प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता: राष्ट्रपति पौडेल

शिष्टाचार भेट

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता: राष्ट्रपति पौडेल

सातै प्रदेश प्रमुखहरूसँग राष्ट्रपति पौडेलको शिष्टाचार भेट

pradesh-pramukh-and-president-6

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन्।

राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरूसँग शीतल निवासमा बुधबार भएको भेटघाटमा बोल्दै भने, ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ।’

प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनले बताए।

‘त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरूरी छ,’ उनले भने, ‘प्रदेशको संरचनाले मात्र यसको राजनीतिक महत्त्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरूरी छ, चरित्रको बदलाव मुख्य कुरा हो, राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौँ, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौं, साथसाथै अन्तर प्रदेश सहकार्य र समन्वयमा जोड दिऔं, एक आपसको सहकार्यले सबैलाई लाभ पुग्ने छ भन्ने मलाई लाग्छ।’

प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औँल्याए। मुख्य कुरा नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको भनाइ छ।

सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन नियममा रहेका अन्यौलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन हुन राष्ट्रपति समक्ष आग्रह गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै