मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

कारबाही

मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

चिकित्सकहरु सेवा नै ठप्प पारी आन्दोलित

Madan Ved

पोखराको मणिपाल शिक्षण अस्पतालमा मृतकका आफन्त सामू ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै अपशब्द बोलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । यस्तै, कमाण्ड सम्हाल्न नसकेको भन्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेदप्रकाश जोशीलाई सरुवा गरिएको छ ।

इन्स्पेक्टर श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) बुद्धिराज गुरुङले जानकारी दिए । डाक्टरहरुको भीडलाई लाठिचार्ज गरेर फर्किएपछि उनले अश्लिल शब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ, ढुटो पारेर रगतै रगत बनाएँ’ भनेको भिडियो भाइरल छ ।

विवादास्पद अभिव्यक्ति दिएपछि उनको चर्को विरोध पनि भइरहेको छ । उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय, गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।

कास्की जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठको निलम्बन सिफारिस गरेको हो । जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । प्रहरी निरीक्षकदेखि माथिका विभागीय कारबाहीका सम्पूर्ण अधिकार माथि नै रहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले गण्डकन्यूजलाई जानकारी दिए ।

छानबिन तथा अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पुष्टि गरेका छन् । निलम्बनको अवधि छ महिनाको हुन्छ । दोषी देखिए नियमानुसार विभागीय कारबाही हुन्छ । इन्स्पेक्टर श्रेष्ठ हालै कास्कीमा सरूवा भएर आएका हुन् ।

डीएसपी जोशीको सरुवा

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जोशीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको पत्र प्राप्त भएको जानकारी दिए ।

अब बैदामको नेतृत्व डीएसपी राजेन्द्र श्रेष्ठले सम्हाल्नेछन् । ‘डीएसपी जोशीको सरुवा भएको हो । प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डीएसपी राजेन्द्र श्रेष्ठसँग परस्पर सरुवा भएको हो ।’ एसपी थापाले भने ।

मणिपाल अस्पताल वडा प्रहरी कार्यालय बगरको कार्यक्षेत्र भित्र पर्ने भएपनि त्यसभन्दा माथिको पोष्टमा रहेका डिएसपी जोशीलाई थप मद्धतका लागि सुरक्षा नेतृत्वको जिम्मा दिइएको थियो । प्रहरीले डाक्टरहरुलाई कुट्नू र इन्सपेक्टरले मनलाग्दी अश्लिल बोल्दै डाक्टर कुटेको बताउनू नै प्रहरीको कमजोरी रह्यो ।

जोशी गत फागुनमा बैदाम प्रहरी प्रमुख आएका थिए । सामान्यतया कार्यअवधि १ वर्षको हुने गरेको छ । उनी आधा समय बाँकी रहँदै सरुवा भएका हुन् । जोशी जिल्ला तानिएको खबरहरु सार्वजनिक भएपनि उनी हेडक्वार्टर नै तानिएका हुन् । जोशी संगठनमा तुलनात्मक रुपमा नम्र प्रहरी अधिकारी मानिन्छन् । उनी गत वर्ष नेपाल प्रताप सुभूषण पदकबाट विभुषित पनि भएका थिए ।

सोमबार मणिपाल अस्पतालमा उपचाररत लमजुङकी ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भई डाक्टरमाथि कुटपिट भएको थियो । चिकित्सकहरु सेवा नै ठप्प पारी आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ

सम्बन्धित समाचारः

संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! [भिडियो]

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै