सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु

फ्लाइट सेफ्टीका प्रमुख थिए सिनियर पाइलट गुरूङ

Manang Air Crash

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान सम्पर्कविहीन भयो। सोलुको सुर्के हेलिप्याडबाट उडेको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो।

हेलिकप्टर पाइलट चेतबहादुर (सीबी) गुरूङले उडाएका थिए। उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरे । अहिले सबै शव संकलन भइसकेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई र आफू हेलिकप्टरमार्फत दुर्घटनास्थल जान खोजे पनि मौसमको खराबीका कारण अवतरण हुन नसकेको उनले बताए ।

फ्लाइट सेफ्टीका प्रमुख थिए सिनियर पाइलट गुरूङ

हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे । उडानमा रमाउने पाइलट गुरूङ ५४ वर्षका थिए।

मनाङ हेलिकप्टर सन् १९९७ देखि सञ्चालनमा छ। पाइलट गुरूङले सोही सालदेखि नै विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेको कम्पनीका सञ्चालक पाण्डेले बताए।

मनाङ एयरको हेलिकप्टर उडाउनुअघि उनले रूस र अफगानिस्तानमा समेत हेलिकप्टर उडाएका थिए। जसकारण उनको अनुभव लामो र धेरै रहेको कम्पनीका सञ्चालक पाण्डे बताउँछन्।

सिनियर पाइलट  रहेका कारण पनि कुनै पनि गन्तव्यमा उडानका लागि गुरूङ रोकतोक थिएन मनाङ एयरमा गुरूङ फ्लाइट सेफ्टीका प्रमुख पनि थिए।

पाइलट गुरूङ लमजुङमा जन्मिएका हुन्। उनी केही वर्षयता ललितपुरस्थित भैंसेपाटीमा बस्दै आएका थिए। उनको परिवारका अरू सदस्य अहिले बेलायतमा छन्। सञ्चालक पाण्डेका अनुसार नेपालमा उनी एक्लै बस्दै आएका थिए।

हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको सूचीः

शव काठमाडौं लगिँदै, उद्धारमा कठिनाइ

दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं लैजान दुई वटा हेलिकप्टर परिचालन भएका छन्। उनीहरूको शव लैजान अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो। पाँच शव विदेशी नागरिकका भएकाले काठमाडौंमै पठाउने तयारी गरेकाे प्रहरीले जनाएकाे छ। पानी परिरहेकाले उद्धारमा कठिनाइ भएकाे छ ।

उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि लिखुपिके गाउँपालिका-५ मै अवतरण गराइएको छ । तस्बिर सौजन्य : क्याप्टेन विवेक खड्का

सुर्केबाट १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । मनाङ हेलिकप्टरका सञ्चालक मुक्ति पाण्डेका अनुसार चेतबहादुर गुरूङ सिनियर पाइलट हुन्। गुरूङले सोमबार(हिजो) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे पाँच जना मेक्सिकनलाई लुक्ला लगेर गएका थिए।

ती मेक्सिकन ‘माउन्टेन फ्लाइट’का लागि गएका थिए। हिजो उनीहरू लुक्लामै बसे। मंगलबार बिहान ६ बजे उनीहरू माउन्टेन फ्लाइटका लागि गए। माउन्टेन फ्लाइट सकेपछि उनी आज काठमाडौं फर्किन लागेका थिए। उनीहरूलाई लिन पाइलट गुरूङ नै गएका थिए। काठमाडौं फर्कने क्रममा सवा १० बजे हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै