लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिनु हुँदैन : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेश लोकसेवा आयोगको तेस्रो वार्षिकोत्सव:

लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिनु हुँदैन : प्रदेश प्रमुख भट्ट

'लोक सेवा आयोग राष्ट्र सेवकहरुको भरोसाको केन्द्र'

Gandaki Pradesh Pramukh @ Loksewa (2)

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै गण्डकी लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन् ।

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगले आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनभित्र रहेर आफ्ना गतिविधि प्रभावकारीरुपमा अगाडि बढाउन सुझाव दिए ।

“लोकसेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजका मितिसम्म पनि कायमै राख्न सफल भएकामा त्यसप्रति धन्यवाद व्यक्त गर्छु, अबका दिनमा पनि आयोग अझ बढी प्रभावकारीरुपमा अगाडि बढ्नुपर्छ”, प्रदेश प्रमुख भट्टले भने, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै आयोगले आफ्ना कामकारबाही द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए । नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशीनेक्रम अत्याधिक भएका कारण रिक्त पदको आयोगले छिटो परीक्षा सञ्चालन गरी उनीहरूलाई नेपालमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।

उनले नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटकपटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेको प्रतिचिन्ता व्यक्त गरे । यहाँका राजनीतिक दलले मुलुकलाई कसरी राजनीतिक स्थिरतातर्फ लैजान सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी भएको उनले बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लोकसेवा आयोगको निष्पक्षता, गोपनीयता र जनविश्वास मर्न दिन नहुने बताए । लोकसेवा आयोग देशको स्थायी सरकार भएकाले यसले आफ्नो गरिमालाई कायमै राख्दै अझ बढी प्रभावकारिता बढाउनुपर्नेमा उनले जोड दिए ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले आयोगले स्थापनाकालदेखि नै आफ्नो निष्पक्षता, स्वच्छता र योग्यतालाई कायमै राख्दै अगाडि बढेको प्रति खुसी व्यक्त गर्दै अबका दिनमा पनि आयोगले आफ्नो प्रभावकारिता र जनविश्वास कायमै राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, आयोगकी पूूर्व अध्यक्ष कयोदेवी यमी, गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, आयोगकी सदस्य कल्पना लम्साल लगायतले बोलेका थिए ।

लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगले गरेको आफ्ना कामकारबाहीका बारेमा प्रकाश पारिएको थियो । उक्त अवसरमा आयोगद्वारा आफ्नो तेस्रो वार्षिकोत्सवमा प्रकाशित स्मारिकाको विमोचनसमेत गरिएको थियो ।

उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट आयोगले अधिकृत छैटौं गोविन्द पौडेललाई नगद र सम्मानपत्रसहित प्रदेश प्रमुखबाट पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै