पोखरामा अविरल पानी परिरह्यो, अस्फाल्ट पिच भइरह्यो [भिडियो]

गैरजिम्मेवार काम

पोखरामा अविरल पानी परिरह्यो, अस्फाल्ट पिच भइरह्यो [भिडियो]

बिग्रेको रहेछ भने उप्काएर फेरि पिच गर्छौँः सडक विभाग

Asfalt Paani

महानगर अन्तर्गत होइन, सडक विभागले गरेको होः पोखरा महानगर

पोखरामा यतिबेला महेन्द्रपुलदेखि पृथ्वीचोक सम्मको क्षेत्रमा अमेरिकी प्रविधि अस्फाल्ट विधि अनुसार सडक पिच भइरहेको छ । डेढ किलोमिटर सडक पिच गर्नका लागि पाँच करोडमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कम्पनी विवेक एण्ड कुवेर निर्माण सेवा हो । जसले १० दिनमा सक्छु भन्दै काम सुरु गरेको हो ।

गत सातादेखि सुरु भएको पिच वर्षाका कारण ३ दिन रोकियो । त्यसपछि पुनः कामले निरन्तरता पाएको छ । तर, शनिबार बेलुकी मुसलधारे वर्षाका बेला पनि सडक पिच भइरह्यो । पोखरा वडा नं. ९ स्थित नयाँबजारमा अस्फाल्ट पिच गरिएको हो । सडकमा खोला बगिरहँदा काम धमाधम भइरहेको दृश्य निकै असहज देखियो ।

पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले उक्त काम सडक विभाग अन्तर्गत भइरहेको बताए । ‘यो सडक क्षेत्र सडक विभाग अन्तर्गतको हो । तर, महानगरकै क्षेत्र भएकाले हाम्रो चासो स्वभाविक हुनुपर्छ । वडा अध्यक्ष पनि विदेश जानुभएकाले मैले नै यो बारे थाहा भएपछि सडक विभागसँग कुरा गरेँ । काम बन्द भैसक्यो भने । पानीमा पिच गर्न मिल्दैन ।’ – तिमिल्सिनाले गण्डकन्यूजसँग भने ।

संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले यो काम अघि बढाएको हो । सडक विभागका उच्च अधिकारीसँग सम्पर्क नभएपनि प्राविधिक सम्पर्कमा आए । उनले नाम नखुलाउने शर्तमा भने – ‘भिडियो पनि देखेँ । गाली खाइरहेका छौँ । प्रवक्ताले नै प्रतिक्रिया दिनुपर्ने हो, मैले होइन । त्यसैले नाम नखुलाउनुहोला । तर,  कुरा के हो भने काम हुँदाहुँदै पानी परिहाल्यो । गाडीमा आएका सामान खेर गैहाल्छ । त्यसैले सडकमै छरेर पेलेका हुन् ।’

उनले नयाँबजार क्षेत्रमा नाली नभएको र पानी जति सडकबाटै बग्ने भएकाले पनि खोलै बगेको स्विकारे । ति प्राविधिकले एक गाडी सामान खेर जाँदा डेढलाख देखि २ लाखसम्म नोक्सान हुने बताए । ‘अनि, सामान खेर जान्छ भनेर पानीको खोलो बगेको ठाउँमा रोलरले थिचेर हुन्छ त ?’ भन्ने प्रश्नमा ति ओभरसियरले भने – ‘सानो सानो सिमसिम पानी हुँदा यो पीचलाई फरक पर्थेन । तर, आजको चाहिँ ठूलै हो । काम बिग्रेको भए फेरि उप्काएर पिच गरिहाल्छौँ ।’

मुसलधारे पानी परिरहँदा पनि काम भइरहेको देखेपछि मिडियाकर्मी अर्जुन बास्तोलाले भिडियो खिच्न थाले । एक जना मास्क लगाएको पुरुष आएर नखिच्न भने । मिडियाकै हूँ भनेपछि उनी त्यहाँबाट भागिहाले । तीन-चार जना आएर घेरेको र मिडियाको हूँ भनेपछि काम रोक्न थालेको बास्तोलाले बताए ।

पिचमा गुणस्तर नभएको भन्दै यसअघि नै सामाजिक सञ्जालमार्फत अख्तियार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । दुईतर्फी पिच जोडिएको ठाउँ राम्ररी लेभल नमिलेको भन्दै बिरोध भइरहँदा झनै पानीको खोलो बगेको बेला पिच गर्दा गालीकै वर्षा भइरहेको छ ।

पोखराको २५ किमी बढी क्षेत्रमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइसकेको छ । पोखरा महानगरपालिका, प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय र संघ सरकार मातहतको सडक विभाग कार्यालयले आफू अन्तर्गतका सडकहरुमा काम गरेका छन् ।

जिरो किलोमिटरदेखि विन्ध्यवासिनी सम्मको सडक सबैभन्दा पहिले अस्फाल्ट प्रविधिबाट पिच भएको हो । २०७७ असोजबाट पोखराको न्यूरोड क्षेत्रमा अस्फाल्ट प्रविधिबाट पिच गरिएको थियो ।

२०७७ असोजमा पोखरा महानगरले पहिलोपटक अस्फाल्ट प्रविधिबाट न्यूरोडमा कालोपत्रे गर्ने क्रममा तत्कालिन मेयर मानबहादुर जिसी

खानेपानी पाइपका लागि मनलाग्दी खनेर, महानगरले नै बिजुलीको पोल र डिभाइडरका कारण ८–१० वर्ष खप्ने भनेको सडक तहसनहस भइसकेको छ । त्यसअघि ‘सर्फेस ड्रेसिङ’ विधि भन्दै न्यूरोड क्षेत्रमा गिट्टीमात्र छरेपछि पोखरा महानगर काम रोकेर अस्फाल्ट विधिमा पुगेको हो ।

महानगरपालिकाले मुस्ताङ चोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, बुद्धचोक, रानीपौवा, बन क्याम्पस र महेन्द्रगुफासम्मका सडकमा अस्फाल्ट पिच गरिसकेको छ । पर्स्याङ—सिद्धार्थचोक, चिप्लेढुंगा—महेन्द्रपुलसम्म, बगर, दीप, रानीपौवा र अमरसिंह चोकसम्मको सडक पनि महानगर अन्तर्गतकै रहेकाले अस्फाल्ट प्रविधिको हो ।

एलाइट कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएर काम गरेको थियो । खानेपानी आयोजनाका कारण पनि कतिपय ठाउँमा पिच काम नलाग्ने भइसकेको छ।

के हो अस्फाल्ट प्रविधि ?

अस्फाल्ट प्रविधिमा गिटी अलकत्रा पकाउने र बिच्छयाउनेसम्मको काम उच्चप्रविधिबाट हुन्छ । कम्तिमा ४ सेन्टिमिटर मोटाइको कालोपत्रे हुनैपर्छ ।

महंगो प्रविधि भए पनि बढी पानी परिरहने पोखरामा सडक बढी टिकाउ राख्न यो प्रविधि अपनाएको हो । यो अमेरिकी प्रविधि हो । महंगो भएकाले भारतमा पनि बल्ल अहिले बढी अस्फाल्ट सडक बनाउन थालिएको हो । अस्फाल्ट गरिएको सडक बढी टिकाउ मानिन्छ । यो प्रविधिबाट सडक बनाउँदा सतह मिलाउनुपर्छ । अस्फाल्ट प्रविधिबाट बनेको सडक ८ देखि १० वर्षसम्म टिक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै