पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ बन्द

सहज सडक

पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ बन्द

पृथ्वीचोकदेखि चाइनापुलसम्म खाली

Prithvi chowk (1)

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकदेखि सेती पुल (चाइनापुल) सम्म सडक दायाँबायाँ छेउमा पार्किङ गर्न निषेध गरेको हो ।

यी क्षेत्रको सडकको दायाँबायाँ सवारी साधन पार्किङ रोक्ने निर्णय जिल्ला सुरक्षा समिति कास्कीले गरेको हो । यसै निर्णयलाई पोखरा महानगरले आजदेखि कार्यान्वयनमा ल्याएको हो । पृथ्वीचोकदेखि चाइनापुल क्षेत्रमा सडक पार्किङ बन्द गर्न आज बिहानैदेखि महानगर प्रतिनिधि, ट्राफिक प्रहरी लगायत खटिएका थिए ।

अहिलेसम्म अधिकांश सवारी साधन बसपार्क बाहिर सडकमै पार्किङ गर्ने गरिएको थियो । जसले गर्दा सवारीलाई मात्रै होइन, पैदल यात्रुलाई समेत बाटो हिँड्न असहज अवस्था थियो ।

बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । अबबाट बसपार्कमै सवारी पार्किङ गरेर यात्रु ओराल्ने र चढाउने गर्नुपर्ने पोखरा महानरपालिका यातायात व्यवस्थापन समिति सह–संयोजक अमृत तिमिल्सिनाले बताए । सडकबाट छुट्ने सवारीलाई बसपार्कबाटै छुटाउने उद्देश्य रहेको उनले जानकारी दिए ।

उनका अनुसार आज सवारीलाई सडकबाट खाली गराइएको हो । बसपार्क भित्र पस्ने बाटो स्तरोन्नति गर्ने, काउन्टर बनाउने काम सुरु भएको छ । आजै दिउँसो ३ बजे प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको वृहत छलफलसमेत राखिएको छ ।

क्यूमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिने र बाँकी सबैलाई सडकमा पार्किङ नगर्न सूचना जारी गरेको महानगरले जनाएको छ । पोखरा महानरपालिका यातायात व्यवस्थापन समिति सह–संयोजकसमेत रहेका वडा नं. १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना, पोखरा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बराल, पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बराल, १२ का अध्यक्ष सन्तोष बास्तोला लगायतको टोली सडकमै खटिएका थिए ।

पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो । तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै