बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो

५० लाख लगानीमा जेठदेखि सञ्चालित

बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो

जलारी समुदायले विरोध गर्दै आएका थिए

Begnas motorboat

तस्वीरः सञ्जीव घिमिरे

बेगनासतालमा सञ्चालन हुँदै आएको मोटरबोटलाई पोखरा महानगरपालिकाले बन्द गरिदिएको छ । मोटरबोटको विरोधमा जलारी समुदाय उत्रँदै आएका थिए ।

महानगरले बेगनासताल डुंगा व्यवसायी समितिलाई पत्र लेखेर तत्कालै मोटरबोट बन्द गर्न निर्देशन दिएको हो । महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले मोटरबोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्‍याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको पत्रमा उल्लेख गरेका छन् । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको गुनासो पनि उल्लेख छ ।

जलारी समुदायले महानगरमै पुगी ध्यानाकर्षणपत्र पनि बुझाएको थियो । तालमा ध्वनि प्रदूषण भएको तथा बिना अनुमति मोटरबोट सञ्चालन गरेको गुनासो सहित तत्काल बन्द गरिदिन महानगरलाई पत्र बुझाएका थिए । सरोकारवालाले पनि पटक पटक गुनासो गरेकाले मोटरबोट तत्काल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको महानगरले जनाएको छ ।

पत्र अनुसार मोटरवोट सञ्चालन गर्दा अनुमति नलिएको भनि बेगनासताल मत्स्य व्यवसायी समिति र स्थानीयको पटक पटक गुनासो आएकाले बन्द गर्न निर्देशन दिइएको पत्रमा उल्लेख छ । महानगरको निर्देशनलाई अटेर गरेमा प्रचलित कानून बमोजिम कार्वाही गरिने चेतावनी दिइएको छ । पत्र प्रशासन महाशाखा प्रमुखका नाममा काटिएपनि छाप भने प्रमुख प्रशासकीय अधिकृतको छ ।

महानगरले मोटरवोट बन्द भए, नभएको अनुगमन गरी जानकारी गराउन वडा कार्यालय पोखरा ३१ लाई निर्देशनसमेत दिइएको छ ।बेगनासतालमा ६ महिना अघि जेठदेखि ५० लाख लागतमा मोटरबोट सञ्चालनमा आएको थियो ।

डुंगा व्यवसाय समितिका पूर्वअध्यक्षसमेत रहेका पोखरा महानगरपालिका– ३१ का वडाध्यक्ष ढकनाथ कँडेलद्वारा अधिकार क्षेत्रबाहिर गएर मोटरबोट सञ्चालनको अनुमति दिएका थिए ।

वडाध्यक्ष कँडेल, समितिका अध्यक्ष रविराज कँडेलसहित दुई सय ६५ जनाको लगानीमा कानुनी प्रक्रिया पूरा नगरी १३ जेठदेखि मोटरबोट सुरु गरिएको हो ।

रामसार सूचीमा रहेको बेगनास तालमा आफ्नै लगानीको मोटरबोट सञ्चालनका लागि ठाडो अनुमति दिएपछि उनले बलमिच्याइँ गरेको भन्दै बिरोध भएको थियो ।

त्यतिबेलैदेखि बेगनास तालमा मोटरबोट सञ्चालनका लागि अनुमति दिने अधिकार वडासँग नरहेको महानगरले बताउँदै आएपनि बन्द भने गरेको थिएन ।

रामसारमा सूचीकृत तालमा व्यावसायिक रूपमा डुंगा चलाउँदा के असर गर्छ र वातावरणीय असर न्यूनीकरणका उपाय के–के अवलम्बन गर्नुपर्छ भनेर वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत नगरी मोटरबोट चलाइएको थियो ।

बेगनासमा करीब २५० को हाराहारीमा डुङ्गा व्यवसायी छन्। अधिकांश परम्परागत काठका डुङ्गा चलाउँछन्। त्यसलाई बेवास्ता गर्दै आन्तरिक पर्यटकलाई आकर्षित गर्न भनेर तालको वातावरण नै प्रभावित पार्ने गरी मोटरबोट चलाउन थालेपछि उनीहरु पनि मर्कामा थिए ।

बेगनास डुङ्गा व्यवसायी समिति र लेखनाथमा रहेका व्यवसायीले संयुक्त रूपमा मोटरबोट ल्याएपछि बेगनासका स्थानीय, व्यवसाय गरिरहेका व्यक्ति, जलारी समुदाय यसको विरोध गरिरहेका थिए । मोटरबोट बेगनासको वातावरण कोलाहलको कारक बन्दै गएको उनीहरूको गुनासो थियो ।

एकपटकमा १० जना चढ्न मिल्ने मोटरबोटले १० मिनेटभन्दा कम समयमा बेगनास घुमाएर डुंगा घाटमा उतार्छ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै