भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३

भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

भारत ६ विकेटले पराजित

Aus won cricket

भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ।

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। १० वर्षे उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएको भारतीय टोलीले करिब १ लाख ३० हजार दर्शकका अगाडि फितलो प्रदर्शन गरेको हो।

यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो। यस्तै, अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।  रोहित शर्माको अपराजित टोली भारतले आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भने अस्ट्रेलियाको अगाडि कमजोर योगफल खडा गरेको हो ।

यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा भने अस्ट्रेलियासँग पराजित हुँदा स्तब्ध बन्यो। विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा ब्याटिङ नचल्नु दूर्भाग्य बन्यो।

अस्ट्रेलियाले यो विश्वकपमा सुरुवाती दुई खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि सात खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको थियो। सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिका र फाइनलमा भारतलाई पराजित गर्दै समूह चरणको हारको बदला समेत लिन सफल भयो।

अष्ट्रेलियाली ब्याट्सम्यान चम्किँदा घरेलु मैदानमा भारत निकै दबाबमा देखियो ।  स्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो । ट्राभिसले विश्‍वकपको फाइनल खेलमा सतकीय पारी खेले । उनले १२० बलमा १३७ रन बनाए । यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।

विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो । भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न नसकेपछि अस्ट्रेलियाले मात्र २४१ रनको लक्ष्य प्राप्त गरेको थियो ।

भारतीय ब्याटिङ क्रम अस्ट्रेलियाको बलिङ अगाडि निरिह बनेसँगै अस्ट्रेलियाली टोलीले भारतमाथि खेलको सुरु देखि नै दबाब कायम गर्न सफल भएको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो ।

भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशकतक प्रहार गरे। केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सके।

विराट कोहलीले ५४ रन बनाए। अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए।

भारतले १० ओभरपछि ९७ बल खेलेपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो। दशौं ओभरपछि भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै