पोखरा महानगरपालिका वडा नं. १४, बाच्छेबुडुवामा अवस्थित ल्याण्डफिल साईट नजिकै टिनको टहरोले बनाइएको छ कान्जी हाउस, अर्थात्, छाडा चौपायालाई आश्रय दिएर राखिने स्थान । तर, पोखराको यो कान्जी हाउसमा पुग्दा लाग्छ; कुनै आश्रय स्थल होइन, चाैपाया भोकभोकै मारेर गिद्धलाई सिनाे खुवाउन बनाइएकाे स्थान ।
पोखरा महानगरपालिका कार्यालयले एक हप्ता अघि जेठ २६ गते एकैदिन ३७ वटा छाडा चौपायालाई पोखराको सडकबाट उठाएर कान्जी हाउसमा लगेर राखियो भनेर सगर्व प्रचार गरेको थियो । तर, ती चौपायासहित झण्डै डेढ सय गाईबहरको अवस्था हेर्दा कान्जी हाउस कुनै नर्कभन्दा कम देखिँदैन । त्यहाँ गएर हेर्ने हो भने ३ दिन अघि ३ वटा गाई मरेको अवस्थामा लडिरहेको थियो । सड्न लागेकाे गाईसमेत व्यवस्थापन भएको छैन । सबै भोकभोकै थिए । कम्पाउण्डमा हरियो भन्ने चीज छैन । तिर्खाउँदा पानी खानसमेत पाएको छैन । वर्षातकाे बेला छ, गोबरले हिलाम्मे छ ।
पोखरा महानगरपालिका हाँक्न धनराज आचार्य आएपछि छाडा चौपायामुक्त शहर बनाउने प्रतिबद्धता अनुरुप सडकका गाईगोरु व्यवस्थापन गर्ने काम सुरु त गरियो तर कान्जी हाउस लगेर छाडेका गाईको व्यवस्थापनमा थोरै ध्यान समेत उनले दिएनन् ।
यसअघि, महानगरका निरीक्षण महाशाखा प्रमुख नारायणप्रसाद शर्माले दैनिक रूपमा चौपाया खोज्ने र कान्जी हाउसमा लगेर राखिने जानकारी दिएका थिए । तर, सडकमा मात्र चौपाया खोज्ने काम भयो । कान्जी हाउसमा लगेर राखिएको गाई हेर्ने कोहि भएनन् ।
ल्याण्डफिल साइट आडैको ३५ रोपनी जमिनमा कान्जी हाउस बनेको छ । तर, त्यहाँ राखिएका चौपाया हेर्ने कर्मचारी देखिँदैनन् । ल्यान्डफिल साईडमै कार्यरत कर्मचारीहरुले चौपायाको निरीक्षण गर्ने गरी कान्जी हाउस सञ्चालनमा ल्याइएको थियो ।
अघिल्लो जनप्रतिनिधि चुनिँदा नै सडकका छाडा चौपाया व्यवस्थापन प्रमुख मुद्दा बनेको थियो । मानबहादुर जिसी मेयर निर्वाचित भएपछि १८ महिनापछि मात्रै बाच्छिबुडुवामा छाडा चौपाया व्यवस्थापन गर्ने तयारी गरेको थयो । अहिलेको कान्जी हाउस सोहि बेला पूराना टीन प्रयोग गरी टहरा निर्माण गरी बनाइएको हो ।
छाडा चौपाया व्यवस्थापनका लागि महानगरले १५, १७, २५ र ३१ नं. वडामा सम्भावित क्षेत्रमा अध्ययन गर्दा उपयुक्त स्थान नपाउँदा बाच्छिबुडुवामा पाँच लाख खर्चेर तारबार गर्ने काम गरेको थियो । चौपायालाई ट्यागिङ प्रणाली अन्तर्गत लगत राख्ने तयारी समेत सुरु भएको थियो । पृथ्वीचोक कृषि उपज बजारसँगैको दमकल हाउस भित्र मिनी कान्जी हाउसको पनि व्यवस्था गरिएको थियो ।
कास्कीका ग्रामिण भेगमा पालिएका गाई दुध दुहुन्जेल राख्ने र थारो भएपछि बजारतिर लखेटिँदा पोखरा महानगरमा छाडा चौपाया समस्या देखिदैँ आएको छ । यस्ता अधर्मी काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन नसकिएको अवस्था छ । सडकमा चौपाया छाड्ने समस्याको दीगो समाधान गर्न पनि महानगर असफल छ ।
सम्बन्धित खबर
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नसर्ने रोग न्युनिकरणका लागि एक महिने परीक्षण अभियान सुरू
प्रेस चौतारी कास्कीको नेतृत्व चयनमा एमाले कास्कीको हस्तक्षेप, असहमतिका बीच मोतिसागर अध्यक्ष घोषणा
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
स्याङ्जाबाट यस वर्ष १ अर्ब १२ करोडको सुन्तला बिक्री
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !