पोखराबाट लेखनाथ टुक्रयाउन हस्ताक्षर अभियान

अभियान

पोखराबाट लेखनाथ टुक्रयाउन हस्ताक्षर अभियान

प्रत्येक शनिबार विभिन्न चोकचोकमा हस्ताक्षर संकलन, लक्ष्य १ लाख

Lekhnath punarsthapana (1)

पोखरा। लेखनाथ नगरपालिका पुनर्स्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो ।

पोखरा महानगरपालिकाबाट छुट्टाएर साविकको लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै आफूहरुले अभियान सुरु गरेको एक अभियन्ता पत्रकार सन्दीप पौडेलले बताए ।

विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई सधैँ पछि पारेकोले आफूहरु साविकको लेखनाथ पुनस्र्थापनाको मागसहित अघि बढेको उनी बताउँछन् । पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटक पटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथवासीको गुनासो छ ।

लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका हुन् । लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानमा १ लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य छ । पहिलो दिन करिब ३ हजार हस्ताक्षर संकलन भएको अर्का अभियन्ता पत्रकार सुरेशराज अधिकारीले जानकारी दिए । हस्ताक्षर संकलन अभियान प्रत्येक शनिबार विभिन्न चोकचोकमा हुनेछ ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले पनि विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएकोमा महानगरमा गाभिएपछि पोखरा महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेको बताउँछन् । उनले महानगर भइसकेपछि जुनरुपमा विकास निर्माणको लागि योजना पर्नुपर्ने हो त्यसअनुसार पर्न नसकेकोले अभियान जाजय रहेको बताए । लेखनाथवासीले विगतका फोरमहरुमा पनि यसखालको माग राख्दै आएको उनले स्मरण गरे ।

विगतमा भरतपोखरी सिंगो गाविस थियो । वडा ३३ मा अन्तर्गत पर्ने भरतपोखरी पोखरा महानगरपालिकामा गाभिएको हो । यो वडा क्षेत्रफल हिसाबले पनि ठूलो छ । पोखराको न्युरोड र भरतपोखरी समान आँखाले हेरिनुपर्ने अभियन्ताको माग छ । साथै, लेखनाथ क्षेत्रको छिमेकी रुपा गाउँपालिकाले बर्सेनि ठूलो परिमाणको बजेट पेस गर्दा लेखनाथलाई पोखरा महानगरले ओझेल पारेकोले टुक्रिनुपर्ने लेखनाथवासीको माग छ ।

१८ वटा वडा रहेको लेखनाथ नगरपालिका पोखरा महानगरमा गाभिँदा हाल पोखराका ८ वटा वडा (वडा २६ देखि ३३) त्यसअन्तर्गत पर्दछन् । २०५८ सालमा स्थापना भएको लेखनाथ नगरपालिकाका पहिलो नगर प्रमुख शालिकराम पौडेल हुन् । देशकै सबैभन्दा ठूलो क्षेत्रफल रहेको पोखरा महानगर ४६४.२४ वर्ग किमीमा फैलिएको छ । यहाँ हाल ३३ वटा वडा छन् । लेखनाथ पोखरामा गाभिएर ‘पोखरा लेखनाथ महानगरपालिका’ बनेसँगै २७ फागुन, २०७३ मा ‘पोखरा महानगर’ घोषणा गरिएको थियो । साविकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरेतामागी (वडा ३,९), कास्कीकोट, माझठाना (वडा १,४,९), कालिका (वडा १,५) र पुनन्चौर गाविस समेटेर पोखरा महानगर बनेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ मा गाउँपालिका तथा नगरपालिकाको संख्या, सीमाना तथा केन्द्रसम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै