आर्मीको ऐतिहासिक जीत, पहिलो पटक उपाधि उचाल्यो

आहा ! रारा पोखरा गोल्डकपः

आर्मीको ऐतिहासिक जीत, पहिलो पटक उपाधि उचाल्यो

थ्रीस्टार ३–० गोलले पराजित, आर्मीका बिमल पाण्डे सर्वोत्कृष्ट खेलाडी

Army-won-1

पोखरा । पाँच पटकको विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टीम त्रिभुवन आर्मी क्लबले २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । आर्मीले पहिलो पटक उपाधि उचाल्ने क्रममा थ्रीस्टारलाई ३–० ले पराजित गरेको हो ।

यसअघि ४ पटक फाइनलमा पुगेर पनि त्रिभुवन आर्मी उपाधिविहीन थियो भने थ्रीस्टारले ६ पटक सहभागी हुँदा ५ पटक उपाधि जितिसकेको छ । आर्मीले आफ्नो हारको श्रृंखला अन्त्य गर्दै १५ औं सहभागितामा पहिलो पटक उपाधि जितेको छ ।

आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

इन्जुरी समय ९४ औं मिनेटमा वसन्त जिम्बाले पुनः अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे । उनले अन्तिम समयमा गोलरक्षक अभिषेक बराललाई क्रस गर्दै बललाई गोलमा परिणत गरे ।

आहा रारा गोल्ड कपमा आर्मी र थ्रीस्टारबीच यसअघि २०७५ सालको फाइनलमा भेट भएको थियो । उक्त खेलमा आर्मीलाई ट्राइब्रकेरमा ५–४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यतिबेला निर्धारित खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५ मा प्रतियोगिताको फाइनलमा पुगेको थियो। तर चारैपटक उसले उपाधि जित्न सकेन। उपाधि भिडन्तमा पाँच वर्षपछि थ्री-स्टारसँग बदला लिएको हो ।  थ्री-स्टारले विसं २०६३, विसं २०६७, विसं २०६९, विसं २०७१ र विसं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ। प्रतियोगितामा हालसम्म सातपटक फाइनल पुगेको थ्री-स्टार विसं २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हारेको थियो।

यी दुवै टीमले प्रिक्वार्टरबाट खेल्दै फाइनलको यात्रा बनाएका हुन् । सिधै बाई पाएर क्वार्टर फाइनल खेल्ने टोली यसअघि नै बाहिरिएको हो ।

उत्कृष्ट खेलाडी

प्रतियोगिताकै सर्वोत्कृष्टः   विमल पाण्डे (आर्मी)
उत्कृष्ट फरवार्डः   जिलेस्पी जंग कार्की (आर्मी)
उत्कृष्ट मिडफिल्डरः   विवेक पौडेल थ्रीस्टार
उत्कष्ट डिफेण्डरः   बिमल पाण्डे (आर्मी)
उत्कृष्ट गोल रक्षकः   समित श्रेष्ठ (आर्मी)
उच्च गोलकर्ताः   दिनेश हेम्जन (३ गोल, आर्मी)
उत्कृष्ट प्रशिक्षकः   मेघराज केसी (आर्मी)
अनुशासित टोलीः   जावलाखेल युथ क्लब

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै