अर्जुनले गरे ‘ककाकिकी’बाट पार्श्वगायनमा डेब्यु

मनोरञ्जन

अर्जुनले गरे ‘ककाकिकी’बाट पार्श्वगायनमा डेब्यु

पार्श्वगायनमा डेब्यु गर्दा उत्साहित छन् अर्जुन

arjun-sapkota-singer

चर्चित युवा लोकगायक अर्जुन सापकोटाले पार्श्वगायनमा डेब्यु गरेका छन्।

कमेडी दरबार टीमले बनाएको ‘ककाकिकी’ फिल्मको को शीर्ष गीत गाउँदै उनले फिल्मी गायनमा प्रवेश गरेका हुन्। चलचित्र ‘ककाकिकी’ आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

‘द भ्वाइस किड्स ५’का कोचसमेत रहेका अर्जुन पछिल्लो समय ‘झलिको’ गीतबाट थप चर्चामा छन् । उनकै संगीत तथा हुकलाइन रहेको गीतमा अर्जुन र मेलिना राईले स्वर दिएका छन्। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्।

फिल्मका निर्देशक बिक्की अग्रवालका अनुसार यसको भिडिओको छायांकनसमेत भइसकेको छ । कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत फिचर्ड छन्।

गीतमा गायक अर्जुनले पनि नृत्य गरेका छन्। उनीसँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काको समेत नृत्य रहेको निर्माण टिमले जनाएको छ। भिडिओको कोरियोग्राफी मिग्मा डी लेप्चाले गरेका हुन्।

पार्श्वगायनमा डेब्यु गर्दा आफू उत्साहित रहेको अर्जुनले बताए। उनले लोकदोहोरी र फिल्मका गीतबीच मूलतः भाव र दर्शकको सम्बन्ध एउटै हुने उल्लेख गर्दै ठूलो टिमसँग काम गर्नु नयाँ र रमाइलो अनुभव भएको सुनाए।

फिल्मको यतिबेला पोस्ट-प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। शीर्ष गीत केही दिनभित्रै सार्वजनिक गर्ने तयारी रहेको अग्रवालले बताए।

‘ककाकिकी’मा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरूङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारहरूको समेत अभिनय छ।

फिल्मको डीओपी सुदिप बराल हुन्। पटकथा निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेका छन् ।