पोखरा । २०६२ फागुन १५ गतेको दिन अझै ताजै छ लीला गुरुङलाई । सदा झै चिप्लेढुंगाको सडकपेटीमा लहरै फलफूल फिजाँएर बसेकी थिईन् । दिउँसो साढे १ बजेतिर एउटा मोटरसाइकल आयो । ठ्याक्कै उनी पछाडि सडक छेउमा झोला छाडेर हिँडे । केहि छिनमै ड्याम्म पड्कियो । त्यसपछि केहि पत्तो छैन । एकैचोटी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बेडमा आफूलाई पाईन् । ट्याक्सीले ल्याएर हस्पिटलमा छाडेको पछि थाहा भयो ।
तत्कालिन सशस्त्र माओवादीले पोखराको व्यस्त बजार चिप्लेढुंगामा सुरक्षा फौजको गाडीलाई लक्षित गरी बम विस्फोटा गराएको थियो । तर, यसको शिकार उनी सहित ११ जना सर्वसाधारण भए । जहाँ दुई सुरक्षाकर्मी पनि घाईते हुन पुगे ।
इलाम चपेता गाविस २ घर भई पोखरा ४ मा बस्दै आएकी लीलासँगै तनहुँकी लक्ष्मी थापा, पोखरा ६ का कृष्णप्रसाद ढुंगाना गम्भिर घाईते भएका थिए । प्रेम राना, सीता कुँवर, कोपिला मैनाली, रुपक श्रेष्ठ, पोखरामा फलफुल व्यापार गर्दै आएका सिराहाका परशुराम खड्का, कुमार ताम्राकार, सागर गुरुङ, सोनाम छोङ्मेन र अबिजुल्ला मिया माओवादीको शिकार बने । घाईते हुनेहरु अधिकांश फुटपाथमा तरकारी व्यापार गरी बसेका र किनिरहेका ग्राहक थिए ।
सबैभन्दा बढी चोट लीला नै लाग्यो । तत्काल उनको हात काट्नुपर्ने सुझाव डाक्टरले दिए । तर उनले मानिनन्, पछि हात काट्नु परेन । तर अझै पनि बमको छर्राका कारण दुखाई खपिनसक्नु हुन्छ । ‘न सरकार, न त माओवादी । म कसैको परिनँ । मलाई औषधि उपचार खर्च पनि दिइएन । दुई महिना सम्म प्रहरी र प्रशासनकहाँ धाउँदा धाउँदा केहि सीप लागेन ।’ लीलाले दुःखेसो पोखिन् ।
पोखरामा ठूलो भाइसँग बस्दै आएकी लीलाले बिहे गरेकी छैनन् । १७ वर्षदेखि पोखरामा फुटपाथमै व्यापार गर्दै आएकी थिईन् । यस घटनासँगै उनी थला परिन् । ह्विलचेयरमा नै उनले ६ वर्ष ७ महिना कटाईन् । त्यसपछि पोखरा सस्तोबजारमा २०६९ सालमा फलफुल तरकारी पसल गरिन् ।
‘औषधि धान्नै मुस्किल पर्छ । सधैं खाईरहनुपर्छ । ह्विलचेयरमै बसेर सस्तोबजारमा २०६९ सालमा व्यापार सुरु गरेँ । सस्तो बजारमा पनि तीन चार लाख हिनामिना भयो । बस्न दिएनन् । अहिले पाँच महिना भो, हङकङबजारमा झरेको छु ।’ लीलाले भनिन् ।
राज्य र सशस्त्र माओवादीको द्वन्द्वको चेपुवामा परेका लीला जस्ता द्वन्द्वपीडितले अझै पनि राहत पाउन सकेका छैनन् । औषधि उपचार खर्च मात्र दिए पनि आफूहरुलाई राहत मिल्ने लीलाको भनाई छ । ‘राहत दिनुपर्छ । सामानहरु हरायो । सरकारले केहि दिएको छैन ।’ उनको गुनासो छ ।
नियमित जाँच गर्नुपर्ने भन्दै उनले डेढ महिना सुतेर बल्ल अलिअलि उठेर काम गर्न आएको बताईन् । गाउँघर सँगै रहेका पोखरामा शिक्षण गर्दै आएका डिल्लीराम कार्कीले सर्वसाधारण पीडितलाई राज्यले झनै पीडा दिएको बताउँछन् । ‘माओवादी घाईते भएका भए वा सेना प्रहरी घाईते भएका भए केहि भईसक्थ्यो । कोहिकसैको हुन नसकेका नेपाली नागरिकलाई सरकारले हेरेन ।’ कार्कीले भने ।
सात वर्षपछि २०६९ बैशाखमा रामजी बराल (जिवन) स्थानीय शान्ति समितिको अध्यक्ष रहँदा जिल्ला प्रहरी कार्यालयलाई सर्जमिन गरि पठाईदिने व्यहोराको पत्र पठाउनु बाहेक अहिलेसम्म कुनै समितिले केहि पनि गरेको छैन । पूर्वाञ्चाल सेवा समाजले ५ हजार सहयोग गर्नुबाहेक उनले आजसम्म एक पैसो पनि पाएकी छैनन् ।
सम्बन्धित खबर
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
रुकुममा ‘पोखरा प्रवर्द्धन अभियान टाेली’
कास्कीमा एकै दिन विभिन्न मुद्दाका २७ फरार प्रतिवादी पक्राउ, कुन मुद्धाका कति ?
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा