पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखा कमिटिको नयाँ नेतृत्व चयनमा नेकपा (एमाले), कास्कीले हस्तक्षेप गरेको छ । प्रेस चौतारी नेपाल केन्द्रीय नेतृत्व नै नेकपा एमाले कास्कीका पदाधिकारी सामू निरीह बन्यो ।
एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीको निर्देशनमा जनसंगठन संयन्त्र प्रमुख एवं उपाध्यक्ष भेषराज बराल आफ्नो एसम्यान अध्यक्ष बनाउन बिहानदेखि रातिसम्मै खटिए । सचिव दर्शन लामा अध्यक्ष मण्डलमै थिए । एमाले कास्कीको राजनीतिमा आशालाग्दो मानिएका एमाले कास्कीको भावी नेतृत्व वा पोखराको मेयरका रुपमा हेरिएका लामा समेत विधि प्रक्रिया मिचेर अघि जाने पक्षपोषक बने । पार्टीको नीति भन्दै लोकतान्त्रिक प्रक्रिया निर्वाचन नगर्ने रणनीति अख्तियार गरे ।
सचिव रञ्जन अधिकारीको उम्मेदवारी दर्ता नै गरिएन । प्रेस चौतारी कास्कीको अध्यक्षमा सचिव अधिकारीसँगै कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, उपाध्यक्ष बालकुमारी पौडेल तारा, पूर्व निर्वाचन आयोग सदस्य एकराज गिरी र पूर्व गण्डकी सचिवालय सदस्य गौरव त्रिपाठी थिए ।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अनुपस्थितिमा डेढ वर्ष समय मोतिसागर अधिकारीले कार्यवाहक अध्यक्ष बनेर संगठन चलाए । यसबीचमा कुनै पनि कार्यक्रम हुन सकेनन् । २०७९ सालमा भएका स्थानीय तह चुनाव, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पत्रकार परिचालनको संयोजन सचिव रञ्जन अधिकारीले नै गरेका थिए । नेतृत्वमा रहेका मोतिसागरले समेत संगठनबाट पारिश्रमिक वापत पैसा लिएका थिए । कुनै रकम नलिएर संगठनमा खटिने सचिव रञ्जन मात्रै थिए । संस्थामा डेढ वर्ष नेतृत्व गरिसकेकाले मोतिसागरको कामको मुल्यांकन गरिनुपर्ने र आफूले अवसर पाउनुपर्ने रञ्जनले अडान लिइरहे ।
मोतिसागर अधिकारीले भने कार्यवाहक मात्र भएकाले काम गर्न नसकेको भन्दै पूर्ण अध्यक्ष भएर तीन वर्ष संगठन चलाउने जिकिर गरेका थिए । केन्द्रीय आयोगका सदस्य भइसकेका एकराज गिरी र गण्डकी सचिवालय सदस्य गौरव त्रिपाठी भने सचिव रञ्जन अधिकारीलाई रोक्नको लागि उठाइएको ‘डमी पात्र’ तत्काल प्रमाणित भयो ।
अध्यक्षमा रञ्जनसहित मोतिसागर, बालकुमारी, एकराज र गौरवले आकांक्षा गरेपछि केन्द्रीय सचिव एवं गण्डकी इञ्चार्ज सुष्मा पौडेलको अध्यक्षतामा बनाइएको अध्यक्ष मण्डलले पटक पटक सहमति जुटाउने भन्दै छलफल गरेको थियो । समितिमा एमाले कास्की सचिव दर्शन लामा, कास्की ईञ्चार्ज रुद्र श्रीष मगर, केन्द्रीय सदस्य सुमन ढुंगाना र गण्डकी महासचिव आश गुरुङ थिए ।
सहमतिमा नपुगेपछि मोतिसागर अधिकारी अध्यक्ष, एकराज गिरी उपाध्यक्ष र गौरव त्रिपाठी सचिव भन्दै तीन जना एकै कित्तामा उभिए । रञ्जनलाई एक्लै बनाएपछि अध्यक्ष मण्डलले ‘उनीहरू एकजुट भए, तिम्रै कारण सहमतिमा पुग्न सकिएन’ भन्दै रञ्जनलाई पछि हट्न निर्देशन दिए । यद्यपी, चौतारीका नेताहरू समेत काम गर्ने रञ्जन नै हो तर अध्यक्ष मोतिसागर नै बनाउनुपर्ने भो भन्दै हिँड्थे ।
एमाले कास्कीको योजना अनुरुप रञ्जनलाई एक्ल्याउनका लागि यो नाटक मञ्चन गरिएको थियो । किनकि केही समयअघि मात्र एकराज गिरी र मोतिसागर अधिकारीबीच अधिवेशन भएकै स्थलमा हात हालाहालको अवस्था सिर्जना भएको थियो । नेपाल पत्रकार महासंघ कास्कीको कोषाध्यक्षको टिकट राजाराम पौडेललाई दिइएपछि एकराज गिरी प्रेस चौतारी कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीसँग रुष्ट थिए । पत्रकार महासंघको चुनावको समयमा अश्लिल गालीगलौजका साथ हात छाड्नेसम्मको अवस्था सिर्जना भएपछि मोतिसागरले घटनास्थलबाटै कास्कीका सबैजसो नेताहरूलाई फोन गरी जानकारी गराएका थिए ।
यसरी सम्बन्ध बिग्रिएको केहि समयमै एकराजले मोतिसागर अध्यक्ष स्वीकारेर उपाध्यक्ष बस्छु भन्दै प्रस्ताव गर्नु आफैमा हाँस्यास्पद रहेको अध्यक्षका आकांक्षी रञ्जन अधिकारीले सोहि समयमा उनीहरू दुवै सामु बताएका थिए । आफूलाई एक्ल्याउने प्रपञ्च गर्दै नाटक मञ्चन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
गौरव त्रिपाठी; जसलाई रञ्जन अधिकारी स्वयंले पोखरामा भएको केन्द्रीय महाधिवेशनमा प्रतिनिधिका रुपमा नाम सिफारिस गरी पठाएका थिए । तर, गौरवले आठौं अधिवेशनमा आफूलाई सचिव नबनाई रञ्जन अधिकारीलाई बनाएको तुष पालिरहेको यो अधिवेशनमा प्रमाणित भएको छ । अघिल्लो अधिवेशनमा रञ्जन उपाध्यक्षमा रहन ईच्छुक थिए । तर, आवश्यकता भन्दै रञ्जनलाई अनिच्छा देखाएको पद सचिवमा रहन भनिएको थियो । केन्द्रीय निर्वाचन आयोग सदस्य भइसकेका एकराज उपाध्यक्ष बन्ने भन्नू, गण्डकी सचिवालय सदस्य गौरव सचिव बन्ने भन्नू रञ्जनलाई गलाउन मात्र थियो भन्ने कुरा उनीहरु सो पदमा नबसेबाटै प्रमाणित भएको रञ्जन बताउँछन् ।
रञ्जनको सबैभन्दा ठूलो असन्तुष्टि नै उनी प्रेस चौतारीकै नेतृत्व लिनका लागि पत्रकार महासंघका कुनै पनि पदमा दाबी पेश गरेनन् । खेलकुद पत्रकार मञ्चको अध्यक्ष बन्ने पालोमा रहँदा पनि अन्तिम अवस्थामा ‘खेलकुदको अध्यक्ष बन्ने भए चौतारीको अध्यक्ष हुँदैन, एकै जना दुई तिर अध्यक्ष हुँदैन’ भनेर अग्रज नेता रामकृष्ण ज्ञवाली र माधव बरालको सुझाव पछि रञ्जन खेलकुदबाट पछि हटेर एमबी आस्था मगरलाई अगाडि बढाएका थिए ।
रञ्जन खेलकुदको साधारण सदस्य, कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षको लाइनमा थिए । तर, महासंघमा जिताउन नसकेको हुनाले एकीकरण प्रक्रियाका साथीहरुलाई जसरी पनि जिताउनुपर्छ भनेर एमबीलाई अध्यक्ष बनाउन रञ्जन मरिमेटेर खटिएका थिए ।
सदस्यबाट सिधै अध्यक्षमा उम्मेदवारी दिएको, सदस्य हुँदा पनि ८० प्रतिशत बैठकमा उपस्थित नभएका कारण एमबी आस्थालाई अध्यक्षमा जिताउन फलामको चिउरा चपाए सरह थियो । उनी महासंघको सहज चुनावमा पनि हारेका थिए । भोट नहाल्ने भनेर बसेकालाई निकै जोडबलमा उपस्थित गराएर रञ्जनले जिताउन सघाएका थिए । तर, सबै छाडेर चौतारीको अध्यक्ष बन्न अघि बढेका रञ्जनको पक्षमा उभिने बेला एमबी आस्था भने अधिवेशन दिन माघ २२ मा दिनभर अनुपस्थित रहे । यसमा रञ्जनले असन्तुष्टि व्यक्त गरेको देखिन्थ्यो ।
उनकै चाहना बमोजिम अध्यक्ष मण्डलमा रहेका रुद्र श्रीष मगर र दर्शन लामा पक्षमा नबोली चुप रहिदिँदा र सुष्मा पौडेल विपक्षमा रहँदा रञ्जन निराश देखिएका थिए ।
उम्मेदवारी दर्ता समेत गर्न दिइएन
रञ्जन अधिकारीले उम्मेदवारी फाराम भरेर अध्यक्ष पदका लागि तोकिए बमोजिम तीन हजार बुझाउँदा पनि उम्मेदवारी दर्ता नै नगरिएको उनले गुनासो गरेका छन् । निर्वाचन आयोगका तर्फबाट प्रमाणित नै गरिएन । उक्त फाराम र पैसा रञ्जनले घरमै लगेर नेताहरूलाई फेसबुक म्यासेन्जर मार्फत् पठाइदिएका थिए । उनले पार्टी र संगठनका नेताहरू सबैलाई आजदेखि आफूले सबै चिनेको, जानेको, बुझेको भन्दै चुनौती समेत दिएका थिए ।
उम्मेदवारी दर्ता नै नगरी अध्यक्ष मण्डलका अध्यक्ष सुष्मा पौडेलले नाम घोषणा गरेकी थिइन् । एमाले कास्कीको नेतृत्व अन्तिम समयसम्म अध्यक्षमा मोतिसागर अधिकारी नाम घोषणा गर्न मात्र उद्धत बन्यो । सचिव दर्शन लामाले अनुप पौडेललाई सचिव बनाउन चाहे । तर, उनी बाहेक एमाले कास्की अनुपलाई जुनै हालतमा रोक्न लागिपरेको थियो । नेतृत्वको चाहना विपरित सचिव लामाले अनुपलाई जुनै हालतमा सचिव बनाउन चाहेपछि लामालाई आफ्नै समूहका शीर्ष नेताले हेर्ने नजर पनि बदलिएको चर्चा छ ।
सिंगो पार्टी र गुटरहित संगठन भनेर अघि बढेका रञ्जन अधिकारी कुनै गुटका हुन सकेनन् । अरु नेताहरुले आफ्ना पात्रहरू सेटल गर्दा अध्यक्ष मण्डलमा रञ्जन अधिकारीको पक्षमा बोलिदिने कोहि थिएनन् । यद्यपी, मतदानमा गएमा रञ्जन अधिकारीले जित्ने आँकलन सदस्यहरुरूले गरेका थिए । अध्यक्ष बनाइन लागेका मोतिसागर अधिकारीले अधिवेशन स्थलमै ‘म त मतदान भयो भने लड्दिनँ, मसँग कुनै सदस्यको नम्बर पनि छैन । रञ्जनले नयाँ सदस्यहरु थपेका छन्’ भन्दै हिँडेका थिए ।
पार्टी हस्तक्षेप भएको र उनीहरूले नै नाम पढ्ने थाहा भएपछि २४० बढी सदस्य रहेको प्रेस चौतारी कास्कीको अधिवेशनमा पदाधिकारी र सदस्य बन्न आकांक्षा राखेका र केही नेता गरी २५ जना भन्बादा बढी हलमा थिएनन् । अघिल्लो चुनावसम्म निकै रौनक रहने अधिवेशन यो पटक सुनसान रह्यो ।
सुष्मा पौडेलले नाम घोषणा गरिरहँदा दलित किन समेटिएन ? भन्दै गण्डकी प्रदेश सदस्य सुरेश सुनारले असहमति जनाएपछि तत्काल उनलाई सहसचिव बनाइयो । सुष्माले घोषणा गरिएका नामहरु प्रस्ताव मात्रै रहेको भन्दै गाइजात्रा देखाइन् । यसरी जगहँसाईं तरिकाले नयाँ नाम घोषणा गर्दा ताली बजाउने एक जना पनि भएनन् ।
र
रञ्जन अधिकारी अधिवेशन स्थल छाडेर निस्किए । केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, गण्डकी अध्यक्ष इन्द्र पौडेल कास्कीको उद्घाटनसत्रपछि बागलुङ गएका थिए । विधिप्रक्रिया सबै मिचेर पार्टीले बलजफ्ती नाम घोषणा गर्न लागेपछि रञ्जन अधिकारीले केन्द्रीय अध्यक्ष बस्नेतलाई ‘संगठन संगठनले चलाउने कि पार्टीले चलाउने ?’ भन्दै घोषणा रोक्न अनुरोध गरेका थिए । बस्नेतले पनि रञ्जनलाई ‘यसरी घाेषणा हुँदैन, आउँदैछु । हल छाडेर नजाउ ।’ भनेर फोनमा भनेका थिए । केन्द्रीय नेताहरु सबैले रञ्जन अधिकारी नै अब कास्कीको अध्यक्ष भनिरहेका थिए तर पार्टीले हस्तक्षेप गर्दा उनीहरु कोहि बोलेनन् । दोहोरो भूमिका खेलेको रञ्जनको बुझाई छ ।
केन्द्रीय अध्यक्ष आउनु अगावै एमाले कास्कीले नाम घोषणा गर्न दबाब दिन थालेपछि गण्डकी सचिव आश गुरुङले आधा घण्टा जति हस्ताक्षर गर्न आलटाल गरिरहेका थिए । सुष्मा पौडेलसहित सुमन ढुंगाना, दर्शन लामा भने चाँडै नाम घोषणा गर्न आतुर थिए । सुमन ढुंगाना जुनै हालतमा रञ्जन अधिकारी रोक्नुपर्छ भन्नेमा थिए । राति भएपछि स्टाटस र म्यासेन्जरमा लेख्ने उनलाई प्रेस चौतारी कास्की फेसबुक म्यासेन्जर ग्रुपबाट केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेको निर्देशनमा रिमुभ गरिदिएपछि ढुंगाना रञ्जनसँग चिढिएका थिए । एमाले कास्की उपाध्यक्ष भेषराज बराल बिहानैदेखि रातिसम्मै सँगै थिए । संस्थापक अध्यक्ष पुण्य पौडेल, पूर्व अध्यक्ष श्याम कुँवर, पूर्व केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्व पदाधिकारी ओम हमाल हलबाट चाँडै नाम घोषणा गर्न दबाब दिइरहेका थिए ।
र, रित्तो हलमा संयोजक सुष्मा पौडेलले नाम वाचन गरिन् । ताली बजाउने पनि कोहि थिएनन् । १७ जना समितिमा १२ जना मात्रै हलमा उपस्थित थिए । कास्कीको सबैभन्दा ठूलो संगठन प्रेस चौतारीको नयाँ नेतृत्व चयन माघ २२ मा यसरी भयो ।
असहमतिका बीच घोषणा गरिएको प्रेस चौतारी कास्कीको टीम यस्तो छः
प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट मोतिसागर अधिकारीलाई अध्यक्ष घोषणा गरियो ।
अन्य पदमा आफ्ना निकट पत्रकार नभएपछि बैनबहादुर, भेषराज र दर्शनहरू मौन रहे । आफू समर्थित पत्रकारहरु भएका भए यहाँ पनि नराम्ररी राजनीति गर्ने थिए । दर्शन लामाले अनुप बोक्नुबाहेक अरुमा मौन रहे ।
१७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा गिरिधारी पोखरेल, उपाध्यक्ष (महिला)मा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी, सहसचिव(समावेशी)मा सुरेश सुनार र कोषाध्यक्षमा सन्दीप खनाल सर्वसम्मत भए । सञ्जय थापा, सुजन पौडेल, रचित पौडेल, आशिष पुरी, बिनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सदस्य चयन भए । समितिका दुई सदस्य कार्यसमिति बैठकबाट पछि मनोनित गरिने भनियो ।
अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधिसमेत चयन गरिएको थियो । प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल (तारा), अर्जुन गाहा (सुशान्त), रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभाट चयन भए । केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल, प्रकाश अधिकारी र शान्ति गुरुङलाई चयन गरिएको थियो । उनीहरू अधिकांश हलमा थिएनन् ।
दुई जनालाई सम्मान र पुरस्कार
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई जनालाई सम्मान र पुरस्कृत गरिएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ । ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ ।
पौडेललाई नगद २२ हजार २ सय २२ सहित पुरस्कृत गरिएको हो । उनीहरूलाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, नेकपा (एमाले) कास्कीका नेतासहितले सम्मान–पत्र प्रदान गरेका थिए । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक रहेको प्रतिभा छनौट समितिले गुरूङलाई सम्मान र पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । स्याङ्जा सिरूबारीमा जन्मिएका उनी पोखरा–१५ का स्थायी बासिन्दा हुन् । गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए ।
हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् । बी.एलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसकेका छन् ।
पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुन् ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुन् । पौडेलले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार २०७२, सहारा क्लब पोखरा, फोटोग्राफर संघ पोखबाट सम्मान प्राप्त गरेका छन् । पोखरा ७ निवासी पौडेलले बिए अध्ययन र २ वर्षे सीएमए पनि गरेका छन् ।
प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित खबर
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नसर्ने रोग न्युनिकरणका लागि एक महिने परीक्षण अभियान सुरू
प्रेस चौतारी कास्कीको नेतृत्व चयनमा एमाले कास्कीको हस्तक्षेप, असहमतिका बीच मोतिसागर अध्यक्ष घोषणा
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !