मादीको घरदैलोमा स्थानीय सरकार

घरदैलो

मादीको घरदैलोमा स्थानीय सरकार

madi-khbara
Worldlink

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ ले नागरिकको घरदैलोमै पुगेर सेवा दिने नयाँ अभ्यास सुरु गरेको छ ।

भौगोलिक विकटताका कारण सामान्य कामका लागि पनि घन्टौं हिँड्नुपर्ने बाध्यता हटाउन वडाले ‘घुम्ती सेवा’ लाई प्रभावकारी बनाएको हो । वडाले प्रत्येक २ महिनामा पोखरा र खिलाङमा पुगेर नागरिकका समस्या सुन्ने र सिफारिस दिने काम गर्दै आएको छ । यसबाट विकट क्षेत्रका बासिन्दाले ठूलो राहत महसुस गरेका छन् ।

ज्येष्ठ नागरिकले भत्ता लिनका लागि बैंकसम्म धाउनुपर्ने सास्ती अब हटेको छ । वडाले बैंकसँग समन्वय गरी खिलाङ गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छ । यसबाट ६ सय ५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । वडाध्यक्ष देवीजंग गुरुङका अनुसार सिक्लेस स्वास्थ्य चौकीसँगको समन्वयमा ज्येष्ठ नागरिकका लागि नियमित भेटघाट र स्वास्थ्य परीक्षण पनि गरिँदै आएको छ । ‘एउटा सामान्य सिफारिसका लागि टाढासम्म धाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यसबाट सेवाग्राहीको समय र पैसा बचत हुनुका साथै सेवा प्रवाहमा सहजता आएको छ ।’ बालबालिकाको स्वास्थ्य र पोषणलाई ध्यान दिँदै वडाले हरेक वर्ष ‘स्वस्थ बच्चा प्रतियोगिता’ समेत गर्दै आएको छ ।

शिक्षा र प्रविधिको क्षेत्रमा पनि मादी १ ले लोभलाग्दो काम गरेको छ । आर्थिक अभावले कसैले पढाइ छोड्न नपरोस् भनेर कक्षा ११ र १२ मा पढ्ने दलित विद्यार्थीका लागि शतप्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ । हालसम्म ३० जनाभन्दा बढी विद्यार्थीले यो सुविधा लिएका छन् । वडाको सेवालाई आधुनिक र नागरिकमैत्री बनाउन ‘गुगल ड्राइभ’ को प्रयोग सुरु गरिएको छ । मोबाइलबाटै आवश्यक कागजात र सिफारिस उपलब्ध गराउँदा नागरिकले कार्यालय धाइरहनु पर्दैन । यसले सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाएको वडाध्यक्ष गुरुङले बताए ।

पर्यटन प्रवद्र्धनका लागि वडाले साहसिक पदमार्ग विकासमा जोड दिएको छ । सिक्लेसदेखि कपुचे र तसा–कोरी पदमार्ग विकासका लागि गाउँपालिका, महानगर, प्रदेश र संघीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गरिएको छ । यस्तै लोप भइसकेको ताराहिल टप पदमार्गलाई पुनरुत्थान गर्न समिति गठन गरी प्रक्रिया अघि बढाइएको उनले बताए । ‘यी पदमार्गले मादीको पर्यटनलाई विश्वमाझ चिनाउनेछन्,’ उनले भने । वडाले नागरिकको जीवनस्तर उकास्न र सेवालाई प्रभावकारी बनाउन प्रविधि र स्थानीय स्रोतको अधिकतम उपयोग गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता