारखानाको भवन भत्काएर हाल करिब ५० हजार वर्गफिट क्षेत्रफलको नयाँ भवन निर्माणाधीन छ ।
भवन आचारसंहिता तथा सुरक्षा मापदण्डका हिसाबले उक्त पुरानो संरचना हालको मापदण्डसँग नमिलेपछि यसलाई भत्काएर नयाँ भवन बनाउने निर्णय गरिएको उनले जनाए । नयाँ भवन महानगरबाट स्वीकृति लिएरै निर्माण भइरहेको र संरचनागत डिजाइनमा कुनै सम्झौता नगरिएको उनको भनाइ छ ।
केयूले तोकेअनुसार बीआईटी कार्यक्रममा एक इनटेकमा तीस जनाभन्दा बढी विद्यार्थी भर्ना गर्न नपाइने उनले जानकारी दिए । कार्यक्रमको कुल शुल्क केयूले नै तोकेअनुसार रहेको र सोही अनुसार शुल्क संरचना कायम राखिएको उनले स्पष्ट पारे । भर्ना हुने विद्यार्थीमध्ये १० प्रतिशत अर्थात् तीनजनाले क्षमता र आर्थिक अवस्थाका आधारमा छात्रवृत्ति पाउने व्यवस्था रहेको उनले बताए ।
पाठ्यक्रमअन्तर्गत विद्यार्थीले कृत्रिम बुद्धिमत्ता (एआई) तथा मेसिन लर्निङ, आधुनिक प्रोग्रामिङ र सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क तथा साइबर सुरक्षा, डाटाबेस सिस्टम र क्लाउड कम्प्युटिङजस्ता विषयमा दक्षता हासिल गर्नेछन् ।
काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख पंकज दवाडीका अनुसार बीआईटी कार्यक्रम १ सय २७ क्रेडिटको हो, जुन नतिजामुखी शिक्षा (आउटकम बेस्ड एजुकेसन) को सिद्धान्तमा आधारित रहेको छ । ‘विद्यार्थीले स्नातक उत्तीर्ण गरेपछि श्रम बजारमा सहज पहूँचका लागि निश्चित सीप विकास गर्नैपर्छ भन्ने मान्यताअनुरूप हामीले पाठ्यक्रम डिजाइन गरेका छौं,’ उनले भने । पोखरामा यो कार्यक्रम पहिलोपल्ट सञ्चालन भए पनि यसअघि यही पाठ्यक्रम विस्तार कार्यक्रमअन्तर्गत अन्यत्र सञ्चालनमा रहेकाले आफूहरूसँग अनुभव रहेको उनले जनाए ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहायक डिन श्यामसुन्दर खड्काका अनुसार विश्वविद्यालयले हरेक कार्यक्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति लिएको छ । ‘प्रवेशका लागि विज्ञान विषय पढेको विद्यार्थी नै आवश्यक पर्ने मापदण्ड हामीले तोकेका छौं र काठमाडौं विश्वविद्यालयका सबै कार्यक्रम त्यही मापदण्डभित्र रहन्छन्,’ उनले भने, ‘अशोका कलेजले तयार पारेको भौतिक पूर्वाधार र प्रतिबद्धता हेरेर नै हामीले सम्बन्धन दिएका हौं । विद्यार्थीको सुरक्षा, भवनको संरचनागत मजबूती र शैक्षिक मापदण्डमा कुनै कमजोरी हुन दिइने छैन ।’
विश्वविद्यालयले हाल ७ प्रदेशमा विस्तार गर्दै ९ ठाउँमा सम्बन्धन प्रदान गरिरहेको र गुणस्तर सुनिश्चितताको जिम्मेवारी विश्वविद्यालयले लिने उनको भनाइ छ । शिक्षण जनशक्तिका सन्दर्भमा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरेकालाई मात्र अध्यापनको जिम्मेवारी दिइने र ४० प्रतिशत पूर्णकालीन तथा ६० प्रतिशत ‘भिजिटिङ’ संकायको अनुपात कायम गरिने उनले स्पष्ट पारे ।
कलेजका अध्यक्ष पाण्डेका अनुसार कलेजका अधिकांश शिक्षक नियुक्ति प्रक्रियामा रहेका छन् र काठमाडौं विश्वविद्यालयकै मापदण्डअनुसार स्नातकोत्तर उत्तीर्ण गरेका जनशक्ति मात्र नियुक्त गरिनेछ । भविष्यमा अशोका कलेजले बीआईटी कार्यक्रमलाई सफल रूपमा सञ्चालन गरेपछि अन्य इन्जिनियरिङ तथा व्यवस्थापनका कार्यक्रमहरू पनि थप गर्दै लैजाने दीर्घकालीन योजना बनाएको छ ।
सम्बन्धित खबर
पोखरामै केयूको ‘बिआइटी’: अशोका कलेजमा ‘सिक्दै कमाउँदै’ अवसर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
पोखरामा मिसन युएसएको चौंथो शाखा विस्तार
२१ औँ असारे रोपाइँ महोत्सव लेखनाथमा हुने
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा