बेगनासतालमा देहत्याग गरेका अनुपकाे सुसाइड नाेटः ‘सबै देखेँ, हेर्न र देख्न अब बाँकी छैन’

बेगनासतालमा देहत्याग गरेका अनुपकाे सुसाइड नाेटः ‘सबै देखेँ, हेर्न र देख्न अब बाँकी छैन’

anup

पोखरा । परराष्ट्र मन्त्रालयका नायब सुब्बा ३१ वर्षीय अनुप भण्डारी सोमबार पोखरामा मृत भेटिए । बिहान ८ बजे बेगनास तालमा डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको अवस्थामा उनको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थल पुगी शवलाई तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको थियो ।

आइतबार दिउँसो २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको अनुपले ‘सुसाइड नोट’ लेखेको भेटिएको छ । प्रहरीका अनुसार भण्डारी आइतबार दिउँसो १ बजे काठमाडौँबाट जहाज चढेर पोखरा आएका थिए ।

भण्डारीको शव तालको छेउको पानीमा घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जनाए ।

‘बेगनास तालको डुंगा घाटभन्दा ४/५ सय मिटर पर तालमा मृत भेटिए । झोला रहेछ, झोलामा मोबाइल र १०÷१२ हजार रुपैयाँ रहेछ । औषधि पनि रहेछ, चप्पल र छाता पनि,’ उनले भने ।

शव पोस्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । उनको परिवार मंगलबारमात्र पोखरा आइपुग्ने प्रहरीले जनाएको छ । भण्डारीको घर उदयपुर हो । तर उनको परिवार विराटनगरको राजवंशी चोकमा बस्दै आएको प्रहरीको भनाइ छ ।

भण्डारी परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत थिए । प्रहरीका अनुसार उनी आइतबार दिउँसो १ बजेको सौर्य एयरको उडानमा काठमाडौँबाट पोखरा आएका थिए ।

भण्डारी आफैँ तालमा फाल हानेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटना आइतबारकै भएको प्रहरीको भनाइ छ ।

सुसाइड नोटमा आफूले संसार सबै देखेको र अब हेर्न र देख्न बाँकी नरहेकाले आफूले देह त्याग गरेको उल्लेख रहेको प्रहरी स्रोतले जनायो ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै