बिन्ध्यवासिनी मन्दिरमा दैनिक ५५ हजार भेटी सङ्कलन, कोरोनापछि घट्यो

बिन्ध्यवासिनी मन्दिरमा दैनिक ५५ हजार भेटी सङ्कलन, कोरोनापछि घट्यो

मासिक २३ लाख खर्च

BindhyaBasini Temple

वरिपरी छेकबार लगाउनु अघिको बिन्ध्यवासिनी मन्दिर । जुन अत्यन्त आकर्षक थियो ।

पोखराको पर्यटकीय एवं धार्मिक तीर्थस्थल बिन्ध्यवासिनी मन्दिरमा दैनिक जसो ५५ हजार रुपैयाँ भेटी सङ्कलन हुने गरेको छ । कोभिड पछि  मन्दिरमा भेटी सङ्कलनमा निकै कमी आएको सञ्चालक समिति बताउँछ । दैनिक जसो करिब ५५ हजार रुपैयाँ सङ्कलन मात्र हुने गरेको बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।

कोभिड–१९ को प्रभाव भन्दा अघिसम्म मन्दिरमा दर्शनार्थीहरुको निकै भिडभाड हुने र दैनिक जसो एक लाख रुपैयाँ भेटिबाट सङ्कलन हुने गरेको उनले स्मरण गरे । समितिले हरेक दिन सङ्कलन भएको भेटीको भोलिपल्ट डिजिटल बोर्ड मार्फत सार्वजनिक गर्दै आएको सचिव श्रेष्ठले बताए । उक्त मन्दिरमा हाल १४ जना पूजारी सहित ६५ जना कर्मचारीहरू रहेको समितिले जनाएको छ ।

समितिको हाल कर्मचारीहरूलाई तलब व्यवस्थापन गर्नको लागि मात्र करिब १५ लाख र समितिले हालै सञ्चालनमा ल्याएको प्राकृतिक चिकित्सालय सञ्चालनमा हाल मासिक ८ लाख रुपैयाँ व्यवस्थापन गर्दै आएको सचिव श्रेष्ठले बताए । समितिले हाल मासिक २३ लाख खर्च हुने गरेको उनले बताए ।

कहिले काँही गोप्य तथा केही आर्थिक सहयोग जुट्ने गरेको बताउँदै सचिव श्रेष्ठले पछिल्लो समयमा अमेरिकाबाट आएको एक परिवारले ३ लाख रुपैयाँ सहयोग गरेको जनाए ।

२०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रुपमा अध्यापन कार्य सञ्चालित भएको छ भने अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत उपलब्ध गराइएको छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालन गरेको समितिले एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आएको छ । चार्ड पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनी मन्दिरमा २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको हो ।

बिन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० हुने

यसैबीच, यस वर्ष पनि बिन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा वडा दशैं पर्वको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरि शरण पौडेलबाट सङ्गीतमय झाँकी सहित कथा प्रस्तुत हुने भएको छ । महायज्ञ प्रत्येक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म विभिन्न विद्वानहरू विन्ध्यवासिनी पीठाधीस स्वामी निशेषानन्द जी महाराज, दार्शनिक वक्ता डा. भोलानारायण रेग्मी, दार्शनिक वक्ता जगन्नाथ रेग्मी, कृष्णानुरागी आचार्य पशुपति पौडेलहरूबाट कथा प्रवचन हुनेभएको छ । यस यज्ञमा कर्ताको रुपमा चन्द्ररमण पराजुली, उपवाचक चिन्तामणि पौडेल, गणेश सृजन जोशी रहनेछन् ।

नवदुर्गा अवधिभर बिहानभरि सङ्गीतमय झाँकी सहितको श्रीमद्देवी भागवत ज्ञानमहायज्ञ हुने समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले बताए । त्यसैगरी दिउँसोदेखि साँझसम्म नवदुर्गाको महिमा सम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुने भएको छ भने घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिने भएको छ ।

महोत्सवका लागि समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । विगतदेखि शक्तिस्थलका रुपमा पुजिँदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान गरिएको छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्रशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने समितिका सचिव श्रेष्ठको बुझाई छ ।

अहिलेको मन्दिर, छेकबारले मन्दिर नै ढाक्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै